समाज

विशेश्वर मन्दिरमा धार्मिक महोत्सव सुरु

बर्दियाको बाँसगढी नगरपालिका ८ स्थित विशेश्वर मन्दिरपरिसरमा शुक्रबार सुरु भएको धार्मिक महोत्सवमा झाँकीसहितको कलश यात्रा। कलश यात्रामा थारू, पहाडी र अन्य जातजातिको उल्लेख्य सहभागिता थियो। तस्बिर: नागरिक

बाँसगढी नगरपालिका ८ स्थित लक्षमणामा रहेको विशेश्वर मन्दिरपरिसरमा शुक्रबारदेखि धार्मिक महोत्सव सुरु भएको छ। धार्मिक महोत्सव पुस १५ देखि २३ सम्म चल्ने छ। श्रीमद्भागवत ज्ञान सप्ताह धनधान्याञ्जल ज्ञान महायज्ञ धार्मिक महोत्सव नाम राखेर सुरु हुँदै छ। महोत्सव भक्तजनको सक्रियतामा आयोजना गरिएको हो।

धार्मिक महोत्सव बर्दिया क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सञ्जय गौतमले उद्घाटन गरे। उद्घाटन कार्यक्रममा संघीय माननीय जुबेदा खातुन, प्रदेश माननीय भुवनेश्वर थारू, बाँसगढी नगरपालिकाका प्रमुख खड्गबहादुर खड्कालगायतको सहभागिता थियो। प्रतिनिधिसभा सदस्य सञ्जय गौतमले धार्मिक अनुशासनले समाजमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्। उनले भने, ‘महोत्सवले धार्मिक सद्भाव कायम गरी आपसी भाइचारा र मित्रवत् नाता कायम गर्न उल्लेख्य भूमिका निर्वाह गर्ने छ।’ पण्डितले विधिवत् रूपमा शनिबारदेखि कथा सुनाएर महोत्सवको सुरुवात गर्दैछन्।

महोत्सव एक सातासम्म चल्ने महोत्सव मूल आयोजक समितिका अध्यक्ष दिनानाथ ज्ञवालीले बताए। ‘स्थानीयको सक्रियतामा महोत्सव आयोजना गरिएको छ’, उनले भने, ‘यसले सबै जाति र समुदायको रक्षाका लागि सद्भाव कायम गर्छ।’ धार्मिक महोत्सवका लागि मिश्रित समुदायको सक्रियता रहेको उनले खुलाए। ‘कृषि र पर्यटनको हिसाबले जिल्ला सम्भावनाको खानी हो’, उनले भने, ‘स्थानीयको स्वतस्पूmर्त रूपमा आयोजना गरेको महोत्सवले यस क्षेत्रको विकासमा सहयोग पुग्ने छ।’

पछिल्लो समय बर्दिया निकुञ्ज पर्यटकको गन्तव्य बनिरहेका बेला पर्यटनका लागि धार्मिक महोत्सव जोड्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए। ‘सम्भावनाको जिल्ला भए पनि छिमेकी जिल्लाको तुलनामा केही पछि परेकाले विकासका लागि राजनीतिक दल सक्रिय हुनुपर्ने उनको भनाइ छ। महोत्सव व्यवस्थापनको जिम्मा स्थानीय समाजसेवी कृष्ण गोपालले लिएका छन्। तीन कट्ठा जग्गामा रहेको मन्दिरपरिसरमा पण्डित रामचन्द्र लामिछाने र हरिचन्द्र तिमिल्सेनाले सुनाउने कथामा भक्तजनको उल्लेख्य सहभागिता रहने आयोजकले विश्वास लिएको छ। नागरिक दैनिकका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको स्मृतिमा पुनर्निर्माण भएको मन्दिर आकर्षक देखिन्छ। पछिल्लो समय भक्तजनको भीड बढेको स्थानीय बताउँछन्। नवरात्रमा मन्दिर दर्शन गर्न बाँके, बर्दिया र कैलालीबाट आउने गर्छन्।

उद्घाटनको दिन झाँकीसहितको कलश यात्रा

महोत्सव उद्घाटनका दिन झाँकीसहितको कलश यात्रा निकालिएको छ। कलश यात्रामा थारू, पहाडी र अन्य जातजातिको सहभागिता रहेको छ। करिब २ किलोमिटर धार्मिक भजन कीर्तनसहित निकालिएको झाँकीसहितको कलश यात्रामा उल्लेख्य भक्तजनको सहभागिता रहेको छ। बाजागाजासहित नाचगान गर्दै निकालिएको कलश यात्रा भक्तजनमा उत्साह छाएको छ।

प्रकाशित: १६ पुस २०७९ ०१:४१ शनिबार