समाज

अवैध स्युडोइफ्रिडिन कारोबारी रतनलाल संघाई १० लाख धरौटी रिहा

पुर्पक्षको लागि थुनामा राखेर कारवाही गर्न आदेश भएका अभियुक्त मोहित हलान

बारा– जिल्ला अदालत बाराले औषधि बनाउन ल्याएको रसायन स्युडोइफ्रिडिन अन्तर्राष्ट्रिय लागू औषध कारोबारीलाई बिक्री गरेको आरोपमा पक्राउ परेका उद्योगी घराना संघाई ग्रुपअन्तर्गत जीतपुरमा रहेको आर्य फर्मा ल्याब प्रालिका संञ्चालक मध्येका एक जनालाई १० लाखको धरौटीमा छाड्न आदेश दिएको छ। अर्का अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राखेर कारवाही गर्न आदेश दिएको छ।

अदालतले ल्यबका संचालक मध्येका एक रतनलाल संघाईलाई १० लाखको धरौटीमा छाड्न आदेश दिएको हो। फर्मा ल्याबका मार्केटिङ डाइरेक्टर मोहित हलानलाई पुर्पक्षको लागि थुनामा राखेर कारवाही गर्न आदेश गरिएको  अदालतका अधिकारीहरुले जनाएका छन्।

जिल्ला सरकारी वकिल कार्यालय मार्फत दर्ता भएको अभियोग पत्रको अधारमा चार नम्बर इजलासका माननीय न्यायधीश माधव प्रसाद अधिकारीको एकल ईजलासले उद्योगका संचालक मध्येका एक रतनलाल संघाईलाई १० लाखको धरौटीमा छोड्न आदेश दिएको हो। भने  फर्मा ल्याबका मार्केटिङ डाइरेक्टर मोहित हलानलाई पुर्पक्षको लािग थुनामा राखेर कारवाही गर्न आदेश भएको अदालतका श्रेस्तेदार मोहन सुवेदीले बताएका छन्।

जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा पेश गरेको अभियोग पत्रमा संघाई र हलानलाई १ लाख देखि २० लाखसम्म नगद जरिवान र दुई वर्षदेखि १० वर्षसम्म दुबैलाई कैद गर्न माग गरिएको सुवेदीले बताए।

एउटै मुद्दाका दुई अभियुक्तहरु मध्ये कसैलाई धरौटी छोड्नु र कसैलाई थुनामा राखेर कारवाही गर्नु किन यस्तो ? अदालतबाट आदेश भएको प्रश्नमा श्रेस्तेदार सुवेदीले फैसलाको मिसिल अध्ययन गरेपछि मात्रै केही भन्ने प्रतिक्रिया दिए।

लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम लागू औषध ओसारपोसर गरी  अभियुक्तहरुले कमाएको सम्पत्तिलाई  समेत जफत गर्न सकिने व्यवस्था रहे पनि सरकारी वकिलबाट अभियुक्तहरुले स्युडोइफ्रिडिन कारोबार गरी कमाएका सम्पत्तिको यकिन गरी त्यसलाई जफत गर्न अभियोग पत्रामा पेश नगरिएको श्रेस्तेदार सुवेदीले बताए।

आर्य फर्माका सञ्चालकहरुले तीन वर्षको अन्तरालमा पाँच पटकमा गरी औषधि व्यवस्था विभाग र गृह मन्त्रालयबाट कोडिन, डिकोल्डलगायत औषधि बनाउन अनुमति लिई एक हजार किलो स्युडोइफ्रिडिन मात्रै  नेपाल भित्रियाइएको प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा पेश गरेको अभियोग पत्रमा देखाइएको अदालतले जनाएको छ।
यस मुद्दाका मुख्य अभियुक्त पवन संघाईलगाएतका अन्यहरु फरार रहेकाले तिनीहरु अदातलमा उपस्थित भएपछि मात्रै तिनीहरुको हकमा कारवाही प्रक्रिया अगाडी बढने सुवेदीले जनाएका छन्।

नेपालको ठूलो औद्योगिक घराना संघाई समूहका मुख्य सञ्चालकले औषधि बनाउन ल्याएको रसायन स्युडोइफ्रिडिन अन्तर्राष्ट्रिय लागूऔषध कारोबारीलाई बिक्री गर्ने गरेको गत साउन महिनामा खुलेको थियो। समूहले कोल्ड ट्याब्लेट बनाउने अनुमति सरकारसँग लिएर उक्त सहायक रसायन आयात गरेको थियो।

चीन र बर्मामा रहेका लागूऔषधका अन्तर्राष्ट्रिय कारोबारीले स्युडोइफ्रिडिनको प्रयोग गरेर एमफेतामाइन र आइस्ड ड्रग्स बनाएर अस्ट्रेलियालगायत युरोपियन र अमेरिकन मुलुकमा पु–याएर लागूऔषधको बजारमा फैलाउने गरेको लागू औषध नियन्त्रण ब्युरोले त्यस बेला पक्राउ परेकाहरुबाट अनुसन्धानको क्रममा फेला पारेको थियो।

आर्या फर्माको  मिलेमतोमा नेपालबाट स्युडोइफ्रिडिन भारतलगायत मुलुकमा तस्करी हुने गरेको सूचनाका आधारमा ब्युरोले  आर्य फर्मा ल्याबमा काम गर्ने भारत रक्सौलका दिलीप पण्डितलाई पक्राउ गरेको थियो। पण्डितले पाटन औद्योगिक क्षेत्रभित्र रहेको संघाई प्लास्टिक इन्डस्ट्रिज प्रालिको गोदाममा औषधि रहेको बताएपछि ब्युरोले त्यहाँ छापा मार्दा ९ सय ५२ वटा सेतो डिब्बामा ४ सय ७१ किलो ट्याब्लेट फेला पारेको थियो । भने मोहित हलानसँग गाडीमै २० किलो बरामत गरेको थियो।
 

प्रकाशित: ११ कार्तिक २०७३ १४:०० बिहीबार

अवैध स्युडोइफ्रिडिन कारोबारी रतनलाल संघाई १० धरौटी रिहा