समाज

डुंगा दुर्घटनाः ५ शव फेला, ४ को सनाखत [अपडेट]

इलाम-इलामको दानाबारी र महमाई गाउँबीच पर्ने माइखोलामा यात्रु बोकेको डुंगा डुब्दा मृत्यु भएका ५ मध्ये ४ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार इलाम महमाई–१ का ७५ वर्षे जसबहादुर राई, त्यही ठाउँकी ४५ वर्षीया डम्बरमाया मगर, महमाई–२ कै ३९ वर्षीया पवित्रा पौडेल र त्यहींका ५८ वर्षे हर्कबहादुर मगरको शव भेटिएको छ ।

एक बालकको शव भेटिएपनि नामथर खुल्न नसकेको प्रहरीले जनाएको छ । दानाबारीका सामाजिक अगुवा ध्रुव श्रेष्ठले डुंगा डुबेको स्थानभन्दा केही तल माई र गरुवाखोलाको दोभानमा जसबहादुर र डम्बरमायाको शव भेटिएको बताए । पवित्रा, हर्कबहादुर र १ बालकको शव अझै तल चेप्टी भन्ने स्थानमा फेला परेका थिए । अहिलेसम्म २० महिला र १४ पुरुषको उद्धार गरिएको छ । उद्धार गरिएकाहरूले आफ्नो पति, बालबच्चा र आफन्त हराइरहेको बताएपनि कति संख्याका यात्रु बेपत्ता छन् भन्नेबारे केही खुल्न नसकेको दानाबारीस्थित प्रहरी कार्यालयले जनाएको छ । 

दसैंको टीका लगाउन आफन्तकहाँ जाने–आउने यात्रु चढेको डुंगा शुक्रबार दिउँसो पौने २ बजेतिर दुर्घटना भएको हो । ५ जनाको शव भेटिएको र बाँकी बेपत्ताको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । उद्धार गरिएका यात्रुहरूका अनुसार दानाबारीबाट महमाई जाँदै गरेको डुंगा चण्डालघाटमा डुबेको हो । त्यसको करिब २ किलोमिटर तल डुबेको डुंगा भेटिएको थियो । डुंगामा कति यात्रु चढेका थिए भन्ने थाहा नभएपनि पौडिएर निस्केका यात्रुले ५० भन्दा बढी यात्रु ढुंगामा रहेको बताएका छन् ।    

घटनास्थलमा स्थानीय, दानबारीस्थित प्रहरी, झापास्थित मेची अञ्चल प्रहरी, सशस्त्र प्रहरीलगायतका टोली उद्धारका लागि खटेका छन् । उद्धार कार्य सम्भव हुन नसक्ने अवस्था आए राति चाहिँ स्थगित गरी शनिबार बिहानै पुनः सुरु गर्ने दुर्घटनास्थलमै रहेका एसपी सुशीलकुमार यादवले जानकारी दिए । 

इलाम, पाँचथर, ताप्लेजुङ र झापामा ४ दिनदेखि शुक्रबार दिउँसोसम्म लगातार वर्षा भएको थियो । केही स्थानमा अझै वर्षा भइरहेको छ । वर्षाले खोलामा बाढी आएको थियो । तर, डुंगा दुर्घटनाको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ । इलाम सदरमुकामबाट महमाई र बाँझो गाविस आउ–जाउ गर्न हिउँदमा ल्यान्डरोभर गाडी चल्छन् । 

वर्षामा माइखोलामा बाढी आउने भएकाले चण्डालघाट भन्ने स्थानमा दानाबारी र महमाईको यातायात जोड्न भने डुंगा चलाउने गरिएको छ । करिब १० मिनेट डुंगा चढ्नुपर्ने अवस्था रहेको यो स्थानमा बर्सेनि २–३ डुंगा सञ्चालन गरिन्छ । यहाँ निर्माणाधीन पक्की पुल लामो समय निर्माण नसकिएकाले स्थानीयले बर्सेनि सास्ती खेप्नुपरेको हो ।

 

प्रकाशित: २८ आश्विन २०७३ १५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App