समाज

युवती हत्या अनुसन्धानमा मानवअधिकार आयोग

खोटाङ– तीन साता बित्दा समेत खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीया रीता तामाङको हत्यामा संलग्न दोषीलाई प्रहरीले पत्ता लगाउन नसकेपछि मानवअधिकार आयोगको टोली अनुसन्धानमा लागेको छ। माघ २६ गते छिमेकी गाविस सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा तामाङको शव भेटिएको थियो।

उनको हत्यामा संलग्न दोषी प्रहरीले पत्ता लगाउन नसकेको भन्दै अन्तरपार्टी महिला सञ्जालले ध्यानाकर्षण गराएको केही दिनपछि राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय दिक्तेलले अनुसन्धान सुरु गरेको हो।

सदरमुकाम दिक्तेलबाट शनिबार घटनास्थल प्रस्थान गरेका आयोगका प्रतिनिधि अम्बिका घिमिरे र लोकनाथ घिमिरेले आइतबार अनुसन्धान सुरु गरेका हुन्। दुईतीन दिन घटनास्थलमा बसेर अनुसन्धान गर्ने आयोगका प्रतिनिधि लोकनाथले बताए। ‘लामो समयसम्म प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन भन्ने गुनासो आइरहेको छ,’ घिमिरेले भने, ‘हामी आफ्नै तरिकाले यसको अनुसन्धान गर्छौं।’

किशोरीको हत्यामा संलग्न दोषी पत्ता लगाउन माग गर्दै लिच्कीराम्चेका महिलाले मौन जुलुस निकालेको केही दिनपछि सञ्जालले फागुन १७ गते आयोगको ध्यानाकर्षण गराएको थियो।

घटनास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ।

सिम्पानी बजारका व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी तामाङ घर नआएपछि खोजी गर्ने क्रममा बाटोभन्दा करिब ४० मिटर तल भीरमा मिल्काइएको अवस्थामा मृत भेटिएकी थिइन्।

तामाङको हत्या भएको तीन साता बित्दा समेत दोषी पत्ता लगाउन नसक्नु दुःखद भएको सञ्जालकी अध्यक्ष राईले बताइन्। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नवीनकिशोर प्रधान आफैं टोली लिएर घटनास्थल पुगेका थिए।

तामाङसँग बारम्बार फोन सम्पर्कमा रहेका, भेटघाट गरिरहने र फोनबाट धम्क्याउने गरेको सूचनाका आधारमा शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भए पनि दोषी पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ फाल्गुन २०७३ ०२:५९ सोमबार

युवती हत्या अनुसन्धानमा मानवअधिकार आयोग