समाज

कर्मचारी मिलन केन्द्र ताप्लेजुङमा सर्वसम्मत नयाँ नेतृत्व

कर्मचारी मिलन केन्द्र ताप्लेजुङको ११ औं साधारणसभा तथा अधिबेशनले सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई अध्यक्ष रहेको ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ।

मिलन केन्द्रका सल्लाहकार संयोजक एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले गरेको कार्य समितिका पदाधिकारी तथा सदस्यको नामलाई सभाले सर्वसम्मत पारित गरेको थियो।

कार्य समितिको उपाध्यक्षमा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख प्रेम सुब्बा,सचिवका जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा सुरेन्द्रराज दाहाल,सहसचिवमा ताप्लेजुङ जिल्ला अस्पतालका दन्त चिकित्सक डाक्टर रञ्जना खड्का र कोषाध्यक्षमा जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख नवराज गिरी रहेका छन्।

समितिका सदस्यहरुमा मालपोत कार्यालयका निमित्त प्रमुख निर्मल शेर्पा,नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखाका प्रवन्धक बिनोद गुरुङ,शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई,जिल्ला निर्वाचन अधिकारी दिनेश खनाल र घरेलु कार्यालय ताप्लेजुङका निमित्त प्रमुख युवराज घोर्साइ रहेका छन्।

मिलन केन्द्रका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिदैं प्रजिअ पोखरेलले कर्मचारी–नागरिक सम्वन्धलाई थप मजवुत बनाई पेशागत धर्मलाई इमान्दारितापूर्वक निर्वाह गर्न र सेवाग्राहीमैत्री व्यवहारलाई थप रचनात्मक बनाउन मिलन केन्द्रले संस्थागत भूमिका निर्वाह गर्ने बताए।

मिलन केन्द्रका सल्लाहकार एवम् जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी)कैलाश राईले सुसुप्त अवस्थामा रहेको मिलन केन्द्रलाई क्रियाशिल गराएर संस्थागत क्षमता अभिवृद्धि गर्ने प्रयास भएकोमा प्रसन्नता व्यक्त गरे। मिलन केन्द्रको नवनिर्वाचत कार्य समितिको पदावधि दुई वर्षको हुने छ।  

प्रकाशित: ८ माघ २०७९ ०९:२४ आइतबार

कर्मचारी मिलन केन्द्र ताप्लेजुङ