समाज

मध्यपहाडी लोकमार्गको काम गुणस्तरीय गर्न ठेकेदारलाई निर्देशन

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले मध्यहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवा भञ्ज्याङ सडक कालोपत्रेका काम गुणस्तरिय रुपमा गर्न ठेकेदारलाई निर्देशन दिएका छन् । मध्यपहाडी लोकमार्ग कालोपत्रेका काम ढिलो र कम गुणस्तरको भइरहेको गुनासो आइरहेकोबेलामा प्रशासनले स्थलगत निरिक्षण गर्दै ठेकेदारलाई गुणस्तरयुक्त काम गर्न निर्देशन दिएको हो । सडक बिभाग, सुरक्षा निकाय सहित दिक्तेल–चखेवा भञ्ज्याङ ४६ किलोमिटर सडक कालोपत्रेका काम अनुगमनमा गएका प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले ठेकेदारलाई काम चाँडो र गुणस्तरिय गर्न निर्देशन दिएका हुन् । 

जिल्लाको सडक र पुल निर्माणको अवस्थाका बिषयमा छलफल गर्न केही समयअघि जिल्ला प्रशासन कार्यालयले माघ १८ गते आयोजना गरेको बैठकले दिक्तेल–हलेसी, जयराम–हलेसी र दिक्तेल–चखेवाभञ्ज्याङ सडक कालोपत्रेका काम गुणस्तरहिन भइरहेको भन्दै अनुगमन गर्ने निर्णय गरेको थियो । भौतिक संरचना निर्माणकाक्रममा भएका त्रुटी सच्याउनकालागि अनुगमन सुरु गरिएको प्रशासनले जनाएको छ । 

आर्थिक वर्ष २०७१÷०७२ मा टेण्डर भएपछि २०७५ सालभित्र कालोपत्रेका काम पूरा गर्नेगरी ठेकेदार कम्पनी गोल्डेन ग्रुपले दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको काम गरिरहेको छ । सो सडक खण्डको कालोपत्रेका बिभिन्न चरणको काम पाँच खण्डमा बिभाजन गरेर भइरहेको छ । सडक कालोपत्रे गर्नुअघि हाल सडक कटिङ, नाली राख्ने, रिटर्नी वाल हाल्ने, ब्रेष्ट वाल राख्ने लगायतका काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ । सडकका अधिकांश पर्खाल, नाली र डिलमा बनाइएका पिल्लरलाई कोट्याउँदा सहजै कोटिने, चोइटिने र धुलो झर्ने गरेपछि कामको गुणस्तरको बिषयमा स्थानीयले नै प्रश्न उठाउन थालेको हो । 

कालोपत्रेकाक्रममा रहेको दिक्तेल–हलेसी, जयराम–हलेसी र दिक्तेल–चखेवाभञ्ज्याङ सडक सडकको पर्खाल र ढल निर्माणकाक्रममा सिमेन्ट, बालुवा र गिटीको मात्रा नमिलाएको, कमसल गिटी प्रयोग गरिएको, मसला बनाउन फोहोर र धमिलो पानी उपयोग गरिएको स्थानीयको गुनासो छ । कामको जिम्मा लिएका मूख्य ठेकेदारले बढि नाफा कमाउने उद्धेश्यले काम गर्दा र बिभिन्न पेटी ठेकेदारलाई कामको जिम्मा दिँदा कालोपत्रेका काम गुणस्तरहिन भएको खम्बुवान राष्ट्रिय मोर्चाका जिल्ला अध्यक्ष तुलसी तिलुङ खम्बूले दाबी गरे । कतिसम्म भने कालोपत्रे गर्नुअघि सव–बेस (ग्राभेल) काक्रममा सडकमा कमसल गिटी ओछ्याइएका कारण गाडीको पांग्राले किच्दा फुटेर धुलो उँड्ने गरेको छ ।

सिमेन्ट र बालुवाबाट बनाइएका पर्खाललाई क्यूरिङ नगर्दा (नियमित पानीले नभिजाउँदा) सडकको संरचना कमजोर बनेको स्थानीयको भनाई छ । अधिकतम २८ दिन र न्यूनतम १४ दिनसम्म दैनिक ३ पटक क्यूरिङ गर्नुपर्नेमा त्यसै छाड्ने गरिएको पाइएको पुर्व सांसद कुलप्रसाद फुयाँलले बताए । 
आगामी मार्चमा म्याद सकिने हलेसी–बिजुले १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा सुर्य कन्ट्रक्सन, बिजुले–हुर्लुङ–दिक्तेल २३.४ किलोमिटर सडक कालोपत्रेका काम लामा नागार्जुन त्रिसुलीले गरिरहेको छ । यस्तै, जयराम–हलेसी १८ किलोमिटरको काम रौता कन्ट्रक्सन र सुर्य कन्ट्रक्सनको जिम्मामा छ । 

प्रकाशित: २१ फाल्गुन २०७३ १२:३६ शनिबार

मध्यपहाडी लोकमार्गको काम गुणस्तरीय गर्न ठेकेदारलाई निर्देशन