समाज

मनकारी आमै, बैगुनी सरकार

भक्तपुर-२०७२ वैशाख १२ गते बिहान भूकम्प जाँदा ७८ वर्षीया कान्छीमैंया शाक्य  चारतले घरको माथिल्लो तलामा थिइन्। भुइँचालोको कम्पनसँगै उनी हत्तपत्त घर बाहिर निस्किन्। भुइँचालोले उनको घर भत्कायो तर उनको हिम्मत भत्काउन सकेन। 

विपद्पछि उनको जीवनयापन कठिन भयो, तैपनि उनको स्वभाव फेरिएन। भूकम्पलगत्तै उनीसँग कुराकानी गरेका विदेशी पत्रकार माइक म्याकरबर्टस्लाई अन्तर्वार्ता सकेपछि ‘भोजन गर्न जाऊँ’ भन्दै अतिथि सत्कारको आग्रह गर्न बिर्सिइनन्। आफ्नो सर्वस्व गुमेका बेलामा पनि भोजन गरेर जानुस् भन्ने मनकारी आमै भन्दै माइकले त्यसैबेला सामाजिक सञ्जाल ट्विटरमा उनको तस्बिरसहित आफ्नो भावना पोखे ।

आमैको अतिथि सत्कार भावनाको चौतर्फी प्रशंसा भयो । विपद्मा पनि आफ्नो असल स्वभाव नत्याग्ने नेपालीपनका रुपमा सबैले लिए । धेरै भौतिक क्षति भए पनि नेपालीले जीवन जीउने कला गुमाइनसकेको उत्कृष्ट उदाहरण बनिन् कान्छीमैंया । संसारभर यी आमैसँगै नेपालीपनको तारिफ भयो ।

भूकम्पको डेढ वर्षपछिसोमबार दिउँसो साँखु पुग्दा यी आमै उनको भत्केको घरअगाडि घाम ताप्दै थिइन् । भैंचालोले बिगारेको उनको आर्थिक अवस्था अहिले पनि फेरिएको छैन, तर उनको विनम्रता भने अझै उस्तै छ ।

घर भत्के पनि जीवन बाँचेकोमा खुसी व्यक्त गर्दै उनले बाँचेकै बेला गतिलो बास पाए साह्रै बेस हुने सुनाइन् । बिरामी छोरीसहित पुरानो घरमा बसेकी उनी घर भत्केपछि छोरासँग बस्दै आएकी छन् । ‘मलाइ त्यही घर ढलेको पुख्र्यौली जमिनमा नयाँ घर बनाउने इच्छा छ,’ उनले भनिन्, ‘सरकारले नसघाउँदा आपत् परेको छ ।’ आफूले जति सहे पनि सरकार बैगुनी भएको यी मनकारी आमाले बताइन् ।

भूकम्पले घर भत्केको डेढ बर्ष बितिसक्दा पनि सरकारी राहत रकम हात नपरेपछि मनकारी आमैका नगरवासी समेत सरकार बैगुनी भन्दै निराश भएका छन् । भूकम्पपछि पनि शिर ठाडो पारेर बाँचिरहेका उनीहरू सरकारी अकर्मण्यतासामु शिर निहुराउन बाध्य छन् ।

 वैशाख १२ को भूकम्पपछि थलापरेको राजधानीको उत्तरपूर्वी भेगको व्यापारिक नगरका रुपमा चर्चित ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक साँखुका बासिन्दा सरकारको बोलीको ठेगान नहुँदा के गर्ने के नगर्ने अन्योलमा छन् । कतिपयले धान खेत बेचेर घर बनाउन थालेका छन् भने खेत नभएकाहरू पुरानै घर टालटुल पारेर बस्न थालेका छन् । सरकारले राहत रकम दिन अनुदान सम्झौता गर्न थाले पनि उनीहरू राहत पाइने नपाइने अझै विश्वस्त हुन सकेका छैनन् ।

‘सहयोग आउँछ आउँछ भन्ने मात्र भएको छ,’ इपाटोलकी बिजुलीमाया श्रेष्ठले भनिन्, ‘तर खै कहिल्यै आएन ।’ २०७२ सालको भैंचालोबाट घरसँगै कान्छी छोरी र नातिनी पनि गुमाएकी उनी त्यही भत्केको घर टालटुल पारेर बसेकी छन् । जुनसुकै बेला ढल्ने घरमा बसिरहेकी उनको मन बारम्बारको अनुकम्पले झनै आत्तिएको छ । ‘सोमबार बिहानको भैंचालोले झनै अत्यायो,’ उनले भनिन, ‘अब के गर्ने कहाँ जाने केही थाहा छैन ।’

उस्तै समस्या छ, सुनटोलका इन्द्र मानन्धरको । भैंचालोले घर भत्केपछि शिविरमा बस्दै आएका उनी सरकारी राहत हात नपरेपछि पुरानै घर टालटुल पारेर बसेका छन् । ‘राहत आउने बाटो हेर्दाहेर्दै दिन बितिरहेको छ,’ पुरानो घरको झ्यालबाट चियाउँदै उनले भने, ‘तर कहिले आउँछ अत्तोपत्तो छैन ।’ बेलामा सरकारले सहयोग गरेको भए आफ्नो जीवनले गति लिने बताउने उनी सरकारी अकर्मण्यताले आफ्नो जीवन अन्योलग्रस्त बनेको बताए ।

भूकम्पमा आमा गुमाएका मानन्धरका छिमेकी विजेन्द्र डंगोलको पीडा पनि फरक छैन । ‘हामीले पीडा बिर्सेर नयाँ बाटोमा हिँड्न पाएका छैनौं,’ उनले भने, ‘बासको टुंगो नलागेसम्म अघि बढ्न समस्या हुँदो रैछ।’

शंकरापुर नगरपालिकामा मात्र ६ हजार २ सय घर क्षतिग्रस्त भएको फारम भरेकोमा ५ हजार ४ सयको नाम मात्र सूची आएको र तीमध्ये पनि ४ हजार १ सय भूकम्पपीडितसँग अनुदान सम्झौता भएको नगरपालिकाले जनाएको छ । ‘राहत रकम अन्य ठाउँमा जस्तै प्रक्रियाबाट वितरण गरिने हो,’ नगरपालिकाका इन्जिनियर मिनल फूयाँलले भने, ‘हामीले आफ्नातर्फबाट गर्नुपर्ने काम गरेका छौं।’ भूकम्पले शंकरापुर नगरपालिकामा  १ सय १५ जनाले ज्यान गुमाएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार साँखु बजारमा नै ४५ जनाको मृत्यु भएको थियो।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: १५ मंसिर २०७३ ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App