समाज

पोलिक्लिनिकमा आगालागी, ६ लाखका औषधि नष्ट

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको खाडिचौरस्थित एक पोलिक्लिनिकमा बुधबार दिउँसो आगालागी हुँदा झण्डै ६ लाख रुपैयाँ बराबरका औषधि जलेका छन्। 

स्थानीय वेलकम हेल्थ पोलिक्लिनिकमा दिउँसो १ बजेतिर आगालागी भएको सशस्त्र प्रहरी बल खाडिचौर गुल्मका इन्स्पेक्टर हरिकृष्ण खड्काले बताए। उनका अनुसार पोलिक्लिनिकको स्टोरमा चलाइएको जेनेरेटर सर्ट हुँदा आगालागी भएको थियो । बिजुली बत्तीको लाइन गएपछि बिकल्पमा जेनेरेटर चलाइएको थियो। 

स्टोरमा रहेका सबै औषधि जलेर तथा आगो नियन्त्रण गर्न छ्यापिएको पानीले भिजेर काम नलाग्ने भएको प्रहरी निरीक्षक खड्काले बताए। पोलिक्लिनिकका सञ्चालिका देवकी गौतम हुन्। 

केही दिनअघि मात्र ल्याइएका औषधी जल्दा ६ लाख रुपैयाँ नोक्सानी भएको सञ्चालिका गौतमले सुरक्षाकर्मीलाई जानकारी गराएकी छन्। सुरक्षाकर्मी र स्थानीयले समयमै आगो नियन्त्रणमा लिएकाले थप क्षति हुन नपाएको प्रहरी निरीक्षक खड्काले बताए। 
 

प्रकाशित: ११ फाल्गुन २०७३ १०:५५ बुधबार

पोलिक्लिनिकमा आगालागी लाखका औषधि नष्ट