समाज

बिल मिलाएर चार लाख भुक्तानी

कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाबाट कार्यक्रमका लागि छुट्ट्याइएको चार लाख रूपैयाँ बिल मिलाएर भुक्तानी भएको छ। २०७८ वैशाखमा बेसिक कम्प्युटर तालिमका लागि भन्दै चार लाख रूपैयाँ सम्झौता गरी कार्यक्रम नगरी बिल मिलाएर भुक्तानी भएको हो।

कुनै कार्यक्रम नगरी चार लाख रूपैयाँ भुक्तानी भएपछि यो कुरा बाहिरिएको हो। गाउँपालिका उपाध्यक्ष पार्वती सिंहले एकलौटी आफ्ना कार्यकर्तालाई कार्यक्रम दिएर बिल मिलाई चार लाख रूपैयाँ स्वाहा गरेको स्थानीयले बताएका छन्।

गाउँपालिका उपाध्यक्ष पार्वती सिंहका अनुसार आफ्नो कोषबाट नभई गाउँपालिकाको अघिल्लो वर्षको भुक्तानी लिन बाँकी रकम रहेको बताइन्। उनले आफ्नो पालिकाका मान्छे भएकाले कार्यक्रम र्गन बजेट छुट्ट्याइएको तर कार्यक्रम पनि उनीहरूले गरेको बताइन्। उनले तिला कर्णाली कम्प्युटर ट्रेनिङ सेन्टरलाई जिम्मा दिइएको बताइन्।

कार्यक्रम गर्न सुनिल शाही, मिनराज न्यौपाने र वसन्त विष्टले प्रस्ताव गरेको र पालिकाले बजेट छुट्ट्याई कार्यक्रम नगरी रकम बिल मिलाएको पाइएको छ। तीन जनाको सहकार्यमा कार्यक्रम चलाउने भन्दै कार्यक्रम पारिएको थियो। अहिले एकैजनाले सबै रकम भुक्तानी गरेर लगेपछि विवाद भएको छ।

गाउँपालिका अध्यक्ष महेस केसीका अनुसार गाउँपालिकाले कसरी भुक्तानी गरेको हो भन्ने आफूलाई थाहा नभएको बताए। गाउँपालिकामा यो वर्ष यस्तो कार्यक्रमका लागि बजेट नभएकाले अघिल्लो असारको भुक्तानी गरेको हुन सक्ने बताए।

कुनै कार्यक्रम नगरी चार लाख रूपैयाँ भुक्तानी गरेर एकैजनाले लगेपछि प्रहरीमा समेत मुद्दा परेको छ। आफ्ना कार्यकर्ता रिझाउन पालिकामा कार्यक्रम नगरी फर्जी बिल र फर्जी विद्यार्थी संख्या राखी कार्यक्रम सकिएको डकुमेन्ट तयार गरिएको छ।

गत वर्षको भुक्तानी गर्न बाँकी रकमको बिल मिलाएर कार्यक्रम नगरी डकुमेन्ट राखेर आफूकहाँ आएकाले आफूले भुक्तानी गरी दिएको निमित्त कार्यकारी तेत्रराज शाहीले बताए। उनले भने-उपाध्यक्षमार्फत आएको कार्यक्रम हुनाले यो विषयमा कार्यक्रम गरेको प्रमाणपत्रसमेत गाउँपालिकामा पेस भएको बताए।

पालिकाले कार्यपालिकाको निर्णयबाट अनुमोदन गरेर टिप्पणीसमेत उठाएर लेखामा भुक्तानी दिनका लागि पठाएपछि लेखाले भुक्तानी गरेको लेखाशाखाले जनाएको छ।

प्रकाशित: ९ फाल्गुन २०७९ ००:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App