समाज

शुल्क वृद्धिविरुद्ध यातायात व्यवसायी आन्दोलित

पार्किङ शुल्कवृद्धिको विरोधमा व्यवसायीले इलाम बजारमा सवारी साधन बन्द गराएपछि बिहीबार बजारभन्दा करिब डेढ किलोमिटर टाढा धोविधारामै रोकिएका सवारी । तस्बिर: भीम चापागाइ

इलाम–    स्थानीय स्वायत्त शासन नियमावलीको ‘अपव्याख्या’ गर्दै इलाम नगरपालिकाले सवारी साधनको पार्किङ शुल्क बढाएको भन्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन्। नगरपालिकाले निर्णय नसच्याएसम्म आन्दोलन नछाड्ने जनाएका व्यवसायीले बिहीबार इलाम बजार (सदरमुकाम)मा सवारी साधन चल्न दिएनन्।

नगरपालिकाले चालू आर्थिक वर्ष २०७३÷०७४ मा लागू हुनेगरी सवारी साधनको पार्किङ शुल्क गतवर्षहरूभन्दा दोब्बर बनाएको भन्दै ट्याक्सी, जिप, बस, ट्र्याक्टर र पिकअप व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले बुधबार नै संयुक्त विज्ञप्ति जारी गरी बिब्ल्याँटेतिरबाट आउने सवारी इलाम बजारभन्दा करिब डेढ किलोमिटरको धोविधारा तथा माइखोलातिरबाट आउनेलाई त्यति नै टाढाको जिरो किलोमिटरसम्म मात्र आउन दिएका हुन् । बजार आइपुग्नुअघि नै सवारी साधनले ओरालेपछि सयौं यात्रु सडकमै अलपत्र छन् । केही यात्रु भने सकी–नसकी पैदलै बजार आउन बाध्य छन् । गाडीमा बजारसम्म सामान लिएर आउने यात्रु डेढ किमी टाढैबाट सामान ओरालेर बोक्नुपर्दा ठूलो समस्यामा छन् ।

 नगरपालिकाले गतवर्ष जिल्लाबाहिर जाने गाडीलाई ५० रुपैयाँ लिने गरेकामा यो वर्ष ८७ रुपैयाँ ७५ पैसा लिइरहेको छ । बस, ट्रकलगायत ठूला गाडी र नेपाली पर्यटक सवारीलाई गतसाल ८५ रुपैयाँ लिने गरेकामा चालू वर्ष १ सय १३ रुपैयाँ पु¥याइएको छ । भारतीय गाडीलाई १ सयबाट बढाएर २ सय २६ रुपैयाँ, लोकल भ्यानहरूलाई २० बाट ३३ रुपैयाँ ९० पैसा, गाउँ जाने ट्र्याक्टर, पिकअपलाई ५० बाट बढाएर ८५ रुपैयाँ लिइरहेको छ । कुद्ने दूरी हेरेर पार्किङ शुल्क लिने व्यवस्था ऐनले नगरे पनि नगरले भने दूरीलाई समेत आधार मानेर शुल्क लिइरहेको व्यवसायीको गुनासो छ ।

 नगरपालिकाले स्थानीय स्वायत्त शासन नियमावलीको १ सय ४३, अनुसूची १९ को बुँदा २ अनुसार नगर परिषद्को निर्णयबाट पार्किङ शुल्कदर लगाएको दाबी गरेको छ । तर, व्यवसायीले नगरले नियमावलीको अपव्याख्या गरी यातयात व्यवसायीको ढाड सेक्नेगरी शुल्क असुल्न थालेको आरोप लगाएका छन् । अनुसूची १९ को बुँदा १ मा ‘नगरपालिकाले आफूले व्यवस्था गरेका सवारी पार्कमा पार्किङ गरिएका बस, मिनिबस, ट्रक, ट्र्याक्टरमा पार्किङ गर्ने समयको आधारमा एक पटकमा ४० रुपैयाँ नबढाइ पार्किङ शुल्क लिन सक्ने’ व्यवस्था छ । त्यही अनुसूचीको बुँदा २ मा ‘नगर आफूले निर्माण गरी सञ्चालन गरेको आधुनिक सुविधासम्पन्न बसपार्कमा नगरपरिषद्ले निर्धारण गरेको पार्किङ शुल्क लिन सक्ने’ उल्लेख छ ।

नगरले बुँदा २ को व्यवस्था लागू गरेको दाबी गरेपनि व्यवसायी त्यसमा सन्तुष्ट छैनन् । ‘व्यवस्थित पार्किङ नभइ सडकमै पार्किङ शुल्क उठाएर सुविधासम्पन्न भन्न खोजिएको छ,’ पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी संघ अध्यक्ष गृष्म सुब्बाले भने, ‘नियमावलीमा भएको व्यवस्थाकै अपव्याख्या गरी पार्किङ शुल्क निर्धारण गरिएकोप्रति हाम्रो विरोध हो ।’

परिषद्को निर्णय पुनर्विचारका लागि पटक–पटक आग्रह गर्दा पनि कानुनको अपव्याख्या गर्दै नगरपालिकाले मनोमानी ढंगले पार्किङ शुल्क बढाएको उनले बताए । नगरको निर्णयविरुद्ध पूर्वाञ्चल जिप व्यवसायी संघ, नेपाल रात्रिबस व्यवसायी संघ, ट्र्याक्टर व्यवसायी संघ, इलामेली यातायात ट्र्याक्टर मजदुर संघ, पिकअप व्यवसायी संघ, पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी संघ इलाम, बिब्ल्याँटे, फिक्कल र गोलाखर्क शाखाले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै आफूहरूको माग पूरा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइसकेका छन् ।

इलाम नगरपालिकाले २०औं नगरपरिषद्बाट चालू आवका लागि नगरका विभिन्न व्यवसाय र क्षेत्रमा गतको भन्दा ५ सय ६६ प्रतिशतसम्म कर र शुल्क बढाएको थियो । नगरको निर्णयविरुद्ध व्यवसायीले आन्दोलन गरेपछि ‘२१औं विशेष नगरपरिषद्’बाट करको दर हेरफेरसमेत गरेको थियो । तर, त्यसपछि पनि व्यवसायको वर्गीकरणका आधारमा कर पुनर्निर्धारण गरिएकाले कतिपय व्यवसायीले २०औं नगर परिषद्ले तोकेभन्दा अझ बढी कर तिर्नुपर्ने भएको छ ।
    

 

प्रकाशित: २७ श्रावण २०७३ ०८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App