समाज

नेपाल जाइका एसोसियसनको साधारण सभा सम्पन्न

नेपाल जाइका एसोसियसन (जान) को ४९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभा यहि फागुन २७ गते एक विशेष कार्यक्रमका बिच सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपाल जापानको असल मित्र भएको बताए। उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापानले गर्दै आएको सहयोग निरन्तर रहने बताए।

उनले जापानले नेपाललाई लामो समय देखि कृषि, स्वास्थ्य सेवा, शिक्षा, पूर्वाधार विकास, सुसाशन, शान्ति स्थापना तथा भूकम्प पछिको पुननिर्माणका क्षेत्रमा सहयोग गर्दै आएको बताए।

जापानी राजदूतले आफ्नो गृहनगर जापानको फुकुसिमामा सन् २०११ मा गएको भूकम्प सुनामी र त्यस पछि भएको परमाणु प्लान्टको विस्फोटनका कारण हजारौं नागरिकको ज्यान गै लाखौं नागरिकले दु:ख पाएको बेलामा जानले गरेको सहयोगको स्मरण गर्दै जानले नेपाल र जापान बिच आपसी सहयोग आदानप्रदान र दुई देश बिचको सम्बन्ध सुदृढ बनाउने कार्यमा निरन्तर रुपमा निभाएको भुमिकाको प्रशंशा गरे।

आज भन्दा ठिक १२ वर्ष अघि सन् २०११ मार्च ११ का दिनमा जापानको फुकुसिमामा ठूलो भुकम्प गएको थियो। त्यतिबोला जानले जापानको भुकम्प र सुनामी प्रभावितहरुलाई सहयोग गरेको थियो। सन् २०१५ को भुकम्प पछि जापानले नेपाललाई सहयोग गरेको थियो। जापानी राजदूतले यस किसिमको सहयोगले दुई देश बिचको सम्बन्धलाई अझै मजवुत बनाउने बताए।

कार्यक्रममा जाइका नेपालका प्रमुख श्री आकिमिचु ओकुवोले जापानले नेपालमा मानव श्रोत विकास (Human Resource Development) मा लामो समय देखि सहयोग गर्दै आएको र यसलाई भविष्यमा समेत निरन्तरता दिइने बताए।

जानले जाइका नेपालको सहयात्री मित्रको रुपमा देश विकास र नेपाली समाजको भलाईको लागि महत्वपूर्ण भूमिका खेलेको र सार्क क्षेत्रमा समेत जान सक्रिय रुपमा कार्यरत रहेकोले यस्ता कार्यको प्रशंसा गर्दै जान प्रति आभार व्यक्त गरे।

जानका अध्यक्ष डा. रामचन्द्र भुसालले नेपालको दिगो विकासमा निरन्तर सहयोग गर्दै आएको जापानले पछिल्लो पटक भूकम्पको समयमा साथै भूकम्प पछिको पुननिर्माण र कोभिड –१९ को महामारीमा गरेको सहयोगको लागि जापान प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि नेपालको दिगो विकासका लागि जापान सरकार र जापानी जनताको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।  

प्रकाशित: ३० फाल्गुन २०७९ ०९:१३ मंगलबार

नेपाल जाइका एसोसियसन