समाज

फुङलिङमा बहुउद्देश्यीय सभाहल बनाउने तयारी

ताप्लेजुङ सदरमुकाम फुङलिङमा बहुउद्देश्य सभा हल बनाउने गरी प्रारम्भिक छलफल सुरु भएको छ। प्रतिनिधिसभा सांसद योगेशकुमार भट्टराईको अगुवाइ तथा जिल्ला समन्वय समिति र फुङलिङ नगरपालिकाका जनप्रतिनिधि तथा अन्य सरोकारवाला कार्यालयका प्रमुखको सहभागितामा प्रारम्भिक छलफल भएको हो।

छलफलले आधुनिक, सुविधासम्पन्न र बहुउद्देश्यीय सभाहल बनाउन आवश्यक प्रक्रिया अघि बढाउने निर्णय लिएको सांसद भट्टराईले जानकारी दिए। भट्टराईले २०७४ सालमै यस्तो सभाहल बनाउन प्रस्ताव अघि सारेका थिए। तर त्यो प्रस्ताव अघि बढ्न पाएन।  

भट्टराईका अनुसार अहिले जिल्ला समन्वय समिति र फुङलिङ नगरपालिकासहित जिल्लाका सबै स्थानीय तह बहुउद्देश्यीय सभाहल बनाउने प्रस्ताव अघि बढाउनुपर्ने निष्कर्षमा छन्। सही उद्देश्य र दीर्घकालीन सोचका साथ बहुउद्देश्य सभाहल बनाउने प्रस्ताव अघि सारिएकाले यसलाई महत्त्वको योजनाको रूपमा अघि बढाउनुपर्ने भट्टराईको प्रस्ताव छ। अहिले कायम रहेको सामुदायिक भवन, जिल्ला समितिका पदाधिकारी तथा जिल्ला समन्वय अधिकारीले प्रयोग गर्ने निवास क्षेत्र र खाद्य गोदाम रहेको क्षेत्र समेत समेटेर बहुउद्देश्यीय र बहुआयामिक भवन बनाउन सकिने प्रस्ताव गरिएको छ।

यो क्षेत्रमा सबैभन्दा मुनि सवारी पार्किङ, त्योभन्दा माथिल्लो तलामा सामुदायिक भवन, त्यसपछि माथिल्लो तलामा प्रशासकीय भवन र प्रशासकीय आवास क्षेत्र, साना बजार र क्याफ्ट एरियाको व्यवस्थापन र अन्य विविध योजना सञ्चालन गर्न सकिने गरी बहुउद्देश्यीय सभाहल बनाउन सकिने प्रस्ताव गरिएको छ। यसो भएमा साँघुरो फुङलिङ बजार क्षेत्रको सवारी पार्किङ समस्या धेरै हदसम्म हल हुने र व्यवस्थित रूपमा प्रशासकीय भवनहरूसमेत सञ्चालनमा आउने विश्वास गरिएको छ।

फुङलिङ नगरप्रमुख अमिर मादेनले योजना अघि बढ्ने बिश्वास राख्दै यो ताप्लेजुङकै महत्त्व र गरिमाको केन्द्र बन्ने बताए। त्यो क्षेत्रको भूगोलको प्रारम्भिक अवस्थाले बहुउद्देश्य सभाहल बनाउन सकिने अवस्था देखाएको र थप प्राविधिक अध्ययन र बृहत् छलफल गरेर निष्कर्षमा पुग्ने सांसद भट्टराईले बताए। उनले प्रक्रिया अघि ढाउन सकिन्छ कि सकिँदैन भनेर प्रारम्भिक छलफल भएको र यसबारे जिल्लाभरीका स्थानीय तहसहितका सम्बन्धित सबै पक्षसँग बृहत् छलफल मार्फत योजना अघि बढाउन खाँका तयार हुनेसमेत जानकारी दिए। 

प्रकाशित: २७ माघ २०७९ ०१:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App