समाज

आज छिटफुट वर्षा, शुक्रबार हावाहुरी

काठमाडौं– पश्चिमी वायुको प्रभावले काठमाण्डौ उपत्यकालगायत मध्य र पूर्वी नेपालमा आज (बिहीबार) मौसममा बदली भई छिटफुट वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार नेपालको सुदूरपश्चिमबाट पश्चिमी वायु प्रवेश गरेकाले पश्चिम क्षेत्रमा बुधबार सामान्य वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ।

बुधबार पश्चिमी क्षेत्रमा रहेको वायु बिहीबार दिउँसो मध्य क्षेत्रतिर सर्ने उनले बताए। ‘वायुका कारण उपत्यकासहित मध्य क्षेत्रमा अपरान्हतिर वर्षा हुन सक्छ,’ उनले भने, ‘वायुको प्रभाव शुक्रबार पश्चिम र मध्य क्षेत्रमा कम र पूर्वी क्षेत्रमा अलि बढी पर्नेछ।’ त्यसपछि पश्चिमी वायुको प्रभाव हट्ने मौसमविद्को अनुमान छ । पूर्वी नेपालमा भने वायुको कमै प्रभाव देखिनेछ। पश्चिमी वायुको प्रभाव विशेषगरी जाडो समयमा रहने गर्छ। यो अन्तिम–अन्तिम समयको पश्चिमी वायु प्रभाव भएको महाशाखाको अनुमान छ। 

उपत्यकालगायत मध्य क्षेत्रमा वायु प्रभाव टरेसँगै शुक्रबार हावाहुरी चल्ने अनुमान माहाशाखाको छ। ‘उपत्यकासहित आसपासका क्षेत्रमा हावाहुरी चल्न सक्छ,’ श्रेष्ठले भने, ‘हावाहुरी छोटो समय तर वेगले चल्न सक्छ।’ त्यसपछिको मौसम भने सफा रहने महाशाखाले जनाएको छ। 

 

प्रकाशित: २६ फाल्गुन २०७३ ०७:०५ बिहीबार

छिटफुट वर्षा शुक्रबार हावाहुरी