हिन्दू धर्मशास्त्रअनुसार सौरमासका आधारमा मकर संक्रान्ति (माघे संक्रान्ति) पर्व आइतबार देशभर स्नान, दान, जप, ध्यानआदि गरी मनाइँदै छ। ज्योतिष शास्त्रका आधारमा सूर्य धन राशिबाट मकर राशिमा प्रवेश गर्ने र उत्तरायण सुरु हुने भएकाले यस दिनलाई मकर संक्रान्ति पर्वका रूपमा मनाउने गरिएको हो। माघे संक्रान्तिदेखि साउने संक्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो ६ महिनाको समयलाई उत्तरायण भनिन्छ। हिन्दू धर्म संस्कृतिअन्तर्गत पर्ने धेरैजसो शुभकार्य (देवकार्य) उत्तरायणमा गरिने हुनाले उत्तरायणको पहिलो दिनलाई महत्वपूर्ण रूपमा लिने गरिएको छ। यस दिन बिहानै उठी जलाशय, नदी वा खोलाको संगम वा त्रिवेणीधाममा गई स्नान, दान, जप, ध्यान, पूजापाठ गर्नाले पुण्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ।
यस दिन घिउ, चाकु, तिलका परिकार, तरुल तथा खिचडी आदि परिकार बनाएर खाने चलन पनि छ। यी खानाले त्रिदोष (आयुर्वेदका अनुसार वात, पित्त र कफ) नाश हुने धार्मिक विश्वास छ। धर्मसिन्धुमा माघे संक्रान्तिको दिन घिउ, चाकु, तिलका परिकार, खिचडीआदि नखाने, दान नगर्ने, जलाशयमा गई स्नानदान नगर्ने, भगवान्को ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ।
त्यसैले माघे संक्रान्तिको दिन घिउ, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायत परिकार खाने चलन रहिआएको हो। यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले पनि नेपाली समाजमा चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने चलन चलेको हो। यस दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास पनि छ। त्यसैले स्नानपछि शरीरमा तिलको तेलले मालिस गर्ने चलन छ। यसो गर्दा शरीरका नाडी, स्नायुमण्डल र हड्डी सुदृढ र स्वस्थ रहने आयुर्वेदमा उल्लेख छ।
मकर सङ्क्रान्तिका अवसरमा वराहक्षेत्र (कोकाहा–कोसी संगम), देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत विभिन्न धार्मिक स्थल तथा जलाशयमा भक्तजनहरूको मकर स्नानका लागि भिड लाग्ने गरेको छ र ती क्षेत्रमा भव्य मेलासमेत लाग्ने गरेको छ।
माघे सङ्क्रान्तिको दिनलाई थारु समुदायले माघी पर्व (नयाँ वर्ष) का रूपमा मनाउँदै आएका छन्।
प्रकाशित: १ माघ २०७९ ००:२३ आइतबार