समाज

आर्थिक अभावका कारण पर्व धान्नै मुस्किल

ललितपुर- ३ सय ७६ वर्षअघि राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको कात्तिक नाच आर्थिक अभावको चपेटामा परेर छोट्टिँदै गएको छ। ललितपुरको चर्चित परम्परागत कात्तिक नाच वर्षेनी कात्तिक महिनामा प्रदर्शन गरिन्छ।

सिद्धिनरसिंहले ५ दिन नचाउने गरेको कात्तिक नाचमा उनका छोरा श्रीनिवास मल्लले सातदिने लोक नाटक (पाठ प्याखः) थपेर १५ दिन पुर्‍याएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए। त्यसपछि श्रीनिवासका छोरा नरेन्द्र मल्लले १५ दिने उषाहरण र माधवाणल नाच थप गरी कात्तिक नाच २७ दिनसम्म नचाइने गरेको बुढापाकाको भनाइ चित्रकारले उद्धृत गरे।

चित्रकार भन्छन्, 'विसं २००६ सालसम्म नाच २७ दिन नै चलेको थियो। तर सात सालको क्रान्तिपछि नाच संकटमा पर्‍यो। त्यसबेला भएका झडप, असुरक्षा, र आर्थिक अभावले नाच २ दिनमा सीमित भयो। छोट्टिएको नाच २०३८ सालमा कात्तिक नाच प्रबन्ध समितिको पहलमा ८ दिन बढाइएको थियो।'

विसं २०७० सालदेखि नाच पुनःस्थापना गर्न समितिले ४ दिन थपेर १२ दिन बनाएको समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारी दिए। उनले भने, 'हामीले संस्कृति जीवन्त बनाउन ८ दिन चल्ने नाच १२ दिन पुर्‍यायौं। तर अहिले आर्थिक अभावले नाच धान्न अत्यन्त कठिन भएको छ, ०६७ सालसम्म नाच सञ्चालन गर्न संस्कृति तथा पर्यटन मन्त्रालयले करिब १ लाख ५० हजार रुपैयाँ दिन्थ्यो। मन्त्रालयले पनि सघाउन छाडेको ६ वर्ष भइसक्यो।'

शाक्यका अनुसार ६ वर्ष अघिसम्म मन्त्रालयको सहायता र स्थानीयबाट रकम संकलन गरी नाच सञ्चालन गरिन्थ्यो। पहिलेजस्तै सहयोग दिन मन्त्रालयसँग बारम्बार अनुरोध गरे पनि मन्त्रालयले सघाएको छैन।

'नाच सञ्चालन गर्न २ वर्षअघि ललितपुर उपमहानगरपालिकाले करिब १ लाख रुपैयाँ सहयोग गर्ने सम्झोैता समितिसँग गरेको थियो। हामीले बारम्बार ताकेता गर्दा पनि उमनपाले चासो देखाएको छैन। यहाँको मौलिकता र संस्कृति बचाउन कुनै पनि सरोकारवाला निकायले चासो देखाएका छैनन्,' चित्रकारले भने। उनले ६ वर्षयता चन्दाको भरमा नाच सञ्चालन गर्नु परेको बुधबार नागरिक बताए। 'रकम अभावले नाच जीवन्त हुन छाडेको छ, संस्कृति नमरोस् भनेर मात्र अहिले नाच सञ्चालन गरिरहेका छौं।'

यसबारे ललितपुर उपमहानगरपालिकाको सम्पदा संरक्षण शाखा प्रमुख चन्द्रशोभा महर्जनले नाचलाई आर्थिक सहयोग गर्नेसम्बन्धमा टुंगो नलागेको बताइन्। उनले भनिन्, 'हामीले यहाँका मौलिक संस्कृति जीवित राख्न सघाउने भनेका छांै। तर यस्ता संस्कृति यहाँ अनगिन्ति छन्। एउटालाई मात्र सघाउन मिल्दैन, सबैलाई सघाउनुपर्छ। त्यसैले छलफल गरेरमात्र निर्णय गर्छौं।'

त्यस्तै बाह्रदिने नाच विधिपूर्वक सञ्चालन गर्न बाजा, कलाकार खर्च र शृंगार लगायतमा ४ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ। तर अहिले चन्दाबाट उठेको रकमले संस्कृति जसोतसो धानिँदै आएको छ। तर यति लामो नाच सञ्चालन गर्न रकम पर्याप्त नभएको र कठिनाइपूर्वक चलेको समितिले जनाएको छ।

परम्परा अनुसार कलाकारलगायत नाचमा प्रयुक्त सबै सामाग्री  ६/६ महिनामा फेर्नुपर्ने परम्परा रहे पनि ३० वर्ष पुराना सामान मर्मत गर्दै प्रयोग गरिरहेको समितिका कोषाध्यक्ष शाक्यले जानकारी दिए।

कात्तिकमा हुने नाचमा उषाहरण लीला, सुदामा, लोक नाटक, माधवाणल, जलशयन, वराह अवतार, नृसिंह अवतारलगायत १० वटा नाच प्रदर्शन गरिन्छ। यसअघि १७ वटा नाच रहेकोमा अहिले बौद्ध लीला, दधि लीला, वस्त्रहरणलगायत ७ वटा नाच लोप भइसकेको अध्यक्ष चित्रकार बताउँछन्।

नाच सुरु हुनुअघि ललितपुरका बासिन्दा जोसजाँगरहीन भई अल्छी भएपछि राजा सिद्धिनरसिंह मल्लले ज्योतिषीसँग सल्लाह लिँदा राज्यमा 'मघाह' दोष परेकोले राज्य सञ्चालनसमेत कठिन भएको बताए। दोष निवारण गर्न ज्योतिषले नरबली दिन सुझाए। त्यसै बमोजिम राजाले नरबली दिएपछि ललितपुरका बासिन्दा जोसिला भएको किंवदन्ती छ। पछि सिद्धिनरसिंहले नरबली दिनु उचित नभएको भन्दै मुकुट र हिरण्यपात्र बनाई कात्तिक नाच सुरु गरेको किंवदन्ती रहेको अध्यक्ष चित्रकारले बताए।

६/६ वर्षमा नाचलाई नगर परिक्रमा गराउने परम्परा भएकाले यस वर्ष समितिले भदौ १५ गते नगर परिक्रमा गराएको थियो। तर कात्तिकमा हुने नाच आवश्यक रकम अभावमा कहिले सुरु गर्ने निर्णय नभएको समितिले जनाएको छ। 

प्रकाशित: ३१ भाद्र २०७३ ०१:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App