समाज

काठमाडौंमा साना सार्वजनिक सवारीसाधन हटाइँदै

काठमाडौं- यातायात व्यवस्था विभागले साना सार्वजनिक सवारीसाधनलाई विस्थापित गरेर ठूला बस सञ्चालन गर्ने तयारी गरेको छ। काठमाडौं उपत्यकामा सवारीसाधनको अत्यधिक चाप बढेसँगै साना सवारीको साटो ठूला बस ल्याउन लागिएको हो।

विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न 'पाइलट प्रोजेक्ट'को रुपमा सिनामंगल–रत्नपार्क–नयाँबसपार्क रुट चल्ने माइक्रोबस तथा टेप्पोलाई विस्थापित गरेर ठूला बस सञ्चालन गर्न लागेको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए।

'साना सवारीसाधनलाई विकल्पसहित विस्थापन गर्न लागेका हौँ,' उनले भने, 'साना सवारी धनीले कम्पनीमार्फत ठूला बस सञ्चालन गर्न पाउनेछन्।'

यातायात व्यवस्था विभागले एसियाली विकास बैंकसँगको साझेदारीमा पहिलोपटक सार्वजनिक टेप्पो, माइक्रोबस, मिनीमाइक्रो बस लगायत सवारीधनीलाई एकीकृत गरेर कम्पनीमार्फत सहुलियत ऋण प्रदान गर्नेछ।

'पहिलो चरणमा परीक्षण गर्न लागेका हौँ,' महानिर्देशक श्रेष्ठले भने, 'यो परीक्षण सफल भए अन्य रुटमा समेत लागू गर्दै जानेछौँ।'

काठमाडौं दिगो सहरी यातायात आयोजना, आयोजना कार्यान्वयन इकाइका योजना प्रमुख खड्गलाल श्रेष्ठले साना सवारी विस्थापित गर्न माइक्रोबस तथा टेप्पोका सञ्चालक सकारात्मक रहेको बताए। 'साना सवारीका सञ्चालकसँग पटकपटक वार्ता गरिसक्यौँ। उहाँहरू विस्थापन गर्ने पक्षमा सकारात्मक देखिनुभएको छ,' उनले भने, 'सोही रुटमा चल्ने सवारीधनीका सञ्चालकले कम्पनी दर्ता गरेर नयाँ बस सञ्चालन गर्न पाउनेछन्।' सवारीधनीले एक साताभित्रै कम्पनी दर्ता गर्ने उनले बताए। सिनामंंगल–रत्नपार्क–नयाँबसपार्क रुटमा २६ वटा माइक्रोबस र ३५ टेप्पो सञ्चालनमा छन्। ६१ साना सवारीसाधनको सट्टा सम्बन्धित रुटका सवारीधनीले १७ वटा अत्याधुनिक बस सञ्चालन गर्ने योजना रहेको छ।

एसियाली विकास बैंकको ३८ करोड अनुदानमा उक्त पाइलट प्रोजेक्ट सञ्चालन गर्न लागेको महानिर्देशक श्रेष्ठले बताए। बैंकबाट आउने अनुदान नगरविकास कोषमार्फत सवारीधनीलाई पाँच प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइनेछ। यातायात व्यवस्था विभागका अनुसार काठमाडौंमा ६६ रुटमा १० हजार सार्वजनिक सवारीसाधन गुड्ने गर्छन्।

आगामी फागुन २० देखि २० वर्ष पुराना सवारीसाधनलाई विस्थापित गर्ने विभागले जनाएको छ।

प्रकाशित: ६ माघ २०७३ ०३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App