समाज

पत्रकारिता र सञ्चामाध्यमबाटै मातृभाषा संरक्षण

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मातृभाषा पत्रकारिता विकासका लागि सहजीकरण गर्न काउन्सिल तयार रहेको बताएका छन्। नेवा: पत्रकार राष्ट्रिय दबूको समन्वय र काउन्सिलको आयोजनामा भएको ‘धर्मादित्य धर्माचार्य र मातृभाषा पत्रकारिता’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘कुनै एक भाषामा मात्र काम गरेर काउन्सिलको दायित्व पूरा हुँदैन, सबै भाषाभाषीको पत्रकारितालाई एउटै मालामा उनेर काउन्सिल अगाडि बढ्छ।’  

कार्यक्रममा बोल्दै उनले मातृभाषाका पहिलो पत्रकार धर्मादित्य धर्माचार्यलाई राज्यस्तरबाटै मान्यता दिलाउन तथा सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघका संस्थापकका रूपमा मान्यता दिलाउन पनि प्रेस काउन्सिलले भूमिका खेल्ने बताए।  

कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै वरिष्ठ पत्रकार सुरेश मानन्धरले कुनै एउटा भाषा मर्नु भनेको त्यससँगै एउटा इतिहास, संस्कृति, परम्परा, सम्पदा पनि मर्ने विचार राख्दै भने, ‘मान्छे मरे सबै छाडेर जान्छन्, तर एउटा भाषा मरे त्यसले छाडेर जाने होइन, धेरै कुरा लिएर जान्छ। एउटा भाषा नाश भयो भने त्यसले एउटा इतिहास, त्यस भाषाभित्र रहेका संस्कृति, परम्परा र सम्पदा सबैलाई लिएर जान्छ। त्यसैले भाषालाई बचाइराख्नु राज्यकै कर्तव्य हो।’

उनले भाषा संरक्षणका लागि मातृभाषा पत्रकारिता र सञ्चारमाध्यमको विशेष भूमिका रहने बताउँदै मातृभाषा पत्रकारिता विकासका लागि राज्यस्तरबाट सहयोग जुटाउन काउन्सिलले भूमिका खेल्नुपर्ने बताए। त्यस्तै उनले काउन्सिलले मातृभाषी सञ्चारमाध्यमलाई मात्र हेर्न अलग्गै विभाग खडा गरेर काम गर्नुपर्ने पनि सुझाए।  

नेपाल आदिवासी जनजाति पत्रकार महासंघका उपाध्यक्ष अमरध्वज लामालाई मातृभाषालाई राष्ट्रियता, राष्ट्रिय गौरब, व्यापार, स्वास्थ्यसँग जोड्दै संविधानबाटै मातृभाषीको हक अधिकारबारे सम्बोधन गरेको हुँदा राज्यले संविधान कार्यान्वयन गर्न कार्य गर्नुपर्ने बताए।  

त्यस्तै मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह मातृभाषाबाट पत्रकारिता गर्नु फलामको चिउरा चपाउनुसरह भएको भन्दै यस क्षेत्रमा कार्यरत भाषाप्रेमीहरूको संकल्पले मात्रै अहिलेसम्म मातृभाषाको पत्रकारिता बाँचिरहेको बिचार राखे। उनले भने, ‘प्रेस काउन्सिल, सरोकारवाला संस्थाहरूको सहकार्य भएमा राज्यस्तरबाट आवश्यक सहयोग लिन सकिन्छ।’

कार्यक्रममा सार्क पत्रकार समाजका अध्यक्ष राजु लामाले प्रेस काउन्सिल, नेपाल आदिवासी पत्रकार महासंघ र समाजको सहकार्यमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलन गर्न प्रस्ताव राखेका थिए।  

कार्यक्रममा बोल्दै विचार गोष्ठीका संयोजक तेजनारायण महर्जनले पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यले मातृभाषाको पत्रकारिता सुरु गरेको सय वर्ष पुग्न लाग्दा पनि मातृभाषा पत्रकारिताको विकास हुन नसकेको बताउँदै यसका लागि सरोकारवाला संस्था र प्रेस काउन्सिलले खेल्न पर्ने भूमिकाबारे छलफल गर्न कार्यक्रमको आयोजना गरिएको बताए।  

कार्यक्रममा नेवा: पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपन्द्रलाल श्रेष्ठले धर्मादित्य धर्माचार्यलाई राज्यस्तरबाट मान्यता दिलाउन हुलाक टिकट प्रकाशन गर्न, उनको सालिक राख्न, उनका नाममा मातृभाषी सञ्चार प्रतिष्ठान खोल्न काउन्सिलले पहल गरिदिन ध्यानाकर्षण पत्र काउन्सिलका अध्यक्ष बस्नेतलाई हस्तान्तरण गरेका थिए।

प्रकाशित: १४ फाल्गुन २०७९ ०१:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App