समाज

बर्सेनि बढ्दै छ तापमान

काठमाडौं– देशभरको समग्र तापक्रम बर्सेनि बढ्दै गएको पाइएको छ । जल तथा मौसम विज्ञान विभागले गरेको एक अध्ययनले वार्षिक शून्य दशमलब शून्य चार (०.०४) डिग्री सेल्सियस दरले तापक्रम वृद्धि हुँदै गएको देखाएको हो ।

विभागले सन् १९७१ देखि २०१२ सम्मको मौसमको तथ्यांक विश्लेष्ण गरी वार्षिक ०.०४ डिग्री सेल्सियस दरले तापक्रम बढ्दै गएको तथ्यांक अघिल्लो साता सार्वजनिक गरेको छ । ‘हामीले ४१ वर्षको मौसम तथ्यांक विश्लेष्ण गर्दा तापक्रम वृद्धि हुँदै गएको पाइएको छ,’ विभागका महानिर्देशक ऋषिराम शर्माले भने, ‘तापक्रम वृद्धिको अंक सानो देखिए पनि वार्षिक रुपमा यति बढ्नु धेरै ठूलो हो ।’ यही गतिले बढ्दै गए अबको १० वर्षमा शून्य दशमलब ४ र एक सय वर्षमा ४ डिग्री सेल्सियस तापक्रम वृद्धि हुने अनुमान गरिएको छ । ४ डिग्री सेल्सियस तापक्रम बढेमा प्रकृतिमा यसको असर धेरै पर्ने शर्माले बताए । उनका अनुसार जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै गएको हो । जलवायु परिवर्तन पर्यटन, जलस्रोत र कृषिमा ठूलो असर गर्ने विभागले बतायो ।

तथ्यांकअनुसार तापक्रमको वृद्धिदर सबैभन्दा बढी उच्च हिमाली क्षेत्रमा देखिएको छ । हिमाली क्षेत्रमा वार्षिक रुपमा ०.०५२ डिग्री सेल्सियसले तापक्रम बढेको देखिएको छ । यो अन्य क्षेत्रभन्दा बढी हो । हिमालय क्षेत्रमा तापक्रम बढ्दै गएसँगै हिमाल हिउँ पग्लिन गई हिमालमा हिउँको मात्रा समेत घट्न थालेको विभागले जनायो ।
तापक्रम वृद्धिको मात्र उच्च पहाडी क्षेत्रमा ०.०५२, मध्ये पहाडी क्षेत्रमा ०.०४३, भित्री मधेशमा ०.०२४ र तराइमा ०.०१७ डिग्री सेल्सियसले बढेको देखाएको छ । त्यस्तै न्युनतम तापक्रम पनि घट्दो क्रममा देखिएको छ । समग्रमा ०.०१२ डिग्री सेल्सियसले प्रति वर्ष तापक्रम घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ ।

त्यसैगरी, विभागले वार्षिक रुपमा हुने वर्षात भने सामान्य बढेको देखिएको छ । वार्षिक ०.७ मिलिमिटरले बढेको देखाए पनि यो ठूलो नभएको विभागले बतायो । सन् १९६१ देखि ०१२ सम्मको तथ्यांक विश्लेष्ण गर्दा वर्षात बढेको देखिएको हो । वर्षा बढ्ने प्रवृत्ति सबैभन्दा बढी उच्च हिमाली क्षेत्रमा रहेको तथ्यांकले देखाएको छ । त्यसैगरी तराई र मध्यपहाडी क्षेत्रमा भने घटेको देखिएको छ ।

तथ्यांकअनुसार वार्षिक ६.६ मिलिमिटर बढी वर्षात हिमाली क्षेत्रमा भइरहेको छ । तापक्रवृद्धिको कारण हिमपात हुने क्षेत्रमा हिउँ नपरेर वर्षात भएको कारण वर्षात बढेको अनुमान विभागको छ । त्यसैगरी उच्च पहाडी क्षेत्रमा ०.२ मिलिमिटर, मध्ये पहाडी क्षेत्रमा माइनस २.३ मिलिमिटर, भित्री मधेसमा ०.६ मिलिमिटर र तराई क्षेत्रमा माइनस १.३ मिलिमिटर वर्षा हुने गरेको देखिएको छ ।

यसरी तापक्रम वृद्धि हुँदै जानु र उच्च भूभागमा वर्षात बढी हुनुले ठूलो असर गर्ने मौसमविद् मणिरत्न शाक्यले जनाए । उनका अनुसार विश्वमा सन् १९०५ मा सय वर्षको तथ्यांक विश्लेष्ण गर्दा ०.७४ डिग्री सेल्सियस तापक्रम वृद्धि भएको देखिएको थियो । अहिले यो क्रम झन बढ्दो भएको उनले बताए ।

‘यस वर्ष उपत्यकाकै कुरा गर्दा विगतका वर्षमा जस्तो जाडो भएन भने तापक्रमसमेत २.५ डिग्री सेल्सियसभन्दा तल झरेन जब कि विगत वर्षमा माइनसमा झरेको तथ्यांक छ,’ शाक्यले भने, ‘यसैका आधारमा पनि तापक्रम वृद्धिदर बढ्दो रहेको अनुमान गर्न सकिन्छ ।’ तापक्रम वृद्धि हुँदै जाँदा वर्षा कम, हिमाली क्षेत्रमा हिमपात कम र तराईमा शीतलहरसमेत कम भएको उनको अनुमान छ ।

क्रमशः क्षेत्र,  अधिकतम तापक्रम प्रतिवर्ष (सेल्सियस),  न्यूनतम तापक्रम प्रति वर्ष (सेल्सियस), वर्षात प्रतिवर्ष (मिलिमिटर)

  • तराई    ०.०१५    ०.०१७    –१.३
  • भित्री मधेस    ०.०२४    ०.०१३    ०.६
  • मध्यपहाडी     ०.०४३    ०.०१३    –२.३
  • उच्च पहाडी    ०.०५३    ०.००८    ०.२
  • उच्च हिमालय    ०.०५२    ०.००९    ६.६
  • देशमा जम्मा    ०.०३७ (०.०४)    ०.०१२    ०.७

तथ्यांक स्रोतः जल तथा मौसम विज्ञान विभाग/सन् २०१५

 

प्रकाशित: २७ पुस २०७३ ०३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App