समाज

भूकम्पले बाजुरा र बझाङका दर्जनौ घरमा क्षति: १ को मृत्यु , एक घाइते

तस्बिर: कृष्ण ओलि/ नागरिक

बाजुराको मेला केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पले बाजुरा र बझाङमा दर्जनौ घरमा क्षती पुगेको छ। बाजुराको गौमुल गाउँपालिकामा भूकम्पका कारण २ घर भत्केका छन्।

भूकम्पका कारण ढुङ्गा लागेर अन्दाजी ३५ वर्षकी जमुना रोकायाको घटना स्थलमै मृत्यु भएको छ भने सोही पालिका १ अम्लिसमा भूकम्पकै कारण माथिबाट पहिरो खस्दा रामदल बोहोराका ४० बढी भेडा मरेको र एक जना घाइते भएको स्थानीय दिपेन्द्र रोकायाले बताएका छन्।

बाजुरामा दर्जनौ घरमा क्षती पुगेको स्थानीयले बताएका छन्। यसैगरी बझाङमा पनि घरहरु चर्केका छन्। बझाङको सदरमुकाम चैनपुरमा रहेको अस्पताल, शसस्त्र प्रहरिको गुल्मको भवन समेत चर्केको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक अशोक सिङले बाजुरा र बझाङ्गमा केही  घर भत्केको र केही घर चर्केको बताएका छ्न्।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो। सुदूरपश्चीम प्रदेशका सबै जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो।

धनगढीमा समेत भूकम्पले हल्लाएपछी स्थानीय डरले घर, पसल र कार्यालय बाट बाहिर निस्केका थिए। भारतको राजधानी दिल्लीमा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ। विज्ञहरुले सुदूरपश्चिममा भूकम्पको उच्च जोखिम रहेको बताउदै आएका छन्।

गत कार्तिक २२ गते राती २ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज वरपर केन्द्रबिन्दु बनाएर ६।६ म्याग्निट्यूडको भूकम्प जादा डोटि पुर्बिचौकी गाउपालिकामा ६ जनाको ज्यान गएको थियो।

प्रकाशित: १० माघ २०७९ ११:३४ मंगलबार

भूकम्प