समाज

दुर्लभ वन्यजन्तु सालक तस्करी गरी भारत पुर्‍याउने गिरोह सक्रिय

नेपालगन्ज- मध्यपश्चिम र सुदुरपश्चिमका पहाडी जिल्लाबाट दुर्लभ तथा संरक्षिण वन्यजन्तु सालक तस्करी हुने गरेको पाइएको छ। सालकका विभिन्न अंग तस्करी गरेर भारत पुर्‍याउने एक गिरोह पक्राउ परेपछि यस्तो तथ्य बाहिर आएको हो।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्वर २ विकाशनगरबाट शनिबार नेपाल प्रहरीको केन्द्रीय र क्षेत्रीय अनुसन्धान व्यूरो टोलीले सालकको २० किलो चार सय ग्राम खपेटा सहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कोहलपुर–२ विकाशनगर निवासी ३३ बर्षिय गणेश बुढा र दार्चुला गोकुलेश्वर–७ का १९ बर्षिय धनी नाथ रहेका छन्।

अभियुक्त बुढाको घरमा उक्त खपेटा लुकाएर राखिएको भन्ने गोप्य सूचनाको आधारमा पुगेका सादा पोशाकका प्रहरीले पक्राउ गरेका हुन्। पक्राउ परेका अभियुक्त र बरामद गरिएको सालकको खपेटालाई बाँके राष्ट्रिय निकुन्जको जिम्मा लगाइएको अनुसन्धान व्यूरोका एक प्रहरीले बताए। ‘प्रारम्भिक अनुसन्धानबाट सालकको खपेटा सुर्खेतबाट ल्याएको जस्तो देखिन्छ, यसलाई भारत पुर्‍याएर विक्री गर्ने यिनीहरुको योजना रहेछ,’ उनले भने। तस्करीमा अन्य व्यक्तिको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ।

बाँके राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनमगरले पक्राउ परेका अभियुक्त विरुद्ध अनुसन्धान सुरु गरिएको बताए। ‘प्रहरीले हाम्रो जिम्मा लगाइसकेको छ, आवश्यक कारबाहीका लागी अनुसन्धान सुरु गरेका छौं,’ पुनले भने। सालकको अंग अन्तराष्ट्रिय बजारमा महंगो मुल्यमा बिक्री हुने भएकाले यसको तस्करी बढेको संरक्षणकर्मी बताउँछन्।

संरक्षणमा कडाई गरेपनि तस्करहरुले सालकको अंग तस्करी गर्ने कार्य रोकिएको छैन। सालकको तस्करी नियन्त्रण गर्ने उद्देश्यले उक्त वन्यजन्तुलाई दुर्लभ तथा संरक्षितको सुचीमा राखेको हो। ‘विशेषगरी पहाडी जिल्लाहरुमा पाइने वन्यजन्तु हो यो, हाम्रै निकुन्जको पहाडी क्षेत्रमा पनि यो वन्यजन्तु पाइन्छ,’ पुनले भने।

सालक चोरी सिकारी गर्ने विरुद्ध राज्यले कडा कानुनी व्यवस्था गरेको छ। बाँके राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत रबीन चौधरीले अभियुक्तलाई राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ बमोजिम कारबाही हुने जानकारी दिए। ‘अभियोग प्रमाणित भएमा दोषीलाई अधिकतम १५ वर्ष सम्म जेल सजाय र एक लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ,’ चौधरीले सुनाए।

 

 

 

प्रकाशित: १८ मंसिर २०७३ १४:२६ शनिबार

दुर्लभ वन्यजन्तु सालक तस्करी गरी भारत पुर्‍याउने गिरोह सक्रिय