समाज

हराउँदै गयो गुन्द्री बुन्ने परम्परा

गुन्द्री बुन्दै गरेको तस्बिर गोल्डेन बुढा जुम्ला।

मङ्सिरको अन्तिम सातादेखि माघको पहिलो सातासम्म घरको आँगनमा पारिलो घामसँगै गुन्द्रीका तान तन्किएका हुन्थे।  ती तानमा सासू–बुहारी, आमा–छोरी वा दिदी–बहिनीले हतासोले ‘झ्याक–झ्याक’ गर्दै गुन्द्री कसिरहेका हुन्थे। तर अहिले यस्तो कतै भेटिन्।

गुन्द्री बुन्नका लागि कात्तिकमा धान भित्र्याउने वेलामै पराल छुटाइन्थ्यो। यसरी नै हरेक वर्ष गुन्द्री बुन्ने गरिन्थ्यो। तर, यो परम्परा भने केही वर्षदेखि बिस्तारै हराउँदै गएको छ। हिजोआज भने गुन्द्री बुन्ने चलन फाट्टफुट्ट मात्र भेटिन्छ। गाउँमा कहीँ कतै गुन्द्रीका तान देख्दा नयाँ पुस्तालाई नौलो लाग्न थालेको छ। बाबियोको डोरीको तानमा पराल मिलाएर राखेपछि एक–दुई दिनमै तयार हुने गुन्द्री अहिले कमै मात्रामा पाइन्छ। 

अचेल बाबियोको ठाउँमा जुट र प्लास्टिकका डोरी प्रयोग हुन थालेका छन्। बजारमा सजिलै पाइने प्लास्टिकका गुन्द्री र म्याटको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने चलन हराउँदै गएको छ। गाउँघरमा केहीले मात्र आफूलाई आवश्यक पर्ने गुन्द्री मात्र बुन्दै आएका छन्। तर, यस्तो अवस्थामा पनि जिल्लाको चन्दननाथ नगरपालिका– ३ की नन्दकली चाैलागाई भने पराले गुन्द्री बुनी रहेकी छिन्। 

उनका अनुसार हरेक वर्ष १० देखि १५ वटासम्म गुन्द्री बुन्छु। बाबियाको डोरी नबनाए पनि जुटको डोरी प्रयोग गरेर हरेक वर्ष गुन्द्री बुन्दै आएको उनले बताइन्।

‘गुन्द्रीले धेरै न्यानो बनाउँछ। खाटमा होस् वा पलङमा हामी यसलाई ओछ्याएपछि मात्र बिस्तारा लगाउँछौँ,’ उनी भन्छिन्, ‘अहिले पनि यो नओछ्याई निद्रै लाग्दैन। पाहुनालाई स्वागत गर्दा ओछ्याउने गाउँले गलैँचा भनेकै गुन्द्री यही हो।’

विवाह, व्रतबन्ध होस् वा अन्य सामाजिक संस्कारका काम गर्दा पनि गुन्द्री अति उपयोगी मानिन्छ। परालबाट बन्ने र यताउता लैजाँदा हलुका र झन्झट नहुने हुँदा यो अति नै उपयोगी हुने चाैलागाईले बताइन्। 

‘हाम्रो पालामा त बाबियो काटेर र बाबियो बाटेर तान लगाई गुन्द्री बुन्ने चलन थियो। अहिले त बाबियो पनि मासिँदै गयो। बाबियो, परालको गुन्द्रीको प्रयोग घट्दै छ,’ चाैलागाईले भनिन्, ‘पहिलेको तुलनामा अहिले धेरैले प्लास्टिकका गुन्द्री र म्याट प्रयोग गर्छन्।’

यस्तै गुन्द्री बुन्नका लागि समय लाग्ने हुँदा पछिल्लो पुस्ताले यो चलनलाई छाड्दै गएको सिंजा–३ कि जानकी हमाल बताउँछिन्। समय धेरै लाग्ने र झन्झटिलो मान्ने हुँदा अहिलेका छोरी–बुहारीले यसप्रति चासो नदिएको उनको भनाइ छ।

उनले भनिन्, ‘गुन्द्री बुन्नका लागि नयाँ पुस्तालाई सिक्ने चासो छैन। यसरी चासो नदिने हो भने हाम्रो परम्परा हराउँदै जान्छ। गाउँको भन्दा सहरिया उत्पादनले बढी ठाउँ ओगट्ने हुन्छ। तुलनात्मक रूपमा प्लास्टिकको गुन्द्री चिसो हुने र महँगो पनि पर्ने हुँदा यो चलनलाई जोगाउनुपर्छ।’

गुन्द्री बुन्ने तरिका बताउँदै हमालेले भनिन्, ‘हामीले धान झाटि सकेपछि लामो र दह्रो पराललाई गुन्द्री बुन्नकै लागि भनेर छुट्याइन्छ। हिउँदको वेला जब काम सकिन्छ, घरनजिकै समथर बारी, आँगनमा तलमाथि चार वटा किला गाडिन्छ। तलमाथिका किलामा नै दुईवटा काठ तेर्स्याइन्छ। काठको हतासोभित्र डोरी छिराइन्छ। डोरी काठमा बाँधिन्छ। सर्लक्क परेका लामो परालको त्यान्द्रा हाली हतासोले ठोकिन्छ अनि दायाँबायाँ हातैले बिट मारिन्छ। बिट मार्नका लागि पनि कला चाहिन्छ। यसरी नै गुन्द्री बुनिन्छ। लामो परालको गुन्द्री बुन्न सजिलो हुने र गुन्द्री राम्रो हुन्छ।’

सिंजा गाउँपालिका–५  का वडाध्यक्ष कृष्णबहादुर रोकायाका अनुसार विगतमा घरमा आएका पाहुनालाई नयाँ गुन्द्री निकालेर बस्न आग्रह गर्दा प्रतिष्ठाको विषय हुन्थ्यो। इज्जत हुन्थ्यो। तर, अहिले परालको गुन्द्रीको सट्टामा प्लास्टिकजन्य गुन्द्रीको प्रयोग बढ्न थालेको छ।

उनले भने, ‘यसको संरक्षण गर्नका निम्ति अहिलेका स्थानीय सरकारले जोड दिन जरुरी छ। संरक्षण र प्रवर्द्धनका निम्ति नयाँ पुस्ताले चासो दिनुका साथै पुराना पुस्ताले पनि पुर्ख्यौली सीप हस्तान्तरण गर्न जरुरी रहेको छ।’

नयाँ पुस्ताले परम्परागत वस्तुहरूको उत्पादनमा ध्यान नदिने हो भने हाम्रा मौलिक परम्परा तथा संस्कृतिको संरक्षण गर्न कठिनाइ हुने उनले बताए। 

प्रकाशित: १ फाल्गुन २०७९ १४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App