समाज

पोखरेली पुलकित: अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा, अन्तर्राष्ट्रिय उडान भने भएन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका अवसरमा आइतबार विमानस्थल परिसरमा भेला भएका पोखरेली। तस्बिर: उमेश पुन/नागरिक

अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। झन्डै पाँच दशकदेखि पोखरेलीले देखेको सपना अन्तर्राष्ट्रिय विमानस्थल आइतबार औपचारिक रूपमा सञ्चालनमा आएको हो। विमानस्थल सञ्चालनसँगै पहिलो दिन पोखरेलीले अन्तर्राष्ट्रिय उडान पनि चाहेका थिए। तर त्यो चाहना भने पूरा हुन सकेन।

लामो संघर्षपछि आफ्नै आँगनमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि पोखरेली निकै खुसी देखिए। विमानस्थल उद्घाटनमा हजारौं पोखरेली सहभागी भए। त्यही खुसीयालीमा आइतबार पोखरा महानगरपालिकाले शिक्षण संस्थामा बिदासमेत दिइएको थियो। विमानस्थल पाएको खुसीयालीमा हजारौं पोखरेली झाँकी, र्‍यालीसहित विमानस्थल परिसरमा भेला भए। विभिन्न आमा समूह, क्लब, व्यावसायिक समूह, धार्मिक संस्थाले झाँकी प्रस्तुत गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरे। दाहालले यो विमानस्थलबाट पोखराको मात्र नभएर सिंगै राष्ट्रको विकासमा योगदान पुग्ने बताए। ‘हामी सबैको सपना यो विमानस्थल निर्माण होस् भन्ने थियो,’ उनले भने, ‘त्यो सपना पूरा भयो।’

पहिलो दिनको अभ्यास उडानका क्रममा हिमालय एयरलाइन्सको एयरबस ३२० जहाजसमेत अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। विमानस्थलका प्रवक्ता अनुप जोशीले हिमालय एयरलाइन्सको एयरबस ३२० जहाज अवतरण गरेपछि पोखराको यो विमानस्थल ठुला जहाजको उडान र अवतरणका लागि योग्य प्रमाणित भएको बताए। ‘एयरबस ३२० जहाजका लागि पनि विमानस्थल योग्य रहेको प्रमाणित भएको छ,’ जोशीले भने।

पोखरामा यसअघि आन्तरिक उडानका जहाज मात्र अवतरण हुँदै आएका थिए। पुरानो विमानस्थलको धावनमार्ग छोटो भएकाले आन्तरिक उडानका सबैजसो जहाज पोखरा आउन सकेका थिएनन्। तर अब आन्तरिकसहित अन्तर्राष्ट्रिय उडानका जहाजसमेत पोखरा आउन सक्ने जोशीले बताए। पहिलो दिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध, यती, गुण, सौर्यसहितका जहाजले आन्तरिक उडान भरे।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको यो दिनलाई पोखरेलीले सुखद क्षण भनेका छन्। पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष पोमनारायण श्रेष्ठले भने, ‘पोखरा अब अन्तर्राष्ट्रिय सहरसँग सिधै हवाई पहुँच राख्न योग्य बनेको छ। एउटा गज्जबको ‘प्रोडक्ट’ तयार भएको छ।

हवाई कम्पनीले पोखरालाई अन्तर्राष्ट्रिय सहरसम्म जोड्ने योजना बनाएका छन्।’ पोखराबारे हवाई कम्पनीले अध्ययन गरिरहेकाले अब अन्तर्राष्ट्रिय उडान सुरु हुने दिनको सुखद पर्खाइमा आफूहरू रहेको उनले बताए।

‘अन्तर्राष्ट्रिय उडान गर्न पोखरा विमानस्थल सक्षम भएको प्रमाणित भएको छ। अब बजार खोजेर उपयुक्त गन्तव्यसम्म पोखरालाई हवाई माध्यममार्फत जोड्नुपर्छ,’ उनले भने, ‘पोखरामा ठुला जहाज अवतरण गर्न सक्दैनन् कि भन्ने आशंका थियो। तर एयरबस ३२० जहाज अवतरण गरेसँगै त्यो आशंका पनि टरेको छ।’ पहिलो दिन नै अन्तर्राष्ट्रिय उडानको तयारी भए पनि केही समस्याले गर्दा पछाडि धकेलिएको उनले बताए।

