काठमाडौं- घरेलु हिंसामा परेर बेलैमा राम्रो उपचार नपाइ निधन भएकी रोल्पा थवाङ–८ की ४८ वर्षीय सुनकुमारी नेपालीको सोमबार दाहसंस्कार गरिएको छ। भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचार गर्र्दागर्दै शनिबार साँझ उनको मृत्यु भएको थियो।
उनको सोमबार भैरहवामा अन्तिम संस्कार गरिएको हो। सुनकुमारीको पार्थिव शरिरमा उनकी १३ बर्षीय छोरी विनिता नेपालीले दागवत्ति दिइन्।
सुनकुमारीलाई गत असोज २६ गते पति धु्रव नेपाली र बहिनी नाता पर्ने जाला नेपालीले मरणाशन्न हुने गरी कुटपिट गरेका थिए। घाइते सुनकुमारीलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो। जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रमुख डिएसपी रामप्रसाद घर्तीका अनुसार असोज २६ गते सुनकुमारी, धु्रव र पाहुना हुन आएकी जाला खाना खाएर सुते। राति सुनकुमारीले पतिसँग सल्किएको भन्दै जालालाई गाली गरिन्। भनाभनले उग्र रुप लियो। सुनकुमारीले पतिसँग सल्किएको भन्दै गाली गरेपछि पति धु्रव र जाला मिलेर ढुंगाको लोहोराले शरिरभरि हिर्काए। रगताम्मे भएर ढलेपछि धु्रव र जाला राति नै घरबाट निस्के। ‘भोलिपल्ट घर सुनसान भएपछि छिमेकी र प्रहरी पुग्दा सुनकुमारीको रगताम्मे शरीर भेटिएपछि प्रहरीले नै घर्तीगाउँस्थित स्वास्थ्यकेन्द्र पुर्याएको हो, त्यहाँ उपचार हुन नसकेपछि एम्बुलेन्सको व्यवस्था गरी भैरहवासम्म हामीले नै पठाएका हौं,' डिएसपी घर्तीले भने।
आर्थिक अभाव भएकी विपन्न परिवारकी सुनकुमारीको उपचारका लागि २५ हजार रुपैयाँ प्रहरीले नै व्यवस्था गरेको घर्तीले जानकारी दिए। भैरहवा ल्याइएपछि आर्थिक अभावकै कारण उनको उपचार राम्ररी हुन सकेन। गम्भीर घाइते सुनकुमारीको उपचार गर्न मेडिकल कलेजले पनि गम्भीरता देखाएन, आइसियुमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई सामान्य वार्डमा राखियो। २२ दिनसम्म सामान्य वार्डमा राखेर उपचार गरेको अस्पतालले उपचारमा पत्रकारको संस्था लुम्बिनी प्रेस क्लबले चासो देखाएपछि बल्ल आइसियुमा राखेर उपचार गरेको थियो।
प्रकाशित: २९ कार्तिक २०७३ १३:१२ सोमबार