समाज

जब चोरीको मोटरसाइकल सशस्त्र प्रहरीले एक महिना बेस क्याम्पमा लुकाए

गत बैशाख ४ गते पक्राउ गरेर तेल भराउन नुतल आयल स्टोरमा पुगी समातिएको मोटरसाइकललाई सशस्त्र प्रहरीले एक महिना खुटौना बेस क्याम्पमा राखेको खुलासा भएको छ।

फागुन १२ मा नुतन आयल स्टोरबाट चोरी भएको मोटरसाइकल भारतबाट सामानसहित ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले समातेर एक महिनासम्म खुटौना बेस क्याम्पमा राखेको खुलेको हो।

सशस्त्र प्रहरी खुटौना बेसले चोरिको मोटरसाइकल पक्राउ गरेको ठाउँ

मलंगवा नगरपालिका ९ घर भई नुतन आयल स्टोरमा कार्यरत कर्मचारी राकेश राउतको प्रदेश २–०२–००३ प ७७२९ नम्बरको मोटरसाइकल गत फागुन १२ मा पेट्रोल पम्पबाटै चोरी भएको थियो। सोही मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेको अवस्थामा खुटौना सशस्त्र प्रहरी बेसमा कार्यरत चालक तथा घुमुवा रोबिन पोखरेलले समातेर बेस क्याम्पमा पुर्‍याएका थिए। 

करिब दुई हप्तासम्म मोटरसाइकलको बारेमा कसैले सोधखोज गर्न नआएपछि घुमुवा तथा चालक पोखरेलले बेसपति सशस्त्र प्रहरी निरीक्षक अंगद खड्कालाई कन्भिन्स गरेर मोटरसाइकल चढेका थिए।

सप्रनि खड्का र घुमुवा पोखरेलको मिलेमतोमा नै सर्लाही सदरमुकाम मलंगवाको जिविस चौकस्थित एक आर्ट तथा पेन्टर पसलमा हचुवाको भरमा प्रदेश २–०२–००३ प ७७२९ नम्बरको मोटरसाइकललाई बा २ ब ९७२६ बनाउन लगाएका थिए। 

चोरीको मोटरसाइकलमा सरकारी नम्बर प्लेट  

पेन्टर पसलमा कम्प्युटरबाट नम्बर प्लेट बनाउन लगाई सप्रनि खड्का र घुमुवा पोखरेलले सरकारी नम्बर प्लेट कीर्ते जालसाजी गरेको बुझिएको छ। सरकारी नम्बर प्लेट लगाएर दुई हप्ताभन्दा लामो समय खुटौना बेसबाट निर्धक्क चढिरहेका सप्रनि खड्का र घुमुवा पोखरेल बैसाख ४ मा नुतन आयल स्टोर मलंगवामा समातिएका थिए।

समातिएको मोटरसाइकल लिएर सप्रनि खड्का र घुमुवा पोखरेल सधैँ मलंगवा नगरपालिका ९ स्थित ओम टे«डर्समा तेल भराउने गरेका थिए तर बैशाख ४ मा तेल नपाएपछि मलंगवा ४ शिवसागर चौकस्थित नुतन आयल स्टोरमा पुगेका थिए।

नुतन आयल स्टोरका कर्मचारी पटेलले आफ्नो मोटरसाइकलमा सरकारी नम्बर प्लेट देखेर आफूसित भएको कागजपत्रसित चेसिस नम्बर भिडाउँदा मिलेपछि सप्रनि खड्का र घुमुवा पोखरेल पहिले भाग्न खोजेका थिए तर स्थानीयले समातेपछि आफूहरुले मोटरसाइकल समातेर भन्सार बुझाउन लैजाने क्रममा तेल कम भएपछि भराउन आएको बताएका थिए।

खुटौना बेस क्याम्पनिकट घर भएका स्थानीय रामनाथ रायले एक महिना पहिले घुमुवा रोबिन पोखरेलले मोटरसाइकल समातेर ल्याएको र दुई हप्ता राखेपछि सरकारी नम्बर प्लेट चढाएको बताएका छन्। बेस क्याम्पका छिमेकी रायले सप्रनि खड्का र घुमुवा पोखरेलले मात्र बढी समय उक्त मोटरसाइकल चढ्ने गरेको आफूले देखेको बताएका छन्।

चोरीको मोटरसाइकललाई सरकारी बनाउने जस्तो कीर्ते जालसाजी गर्ने सप्रनि खड्का र घुमुवा पोखरलाई चोख्याउन सशस्त्र प्रहरी गण नम्बर १० का गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलाबहादुर भण्डारीले पनि आफ्नै निर्देशनमा फर्जी प्रतिवेदन बनाउन लगाएका थिए। बैशाख ४ मा मलंगवा नगरपालिका ६ स्थित भेडरहिया नाकाबाट सरकारी नम्बर प्लेट भएकै अवस्थामा मोटरसाइकल समातिएको भन्ने फर्जी प्रतिवेदन सशस्त्र एसपी भण्डारीले बनाउन लगाएका थिए।

फर्जी प्रतिवेदन बनाउनमा सशस्त्र एसपी भण्डारीको पनि संलग्न रहेको स्रोतले बताएको छ। सप्रनि खड्का र घुमुवा पोखरेललाई पनि सशस्त्र प्रहरी मधेश प्रदेश छिन्नमस्ता बाहिनी बर्दीबासमा तानिएको स्रोतको दाबी छ। एसपी भण्डारीले सप्रनि खड्का र सहायक हवलदार रोबिन पोखरेल बाहिनीमा गएका र छानबिन भइरहेको बताएका छन्।

बाहिनी प्रमुख सशस्त्र डिआइजी दीपेन्द्र शाहले सशस्त्र एसएसपी माधव पौडेलको नेतृत्वमा छानबिन टोली बनाएर घटनाबारे छानबिन भइरहेको जानकारी गराएका छन्।

नुतन आयल स्टोरमा कार्यरत कर्मचारी राकेश पटेलले आफ्नो मोटरसाइकल बैशाख ४ मा नै चिनेको भए पनि अहिलेसम्म मोटरसाइकल फिर्ता पाउन सकेका छैनन्। चोरी भएको मोटरसाइकल सशस्त्र प्रहरीसित फेला परेपछि सम्बन्धितलाई कारबाही नहुनु तथा धनीले मोटरसाइकल पनि नपाउनुले सर्लाही सदरमुकाम मलंगवाबासी निराश बनेका छन्। सप्रनि खड्का र घुमुवा पोखरेललाई चोख्याउने चलखेल भइरहेको आशंका मलंगवावासीको रहेको छ।

सशस्त्र प्रहरीसँग मोटरसाइकलको विषयमा मागेको विवरण अहिलेसम्म उपलब्ध नगराएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी नरेश राज सुवेदीको भनाइ छ।

 

यो पनि पढ्नुहोस्

मोटरसाइकल चोर्ने सशस्त्र प्रहरी निरीक्षक तानिए गण

 

 

यो पनि पढ्नुहोस्

चोरीको मोटरसाइकलसहित सर्लाहीमा सशस्त्र प्रहरी निरीक्षक पक्राउ

 

प्रकाशित: ११ वैशाख २०८० १४:२६ सोमबार

सशस्त्र प्रहरी चोरीको मोटरसाइकल