समाज

तीन वर्षदेखि बन्द हिल्सा नाका खुल्यो

फाइल तस्बिर

कोरोना महामारीका कारण साढे तीन वर्षदेखि बन्द हिल्सा नाका सोमबारबाट पूर्णरुपमा खुल्ला गरिएको छ।

२०७६ मंसिरदेखि बन्द रहेको हिल्सा नाकाबाट सोमबार १८ जना हुम्ली चीनको स्वसाति क्षेत्र तिब्बत प्रस्थान गरेका छन्। दक्षिणको छिमेकी भारतसँग सीमा नजोडिएको कर्णालीका लागि हिल्सा नाका व्यापारिक दृष्टिले सबैभन्दा महत्वपूर्ण मानिन्छ।

हुम्लाको नाम्खा गाउँपालिका–५ यारीबाट चीन जोड्ने हिल्सा नाका सञ्चालनमा आएसँगै स्थानीयहरु खुशी भएका छन्। तत्कालका लागि नेपालबाट चीनतर्फ एकतर्फी नाका खोलिएको भएपनि २०२३ मे ७ (बैशाख २४) गतेबाट चीनबाट नेपालतर्फ खुल्ला हुने हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए। ‘ताक्लाकोट जानका लागि १८ जना सोमबार नेपालतर्फबाट हिल्सा नाका पार गरेका छन्,’ उनले भने, ‘बैशाख २४ गतेबाट चीनतर्फबाट पनि नेपाल आउन खुल्ला हुनेछ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीले दुई देशको प्रतिनिधित्व गर्दै चैत १५ गते ल्हासामा बसेको सीमा व्यापार संयन्त्रको बैठकले चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएका नेपालतर्फका नाका पूर्णरुपमा खोल्ने सहमति भएको थियो। सोही सहमति अनुसार हिल्सा नाका पूणरुपमा खोलिएको प्रजिअ पौडेलले जानकारी दिए।

उक्त सहमति अनुसार हिल्सा नाकामा चीन र नेपालका सीमाक्षेत्रका सुरक्षाकर्मीको अनौपचारिक उपस्थितिमा चीनतर्फको गेट खोलिएको थियो। कोरोना कहर अघिसम्म हिल्साबाट चीनतर्फ हस्तकला, वनस्पति, जडीबुडी, चाउचाउसहित ५० प्रकारका सामग्रीहरु निर्यात हुन्थे।

हिल्सा नाका सञ्जालनमा आउँदा आफूहरुलाई सहज हुने सिमकोट गाउँपालिका–७ का पदम सिंहले जानकारी दिए। ‘कोरोना कहरका कारण हिल्सा नाका बन्द हुदा यहाँका स्थानीय तथा व्यवसायीहरु समस्यामा थिए,’ उनले भने, ‘नाका सञ्चालनमा आउँदा हुम्लाका मात्रै होइन्, छिमेकी जिल्लालाई पनि सहज हुनेछ।’

प्रकाशित: १८ वैशाख २०८० १३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App