समाज

'सफाइ अभियान सचेतना फैलाउन सफल'

काठमाडौं- दुई सय साता अघिसम्म वागमती नदीमा जताततै फोहोरमैला तैरिन्थ्यो। किनारमा पनि उस्तै फोहोरको डुंगुर हुन्थ्यो। यस्ता फोहोर नदी वरपरका बासिन्दाले फ्याँक्थे। फोहोर वागमतीको दुर्गन्धले आजित भएपछि आसपासका स्थानीय वागमती सफाइ अभियानमा जुटे। ०७० जेठ ५ गते तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गरेर वागमती सफाइ जनस्तरबाटै थालिएको थियो। यो अभियानले शनिबार दुई साता पूरा गर्‍यो। नदीमा फोहोर फ्याँक्ने स्थानीय यतिबेला सफाइमा सक्रिय छन्।

सहरी विकास मन्त्रालय पूर्वसचिव तथा वागमती सरफाइका अभियन्ता किशोर थापाले सफाइ अभियानले जनतामा सचेतना फैलाउन सफल भएको बताए। 'अभियान अघिसम्म वागमतीमा कालो फोहोरको लेदो जम्थ्यो, पानी त देख्नै पाइँदैनथ्यो,' उनले भने, 'सर्वसाधारणबीच पनि वागमती फोहोर भएकामा आलोचना मात्रै गर्थे। अहिले भने जनता नै स्वस्फूर्त वागमती सफाइमा जुटेका छन्। यो नै ठूलो उपलब्धि हो।' सफाइलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ।

सुरुवाती चरणदेखि नै सफाइ अभियानमा जुटेका जोरपाटीका स्थानीय तथा 'राम्रो जोरपाटी तथा हाम्रो जोरपाटी' सामाजिक संस्थाका महासचिव रामकृष्ण बराल स्थानीयको सहभागिताले नै वागमती सफाइ अभियान अगाडि बढेको बताउँछन्।

'अभियानले नदीमा फोहोर फ्याँक्नु हुँदैन भन्ने सन्देश प्रवाह गरेको छ,' उनले भने, 'दुर्भाग्य, वागमती नदी अझैसम्म ढलमुक्त बन्न सकेको छैन। अभियानले सर्वसाधारणको बानी फेर्‍यो तर वागमती नदीको पानीको अवस्था भने अझै फेरिएको छैन।'

नदी आसपासको अवस्था भने केही सुधारोन्मुख देखिएको छ। स्वस्फूर्त सफाइमा खटिएका उमेश बोहरा भन्छन्, 'अचेल फोहोरमैला धेरै व्यवस्थापन भइरहेको छ। अब ढल व्यवस्थित गर्न आवश्यक छ। ढल व्यवस्थापन गरी पानीको बहाव नबढाएसम्म नदी सफा हुँदैन।'

वागमती सरसफाइमा स्थानीयको सहभागिता तुलनामा सरकारी पक्षको तयारी कमजोर हुँदा  प्रभावकारी हुन नसकेको उनले बताए। 'जुन रुपमा सर्वसाधारणको सहभागिता उत्साहजनक भयो, सोहीअनुसार सरकारले वागमती सरसफाइमा ध्यान दिन सकेन,' उनले भने, 'त्यसैले अपेक्षाकृत उपलब्धि हात पार्न सकेनौं।'

स्थानीयको सहभागिताकै कारण वागमती सफाइले केही सफलता पाएको देखिएको छ। राम्रो जोरपाटी हाम्रो जोरपाटी, पुडासैनीमैत्री समाज, रुद्रमति समाज, माकलवारी युवा समाजलगायत विभिन्न स्थानीयस्तरबाटै भएका विभिन्न संस्थाले वागमती सरसफाइमा उल्लेखनीय भूमिका निर्वाह गरे ।

पूर्वसचिव थापा पनि वागमतीको मुहानै सफा गर्नुपर्ने बताउँछन्। 'वागमतीको उद्गमस्थलमा अहिले अतिक्रमण हुँदै बस्ती बसेको छ। नदीबाट लुकीछिपी गिटी–बालुवा निकाल्ने कार्य बढिरहेको छ,' उनले भने, 'वागमती नदी ढलमुक्त साथै नियमित पानी बग्ने वातावरण बनाउनुपर्छ।'

अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति आयोजना प्रमुख राजेशप्रसाद सिंह सरकारी संयन्त्रले मात्रै वागमतीलाई स्वच्छ बनाउन नसकिने बताउँछन्।

'जनताको प्रत्यक्ष सहभागिताबिना वागमतीलाई स्वच्छ र हराभरा बनाउन सकिँदैन,' उनले भने, 'सबैले हातेमालो गरेर अघि बढे असम्भव केही छैन।' समितिले वागमतीलाई ढलमुक्त गराउन पाइपलाइन बिछ्याइरहेको जनाएको छ।

गोकर्ण ब्यारेजदेखि बल्खुसम्म करिब ८० प्रतिशत क्षेत्रमा ढल बिछ्याइएको समितिले जनायो। त्यस्तै गुहेश्वरीमा ढल प्रशोधन केन्द्रको अन्तिम चरणमा पुगेको छ। आयोजना प्रमुख सिंहले वागमती नदीको किनारामा लुकिछिपी सोझै ढल वागमतीमा मिसाउने कार्य अझै नरोकिएको बताए।

'वागमतीमा मात्रै ढल बिछ्याएर सफा हुँदैन,' उनले भने, 'वागमतीसँग जोडिएका सात नदीको सरसफाइ नगरेसम्म वागमतीलाई हराभरा बनाउन सकिँदैन।' समितिका अनुसार वागमती ढल व्यवस्थापनमा साढे चार अर्ब रुपैयाँ खर्च भइसकेको छ। समितिले असार मसान्तसम्म गोकर्ण ब्यारेजदेखि सुन्दरीघाटसम्म ढल व्यवस्थित निर्माण सम्पन्न गर्ने जनायो।

प्रकाशित: २९ फाल्गुन २०७३ ०३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App