समाज

'चाहेजस्तो उपलब्धि अझै भएको छैन'

गोरखा- तत्कालीन माओवादीले 'जनयुद्ध' को नाममा सुरु गरेको सशस्त्र द्वन्द्वको २२ वर्ष पूरा हुँदा समेत अझै चाहेजस्तो उपलब्धि हुन नसकेको गुनासो नेता कार्यकर्ताले गरेका छन्। माओवादी युद्धका क्रममा अतिप्रभावित मध्येको गोरखाका नेता कार्यकर्ताले सशस्त्र युद्धको जगमा केही उपलब्धि भए पनि जुन उद्देश्य र सोचले युद्ध सुरु गरिएको थियो सो अनुसार भने अझै नभएको भन्दै चिन्ता व्यक्त गरे।

माओवादी केन्द्र गोरखाले आइतबार सदरमुकाममा आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी नेता कार्यकर्ताले 'जनयुद्ध' को भावनाअनुसार परिवर्तन ल्याउन अझै लाग्नुपर्ने बताए। युद्धमा परिवार गुमाएका जिल्ला नेता विष्णु भट्ट माओवादीभित्रका केही नेताको घमण्डले पार्टी विघटन हुँदा उपलब्धि प्राप्तिमा असर पुगेको बताउँछन्। उनले भने, 'जनयुद्धको जगमै नयाँ जनवादी व्यवस्था कायम गर्न खाजेका थियौं, राजतन्त्रको अन्त्य र गणतन्त्रात्मक राज्यव्यवस्था लागू गर्न सफल भयौं।' धेरै उपलब्धि रक्षाका लागि अझै माओवादी जुट्नुको विकल्प नभएको उनले बताए।

युद्ध कालका लडाकु हितमान सुर्खेती माओवादी शासक नभई जनताको सेवक बनेर बढेको खण्डमा मात्रै १० वर्षसम्म युद्ध गर्नुको उपलब्धि प्राप्त हुने बताउँछन्। 'माओवादी शान्ति प्रक्रियामा आएपछि केही विचलित भयो', सुर्खेतीले भने, 'गणतन्त्र, धर्म निरपेक्षता, संविधान प्राप्ति जनयुद्धको जगमा भएको हो।' तर सबै कुरा पूरा नहुँदा सहिद र बेपत्ता परिवारलाई सन्तोष मिल्न नसकेको उनको भनाइ थियो।

महिला नेत्री शोभा लामिछानेले महिला, दलित, सहिद परिवारको अपेक्षा पूरा गर्न बाँकी रहेको बताइन्। 'जनयुद्धको समय सम्झँदा अहिले पनि भावुक बनाउँछ, युद्ध नगरेको भए यो उपलब्धि आउँदैनथ्यो तर पूरै उपलब्धि पाएका छैनाँै', उनले भनिन्।

माओवादी स्थायी समिति सदस्य हरि अधिकारीले माओवादी पार्टी अहिले शान्तिपूर्ण ढंगले प्रतिपर्धा गरी उपलब्धि रक्षा गर्न लागि परेको बताए। 'क्रान्ति यात्रामा केही मानिस हतोत्साहित भएर पार्टीबाट बाहिरिएको' बताउँदै उनले यसबाट दीर्घकालीन असर नपर्ने दाबी गरे।

माओवादी केन्द्रले जिल्ला स्तरका नेता तथा कार्यकर्ताको उपस्थितिमा आइतबार २२औं जनयुद्ध दिवस वनभोज कार्यक्रम गरेर मनाएको जिल्ला इन्चार्ज चूणामणि खड्काले जानकारी दिए।

प्रकाशित: २ फाल्गुन २०७३ ०२:५० सोमबार

चाहेजस्तो उपलब्धि भएको छैन