समाज

फराम बुझाउनै सास्ती

काठमाडौं- साँझ परेपछि  ललितपुर, एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय परिसर चकमन्न र सुनसान हुन्छ। तर राति ८ बजेपछि यो शान्ति खल्बलिन्छ र परिसरभित्र बिस्तारै मानिसको गाइँगुइँ र चहलपहल सुरु हुन्छ। परिसरभित्र पस्ने सबै मूलद्वारबाट नभएर पर्खाल नाघेर परिसरभित्र पसिरहेकाको संख्या बढ्दै जान्छ। रात जति छिप्पिँदै जान्छ, भीडभाड पनि बढ्दै जान्छ।

यो भीडभाड चालक अनुमतिपत्रको फारम बुझाउनका लागि हो। यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र वितरण व्यवस्थित गर्न नसक्दा सेवाग्राही रातबिरात कार्यालयमा जाग्राम बस्न बाध्य छन्। कार्यालयको प्रवेशद्वारमा ताल्चा लगाए पनि पर्खाल नाघेर परिसरभित्र पसेकाहरू रात लाइनमै बिताउँछन्।

लाइसेन्स फारम बुझाउन बिहान ६ बजे नै कार्यालय खुल्ने भएकाले सेवाग्राही रातभर लाइनमा उभिने गर्छन्। बिहानै फारम बुझाउन टोकन वितरण हुन्छ। यसरी रातभर लाइनमा बस्दा पनि सबैले फारम बुझाउन पाउँदैनन्।

कार्यालयले दैनिक कार्यालय २००–२५० जनाको ट्रायल हुने व्यवस्था छ। तर फारम बुझाउनेको लाइन भने दैनिक ५००–६०० हुने गर्छन्। फारम बुझ्न नसकिने देखेपछि कार्यालयका कर्मचारीले टोकन वितरण बन्द गरिदिन्छन्।

कतिपय अवस्थामा लामो समय लाइन बसे पनि कर्मचारीले कहिले सफ्टवेयर बिग्रिएको त कहिले कर्मचारी बिदामा छ भनेर त्यतिकै फर्काउने गरेको गुनासो सेवाग्राही गर्छन्। सिराहाका श्यामकिशोर मण्डलले तीनदिन धाउँदा पनि टोकन पाउन नसकेको बताए। 'पहिलो दिन अलि ढिला भएछ, दोस्रो दिनदेखि राति नै आएर लाइन बसेँ। तर टोकन लिएर फारम बुझाउने बेलामा सफ्टवेयर बिग्रिएको भनेर बुझ्दै बुझेनन्,' मण्डलले भने।

कार्यालयमा विभिन्न कामले पुगेका अधिकांशका गुनासा यस्तै हुन्छन्। 'एक सातामा तीन पटकसम्म सफ्टवेयर बिग्रिएको भन्दै फारम बुझ्दैनन्,' कार्यालय परिसरमा भेटिएका एक सेवाग्राहीले भने, 'बिग्रियो भनेको दिन दलालले संकलन गरेका फर्म दर्ता गर्दा रहेछन्।'

सेवाग्राहीहरूका अनुसार चालक अनुमतिपत्र बनाउने प्रक्रियामा टोकन लिन, फारम बुझाउनदेखि लिखितमा पास गराइदिन्छु भन्दै दर्जनौं दलाल कार्यालयमा घुमिरहेका हुन्छन्। 'धेरै पटक दलालहरू आएर ५ हजार देऊ लाइसेन्स बनिहाल्छ, धेरैले यति पैसा देऊ भन्छन्। तर आफू नियम अनुसार परीक्षा उत्तीर्ण गरेर अनुमतिपत्र लिने पक्षमा छु,' परिसरमा भेटिएका रामप्रवेश जैसवालले भने।

नवलपरासीका गोविन्दप्रसाद चौधरीले पटकपटक धाउँदा पनि फारम बुझाउन नपाएर झन्झट मानेर जानै छोडे। रातभर लाइन बसेर टोकन लिए पनि फर्म बुझाउन पनि उत्तिकै झन्झटिलो भएको गुनासो चौधरीको छ।

फर्म बुझाउन, राजस्व तिर्नदेखि परीक्षाको प्रवेशपत्र लिनसमेत उत्तिकै लामो लाइनमा बस्नुपर्छ। यसबाट महिलाले अझै बढी सास्ती खेप्नुपरेको छ। 'सबै जना बुझाउने झ्यालमै कोचाकोच गरेर बस्छन्, हामीलाई भीडमा ठेलमठेल गर्दै जान असम्भव हुन्छ,' लाइनमा उभिएकी एक युवतीले सुनाइन्।

यातायात व्यवस्था विभागका निर्देशक चन्द्रमान श्रेष्ठले भने सेवाग्राहीलाई धेरै अप्ठेरो परेको भन्दै व्यवस्थित गर्ने प्रयास भइरहेको बताए। 'उपत्यकामा चालक अनुमतिपत्र लिन अत्यधिक चाप छ,' उनले भने, 'पहल भइरहेको छ। समस्याको समाधान हुन्छ।'

विभागका प्रवक्ता बसन्त अधिकारीले काठमाडौंमा ट्रायल सेन्टरको कमी भएकाले कार्यालयमा सेवाग्राहीको दैनिक चाप धेरै हुने बताए।

उनका अनुसार यातायात कार्यालयले भाडामा लिएको ट्रायल सेन्टरमा दैनिक २ सयदेखि २ सय २५ जनाको ट्रायल लिनसक्ने क्षमता छ। तर फारम बुझाउने दैनिक ५००–६०० जना हुन्छन्। 'यस्तो भएपछि चाप भइहान्छ र असहज पनि,' उनले भने। उपत्यका बाहिर पनि धेरै ठाउँमा चारपांग्रे गाडीको ट्रायल सेन्टर नरहेकाले पनि काठमाडौंमा सेवाग्राहीको चाप बढी हुने कार्यालयको भनाइ छ।

चाप न्यून गर्न उपत्यकामा ट्रायल सेन्टर थप्नेबारे छलफल भइरहेको प्रवक्ता अधिकारीले बताए। 'उपत्यकाबाहिर पनि ट्रायल दिन पूर्वाधार विस्तार र जनशक्ति थपेर चाप घटाउने तयारी हुँदैछ,' उनले भने। 

प्रकाशित: ३२ श्रावण २०७३ ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App