समाज

'महिला उद्यमीलाई सहुलियत ऋण देउ'

काठमाडौं- महिला उद्यमीले सहुलियत दरमा ऋण उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। सरकारले सहुलियतमा ऋण दिने बताए पनि अहिलेको नियम झन्झटपूर्ण भएकाले सच्चाउनु पर्ने उनीहरुको तर्क छ।

उद्यमशिलता विकास कोषबाट ऋण प्रदान गरे पनि त्यो पर्याप्त नभएको र बैंकबाट ऋण लिने व्यवस्था सहज गराउन माग गरेका छन्। महिला उद्यमी महासंघले १३औं वार्षिक साधारण सभाको अवसरमा बिहीबार राजधानीमा आयोजना गरेको पैरवी परामर्श कार्यशालामा विभिन्न जिल्लाबाट आएका महिलाले यस्तो गुनासो गरेका हुन्।

उद्योगलाई धितो राखेर बैंकबाट ऋण पाउनुपर्ने बाँकेकी महिला उद्यमी सरस्वती शर्माले बताइन्। 'घरजग्गा नराखेसम्म ऋण पाइँदैन,' शर्माले भनिन्, 'जग्गा जमिन नहुने महिलाले ऋण नपाएपछि कसरी उद्योग चलाउने? नेपाली खुकुरी, ढाका टोपी उद्योग सञ्चालन गरेकी स्नेह सोभिनियर गिफ्ट सपकी शर्माले यहाँको उत्पादनले भारतीय सामानसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले निर्यातमा समेत छुट पाउनुपर्ने बताइन्।

नेतृत्व चयन गर्ने महिला उद्यमी महासंघको भेलामा मुलुकका २९ जिल्लाका महिलाको सहभागिता रहेको छ। जिल्ला–जिल्लाबाट आएका महिला उद्यमीले सहुलियत ऋणसहित महिलाको क्षमता विकास गर्नुपर्ने, विदेशबाट प्रविधि ल्याएर महिलालाई सिकाउनु पर्ने, बजार व्यवस्थापनमा सघाउन माग गरेको महासंघकी अध्यक्ष रिता भण्डारीले बताइन्। 'सहुलियतमा ऋण दिने अहिलेको प्रावधान सच्चाउनु पर्ने माग उठेको छ,' भण्डारीले भनिन्, 'सहरी क्षेत्रमात्र नभएर ग्रामीण क्षेत्रका महिला उद्यमीलाई पनि ऋणको खाँचो छ।' उनका अनुसार नीतिगत रुपमा तीनदेखि पाँच लाख रुपैयाँ ऋण दिने व्यवस्था भए पनि एकदेखि तीन लाख रुपैयाँभन्दा धेरै नपाएको बताइन्।

महिलालाई उद्योग दर्ता प्रक्रियामा समेत केही सहुलियत हुनुपर्ने महासंघकी कार्यकारी निर्देशक अनामिका सिंहले बताइन्। 'महिलाको क्षमता विकासको प्रयास गरिरहेका छौं,' उनले भनिन्, 'महिलाले उत्पादित गरेका वस्तुको बजार व्यवस्थापन पनि अहिलेको चुनौती हो।' बिहीबारबाट सुरु भएको भेलाले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ।

प्रकाशित: १७ मंसिर २०७३ ०५:२७ शुक्रबार

महिला उद्यमीलाई सहुलियत ऋण देउ