समाज

दार्चुलामा बाढी पहिरोमा परी २ जनाको मृत्यु १ बेपत्ता

दार्चुला–दार्चुला गएरातिदेखि परेको अविरल वर्षापछि आएको बाढी पहिरोमा परी दार्चुलामा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मालिकार्जुन गाविस– २५ वर्षीया बसन्ती धामी र सर्मोली गाविस– ७२ वर्षीय चन्द्रदेव पन्त रहेका छन्। गतराति परेको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

घटनास्थलतर्फ प्रहरी परिचालन गरीएको प्रहरी प्रमुख डिएसपी शुसील सिंह राठौरले बताए । यस्तै अपी नगरपालिका–१७ काकडामा पहिरोले घर पुरिँदा एक महिला बेपत्ता भएकी छन्। स्थानीय प्रेम सिंह महराकी श्रीमती बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता महिलाको नाम भने खुल्न सकेको छैन । यसै गरी पहिरोकै कारण भारतसँग सीमानाका जोडिएको जौैलजिवी प्रहरी चौकी भवनसमेत पहिरोको उच्च जोखिममा रहेको छ।

प्रहरी चौकीमाथिबाट पहिरो आउन सुरु भएपछि उक्त प्रहरी चौकीमा कार्यरत प्रहरी तथा बन्दोवस्तीका समान सुरक्षित स्थानमा सारिएको छ। पहिरो कै कारण डाडाकोट गाविस– ८ लिमेतीमा स्थानीय भुवन पालको घर पुरिएको छ भने नजिकै रहेको सुन शिखर निमावि भवन पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ।
 जिल्ला भरी बाढी पहिरोले व्यापक क्षति भएको प्रहरीले जनाएको छ। विहानैदेखि मोवाइल फोन खासै काम नगर्दा क्षति विवरण आउनु सकेको छैन्।  पहिरोकै कारण महाकाली लोकमार्गसमेत अवरुद्ध रहेको छ। जिल्लाका विभिन्न ठाउबाट समेत क्षतिको विवरण आउने क्रम जारी रहेको छ।

 

प्रकाशित: १७ असार २०७३ ०४:०३ शुक्रबार

दार्चुलामा बाढी पहिरोमा परी जनाको मृत्यु बेपत्ता