समाज

चिसोले तराईको जनजीवन प्रभावित

पश्चिम तराईको आकाश कहिले खुल्ने हो थाहा छैन। एक दिन, दुई दिन गन्दै सात दिन नाघ्यो। शितलहरको सिरोटोले विपन्न बस्तीका कच्ची घरको भित्ता छेडेको छ। 

घर भित्रै ठिहिले सकस दिइरहेको छ। बेसाहाराको मुटु थरथरी काप्दै छ। ज्येष्ठ नागरिक दुःखमा छन्। निमुखा सर्वसाधारण शरीर ढाक्ने न्यानो कपडा नहुँदा सडकमा देखिन्छन्।

रोजगार युवाको रोजगार खोसिएको छ। बजारमा किनमेल बन्द जस्तै छ। घर बाहिर निस्कन आँट गर्नेको संख्या घट्दो छ। सडकमा सवारी साधन पातलिएको देखिन्छ। पश्चिम तराईमा चलिरहेको शितलहरको कहरले दिएको पिडा झेल्न विपन्न बस्ती बढी विवश छ।

कार्यक्रम, गोष्ठी, भिआइपी स्वागतमा गुड्ने  प्रहरी सहितको सरकारी गाडी गुलरिया–७ स्थित चौगुर्जी गाउँ तर्फ शनिबार मोडिन्छ। प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला र एसपी वीरेन्द्र बहादुर शाहीको गाडी देख्दा मधेसी बस्तीमा एक किसिमको तरङ्ग फैलिएको अनुहारमा झल्किन्थ्यो। तर बास्तोला र शाही भिड नियन्त्रण गर्ने वा कसैलाई पक्राउ गर्न नभई  बेग्लै उद्देश्य रहेको थाहा पाएपछि बस्तीका मान्छे खुल्छन्। जाडोले थरी थरी कापेका रज्जक गोडिया भन्छन्,‘ईस साल वचप तो,दोसर साल त वचचाईव।’अवधि लवजमा बोलेको रज्जकले अहिले वाचे भने,अर्को साल बाचिहाल्छु भन्दा भन्दै सन्नाटा छाउँछ।

त्यही बिचमा प्रहरी नायव निरक्षक भीम वलिले फटाफट नाम पढ्दा बस्तीमा ऊर्जा थपिन्छ। प्रहरीका एसपी शाही घरको ढोका खोल्दै कम्बल दिन पुग्छन्। प्रजिअ बास्तोलाले बस्ती बिचमा भेटिएका अशक्तलाई भेटेर न्यायो कपडा सहितको अभिवादन गर्छन्। बस्तीमा प्रशासन पसेर गरेको न्यानो अभिवादनलाई सहर्ष स्वीकार्छन। नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष कृष्ण गौतमको आवागमनले कार्यक्रमको ओझ बढ्छ। गौतमले न्यानो कपडा सहितको न्यानो अभिवादन टक्राउँछन्। यत्तिकैमा यो कार्यक्रम सम्पन्न हुँदैन। प्रहरीको गाडी अर्को बस्ती तर्फ विपन्न खोज्न सोझिन्छ। दिनभरि हजुरहरूलाई भेट्ने र कुद्ने भन्ने शब्द एसपी शाहीले सुनाउँदा विपन्न बस्तीका अर्का राम प्रकाश लोधको आँखा भरी आँसु छचल्किन्छ।

प्रहरीले शितलहरले छेक्न नसक्ने बस्तीमा अति विपन्नको तथ्याकं संकलन गरेको छ। विपन्न बस्तीमा गरिएको सानो सहयोगले मलहम लाग्ने हुँदा यस कार्यमा लागेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए।‘वास्तविक पीडित सम्म पुग्ने लक्ष्य हो’बिपद व्यवस्थापन अध्यक्ष समेत रहेका प्रजिअ वास्तालाले भने,‘प्रहरीले ल्याएको रेकर्डमा राजनितक स्वार्थ बाझिएको हुँदैन,सहयोग जुटाएर मलहम लगाउन खोजेको हो।’

प्रहरी र प्रशासन शब्द सुन्ने बित्तिकै अप्रिय घटनासँग साइनो जोडिएको झल्को आउँछ। र,प्रहरीको नाम सुन्दा लडाई, झगडा, बबाल, हुलहुज्जत, मुद्दा, मामिला जस्ता कुरा मनमा खेल्छन्। आमा र बाले समेत प्रहरी वोलाईदिउँ ? प्रहरी पक्रेर, कुटछ, पिटछ, थुन्न लैजान्छ जस्ता शब्द बाणले गर्दा वयस्क देखि पाको उमेरमा पुग्दा समेत त्यसको असर मेटिँदैन।  

प्रहरीको जिम्मेवारी अपराधी नियन्त्रण, अनुसन्धान र शान्ति–सुरक्षा कायमजस्ता क्षेत्रमा मात्रै सीमित छैन भन्ने चेत नहुँदा प्रहरी समाजभन्दा परको जस्तो देखिन्छ। घरेलु हिंसा, लागु औषध दुव्यर्सनविरुद्ध सचेतना, अपराध नियन्त्रण, उद्धारमा प्रहरीले अग्रणी भूमिका हुने भेउ पाउँदैनन्। सडकमा अलमलिएका यात्रुलाई नजिकैको प्रहरीले आफूलाई सबैभन्दा भरपर्दो सहयोग गर्न सक्छन् भन्नेसम्म भेउ नपाउँदा दुःख पाउने धेरै छन्।

यही आवश्यकतालाई महत्त्वपूर्ण ठानेको प्रहरी र प्रशासनले अहिले नागरिकसँगको दूरी घटाएको छ।जिल्लामा प्रशासनले ग्रहण गर्ने अभिभाकत्व सेवाग्राही खुसी छन्। जिल्ला प्रहरीले प्रत्येक साता कुनै न कुनै विद्यालयका विद्यार्थीका लागि प्रहरी के हो, प्रहरीले दिने सेवा कस्तो हो, प्रहरीबाट कसरी सहयोग लिन सकिन्छ भन्नेजस्ता विषयमा कक्षा सञ्चालन गर्ने गरेको छ। बाल्यकालमा पुलिस भनेको डरलाग्दो व्यक्ति हो भनेर डराउँन दिने चलनको एसपी शाहीले स्मरण गरे।

प्रकाशित: २३ पुस २०७९ १३:०२ शनिबार