अन्तर्राष्ट्रिय उडानको चाहना पूरा भएन

विमानस्थल सञ्चालनको पहिलो दिन नै अन्तर्राष्ट्रिय उडानको पोखरेली चाहना पूरा हुन पाएन। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पहिलो दिन अन्तर्राष्ट्रिय उडान नभए पनि अब छिट्टै हुने विश्वास व्यक्त गरे।

पहिलो दिनका लागि अन्तर्राष्ट्रिय उडानको तयारी केही रूपमा नभएको पनि होइन। मुलुककै निजी क्षेत्रको अग्रणी हवाई कम्पनी बुद्ध एयरले पोखरादेखि भारतको बनारससम्म आइतबार डेमो उडान गर्ने तयारी गरेको थियो। तर आइतबार डेमो उडान हुन सकेन। आगामी मार्चदेखि बुद्धले पोखरा–वनारस उडान गर्ने तयारी थालेको छ।

‘बुद्ध एयरले विमानस्थल सञ्चालनको पहिलो दिन पोखरा–वनारस उडान गर्न चाहेको थियो। तर, भारतीय पक्षले उडान अनुमति दिएन। त्यसैले पहिलो दिनको पोखरा–वनारस डेमो उडानको चाहना पूरा भएन,’ प्राधिकरणका प्रवक्ता निरौलाले भने, ‘तर, प्रक्रिया भने चलिरहेको छ। छिटै उडान हुनेछ। हामीले मात्र चाहेर अन्तर्राष्ट्रिय उडान हुन नसक्ने भएकाले यो अवस्था आएको हो।’

बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णका अनुसार आइतबार पोखरा-बनारस गर्न चाहेको डेमो उडान रोकिनुमा दुईवटा कारण छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडानको पूर्ण रिपोर्ट आइ नसक्दा र भारतले अनुमति नदिँदा उडान हुन नसकेको हो। ‘हामीले पोखरा–वनारस डेमो उडान गर्न चाहेका थियौं। तर, क्यालिब्रेसन फ्लाइट गरेको एरो थाइले अझैसम्म पूर्ण रिपोर्ट दिएको छैन। त्यसबाहेक भारतीय पक्षले उडानका लागि अनुमति नदिँदा अन्तर्राष्ट्रिय उडानको पहिलो प्रयास पूरा नभएको कर्णले बताए।

बुद्धले केही दिनअघि नै विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न नागरिक उड्डयन प्राधिकरणमा निवेदन पनि दिएको थियो। तर, भारतीय पक्षले हवाई उडानको स्वीकृति नदिएको र क्यालिब्रेसन उडानको पूर्ण रिपोर्ट नआएकाले उडान हुन नसकेको उनले बताए। बुद्धले अब नवनिर्मित विमानस्थलबाट दिनमा आठवटा उडान गर्ने उनले बताए। तर दिनहुँ १० वटा उडानका लागि प्राधिकरणसँग अनुमति मागेको पनि कर्णले जानकारी दिए।

एयरबस ३२० अवतरण

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको पहिलो दिन हिमालय एयरलाइन्सको एयरबस ३२० जहाज पोखरामा अवतरण गर्‍यो। डेमो उडानका रूपमा हिमालयको जहाज पोखरामा अवतरण हुनु पोखराका लागि सुखद पक्ष रहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

‘अब एयरबस ३२० जहाज पोखरामा अवतरण गर्न सक्छ भन्ने प्रमाणित भएको छ। यो सन्देश अन्तर्राष्ट्रिय बजारमा पुग्नु सबैका लागि सुखद हो,’ निरौलाले भने, ‘यसले अन्तर्राष्ट्रिय हवाई कम्पनीका लागि पोखरा उड्ने बाटो खुलाउने छ।’ आइएफआर प्रविधिबाट विमानस्थल सञ्चालन सुरु नभइसकेकाले आइतबार भिएफआर प्रविधिबाटै एयरबस ३२० अवतरण गरेको पनि उनले बताए। आइएफआर प्रविधि सञ्चालन हुन अझै दुर्ई महिनाजति लाग्ने उनले बताए।

वर्षको १० लाख यात्रु क्षमता

नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार पोखरा विमानस्थलको वार्षिक यात्रु क्षमता १० लाख छ। प्रतिघण्टा ६१० यात्रु क्षमता विमानस्थलको रहेको उनले बताए। त्यस्तै एकै छानामुनि १० हजार वर्गमिटरको अन्तर्राष्ट्रिय र चार हजार वर्ग मिटरको आन्तरिक टर्मिनल तयार भएको पनि उनले बताए। यो विमानस्थलमा नवीनतम प्रविधि जडान गरेर प्रविधिमैत्री बनाएको अधिकारीले बताए।

