समाज

विकासे अजेन्डा पूरा गर्न सांसद गौतम अनशनमा

दुई कार्यकाल लागतार चुनाव जित्नेमध्येमा पर्छन्, बर्दिया क्षेत्र नं १ का सांसद सञ्जय गौतम। एमाले र माओवादीको गठबन्धन हुँदा तत्कालीन एमालेका शीर्ष नेता वामदेव गौतमलाई हराएर चुनाव जितेका सञ्जयको आफू दुई कार्यकाल सांसदको जिम्मेवारी रहँदासमेत विकासको अनुभूति जिल्लावासीले गर्न नपाएको गुुनासो छ।

गौतमको चुनावी अजेन्डामा मुख्य गरी तीनवटा विकासे काम प्राथामिकतामा पर्दर्थे, भत्किएको जब्दी घाटको पुल निर्माण, गुलरिया मूर्तिहा नाका खोल्ने र तेलपानी सुर्खेत सडकखन्डमा सडक निर्माण पूर्णता। २००९ अक्टोबरमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल भारत सम्झौता भएको गुलरिया–मूर्तिहा नाका खुल्न सकेको छैन। पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल भत्किँदासमेत पुनर्निर्माण हुन सकेन र तेलपानी सडक पनि अलपत्र अवस्थामा छ।  

सिँचाइमन्त्रीसमेत भइसकेका सांसद गौतमले राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइ आयोजनाले पूर्णता पाउन नसक्दा जिल्ला विकासको हिसाबले पछि परेको छ।  

गौतमले आफ्नै पार्टी सरकार रहँदासमेत सिन्को भाच्न नसकेको अनुभूति गरेपछि संर्घषमा उत्रिएर सरकारलाई दबाब दिन आमरण अनशन सुरु गरेका छन्। गौतमको आमरण अनसनको साथसाथै प्रदेश सांसद भुवनेश्वर थारू, गुलरिया नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादव, बारबर्दियाकामा नगर प्रमुख छविलाल थारूले रिले अनशन पनि सुरु भएको छ।  

गुलरिया वडानं २ का एमालेको तर्फबाट जनप्रतिनिधि टंक पौडेलले अनशन स्वागत योग्य भएको भन्दै समर्थन जनाए। ७ वर्षअघि भत्किएको पुलको पुनःनिर्माण नहुँदा जब्दी घाटको पुलमुनि गौतमको आमरण अनशन चलिरहेको छ। शनिबारदेखि गौतमले अनसन सुरु गरेका थिए। १५ बुँदे मागसहित अनसन बसेका हुन्। ‘हाम्रो बर्दिया बचाऔं, समुन्नत बर्दिया बनाऔं,’ भन्ने अनशनको मूल नारा छ। जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएर सांसद गौतम बबई नदीको जब्दीघाटस्थित भासिएको पुलमुनि अनशन सुरु गरेका हुन्।

बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिकाजोड्ने जब्दीघाटको पुल २०७४ सालमा भत्किएको थियो। भत्किएर जीर्ण अवस्थामा रहेको पुलबाट सर्वसाधारणले जोखिमपूर्ण आवागमन गरिरहेका छन्। तर गत वर्ष बबई नदीमा आएको बाढीले पुलको स्पाम भत्काउँदा आवतजावत ठप्प भएको छ। बर्खामा पुलको स्पामले बाढी छेक्दा गुलरिया र बारबर्दिया नगरपालिका बाढी पस्नसक्ने जोखिम बढेको छ।  

पुल निर्माणको विषयमा सदनमा पटकपटक कुरा उठाउदा सरकारको बेवास्ता गरेको सांसद सञ्जय कुमार गौतमले बताए। ‘भत्किएको जब्दीघाटको पुलले बाधको काम गरेको छ,’ सांसद गौतमले भने, ‘यसले गर्दा सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका बाढीको उच्च जोखिममा छ।’ आउँदो बर्खामा हजारौं जनता डुबानमा पर्ने उनले बताए। बबई सिँचाइ आयोजना पनि अलपत्र परेको छ। बजेट अभावमा तटबन्धका काम अलपत्र परेका छन्। जिल्लाको समस्याको बारेमा सरकारको ध्यानाकर्षण गराउँदा सरकार गम्भिर नहुँदा अनशन बस्न बाध्य भएको सांसद गौतमले दाबी गरे। 

प्रकाशित: २ जेष्ठ २०८० ०२:५९ मंगलबार

विकासे अजेन्डा पूरा गर्न सांसद गौतम अनशनमा