समाज

वीरगन्ज उपमाहानगरपालिको निर्णयबिरुद्ध व्यवसायी सडकमा

वीरगन्ज– वीरगन्जको पुरानो मिना बजारमा निर्मित नयाँ व्यवसाययिक भवनको ठेक्का लगाउन उपमहानगरपालिकाले बोलपत्र आह्वान गरेपछि त्यसक्षेत्रमा व्यवसाय गर्दै आएका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्। मिना बजारमा हाल व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई उक्त नवनिर्मित भवनको स्टल दिन प्राथमिकता दिने पुरानो सहमतिविपरीत उपमहानगरपालिकाले ठेक्का प्रक्रिया अघि बढाएको भन्दै उनीहरुले विरोध जनाएका हुन्।

तरकारी तथा फलफूल व्यवसायी संघ र माछामासु व्यवसायी संघमाआबद्ध व्यवसायी आन्दोलनमा उत्रिएका हुन्। आठ दिनअघि टेन्डर खोल्ने बेला ठेकेदारहरु बीच बलमिच्याइँ बढेपछि ठक्का प्रक्रिया रोकिएको थियो। त्यसदिन पनि उनीहरुले पुरानो भवनमा आफूहरुलाई ठाउँ दिन चेतावनी दिएर फर्केका थिए।

उनीहरुको मागलाई नगरपालिकाले महत्व नदिई अर्को टेन्डर अह्वान गरेको भन्दै आफूहरु सडकमा ओर्लिनु परेको तरकारी तथा फलफुल व्यवसायी संघका सचिव संजय वर्णवालले बताए। जुलुसका सहभागीले उपमाहानगरपालिका कार्यालय घेराउ गरी कार्यकारी अधिकृतबिरुद्ध चर्का नाराबाजी गरेका छन्।

सहमतिअनुसार आफुहरुलाई मिना बजारमा ठाउँ उपलब्ध गराएपछि बाकी रह्ने हिस्सालाई मात्र ठेक्का लगाउन हुने उनीहरुको भनाइ छ। पुरानो मिना बजारको ठाउँमा उपमाहानगरपालिकाले ९१ कोठा भएको आधुनिक बजार भवन निर्माण गराएको छ।

 

प्रकाशित: २७ श्रावण २०७३ १०:३५ बिहीबार

वीरगन्ज उपमाहानगरपालिको निर्णयबिरुद्ध व्यवसायी सडकमा