‘पोखराको पुरानो विमानस्थलबाट दिउँसो ४ बजेपछि उडान गर्न नसक्ने अवस्था थियो। तर, अन्तर्राष्ट्रिय विमानस्थल आवश्यकता अनुसार २४ सै घण्टा सञ्चालन गर्न सकिन्छ,’ उनले भने, ‘पोखरेलीलाई अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौं पुुग्नुपर्ने बाध्यता टरेको छ।’

पोखराको यो विमानस्थलले पर्यटन प्रवद्र्धनमा सघाउने र विश्वबजारमा प्रत्यक्ष पहुँच विस्तार गर्न सघाउने पनि महानिर्देशक अधिकारीले बताए। ‘एक वर्षको अन्तरमा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल (गौतम बुद्ध र पोखरा) बनाएर नेपालको हवाई यातायात क्षेत्र नयाँ मार्गमा प्रवेश गरेको छ,’ उनले भने।

पोखराको यो विमानस्थलको निर्माण थाल्दा आयोजना प्रमुखसमेत रहेका अधिकारीले केही अप्ठेरो भए पनि विमानस्थल तयार भएको बताए। ‘निर्माण परिकल्पनादेखि अहिलेसम्म केही अप्ठेरा थिए। ती अप्ठेरा पार गर्दै विमानस्थल तयार भएको छ,’ उनले भने, ‘अब हवाई सेवा सर्वसुलभ र पहुँचयोग्य बनाउने प्रयास रहनेछ।’ उनले विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना रहेको बताए।

पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरेलीको झन्डै पाँच दशकदेखिको विमानस्थल सपना पूरा भएको बताए। विमानस्थललाई जनवरी १ मै सञ्चालनमा ल्याउन धेरै नै मेहनत गरेको उनले बताए। उनले सुरुमा अन्तर्राष्ट्रिय उडान नभए पनि तयारी भइरहेको पनि बताए।

विमानस्थल उद्घाटन कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले सुशासन, समृद्धि र विकासको निरन्तरतालाई पूरा गर्ने बताए। उनले कनेक्टिभिटीका आधार बढाउँदै लैजाने पनि बताए।

पोखराको यो विमानस्थल बनाउन २०३१ सालमा ३१ सय रोपनी जग्गा अधिग्रहण गरिएको थियो। त्यसमा अपुुग जग्गा थपेर विमानस्थल बनाइएको हो। ३८ सय ९९ रोपनी क्षेत्रफलमा अहिले विमानस्थल तयार भएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। सुरुको सम्झौताअनुसार सन् २०२१ जुलाई १० मा काम सक्नेगरी विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना सिएएमसिईले शिलान्यासको डेढ वर्षपछि काम थालेको थियो। यस बीचमा कोरोना भाइरस संक्रमण फैलियो। तर पनि चिनियाँ कम्पनीले निर्माणलाई गति दिइरह्यो। ९३ प्रतिशत काम पूरा भएपछि गत चैत तेस्रो साता निर्माण कम्पनीले महत्त्वपूर्ण पूर्वाधार सकिएको भन्दै विमानस्थल पूर्वाधार नेपाललाई हस्तान्तरण गरेको थियो।

विमानस्थलबाट न्यारोबडी एयरबस ३२० र बोइङ ७५७–२०० जहाज उडान र अवतरण गर्न सकिन्छ। यी जहाज बढीमा २ सय सिट यात्रु क्षमताका हुन्। यो विमानस्थलले ३ वटा ठुला र ८ वटा साना गरी ११ वटा जहाज पार्किङ गर्न सक्छ। विमानस्थलको धावनमार्ग २५ सय मिटर र चौडाइ ४५ मिटर तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर छ। विमानस्थलसँग व्यस्त समयमा प्रतिघण्टा ६ सय १० जना यात्रु व्यवस्थापनको क्षमता छ। १४ हजार वर्ग मिटरको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेको छ। विमानस्थल बनाउन झन्डै २२ अर्ब रूपैयाँ लागत परेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै साढे सात दशकपछि गत जेठमा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सुरु भएको थियो। त्यसको आठ महिनामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो।

प्रकाशित: १८ पुस २०७९ ०१:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App