समाज

इटहरीमा खोला मिचेर बनाइएको अवैध संरचना हटाइँदै

इटहरीका मेयर हेमकर्ण पौडेल नेतृत्व टोली अवैध संरचनाको अनुगमन गर्दै। तस्बिर: नागरिक

बर्खाको बेला सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेको छ। ठूलो पानी पर्दा त इटहरीमा भयावह स्थिती सिर्जना हुने खतरा रहन्छ। जसले गर्दा हरेक बर्खाको बेला खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने त्रसित हुने गरेका छन्। अब आउँदो बर्खामा इटहरीमा खोलाको तटीय वस्तीमा बस्नेलाई जोगाउँन इटहरी उप–महानगरपालिकाले अवैध संरचना हटाउन सुरु गरेको छ।

मुख्य बजार क्षेत्रसँगै खोला तथा पैनी मिचेर निर्माण गरिएको अवैध संरचना हटाउन सुरु गरेको हो। मेयर हेमकर्ण पौडेलका अनुसार दुईवटा निर्माणधिन अवैध संरचना हटाउन सात दिन भित्र निर्देशन दिइएको छ। मेयर पौडेल नेतृत्व टोलीले  इटहरी वडा नं. ७ की आशा साह र इटहरी वडा नं. १० का पदम दर्नालले पैनीको जग्गामा बनाउँदै गरेका घर निर्माण रोकेको छ। इटहरी वडा नं. ६ का सुदिप दाहालको पैनी माथि बनाएको संरचना पनि भत्काइएको छ। लामो समयदेखि संरचना मुनि पैनी कुदिरहेकोले सहमतिमै भत्काउन लगाएको वडा नं. ६ का वडाध्यक्ष दिवश पोखरेलले बताए।

इटहरी उपमहानगरपालिकाले मंगलबार २० वडामा निर्माण भएको संरचना हटाउन निर्देशन जारी गरेको छ। निजी जग्गाबाहेक बाटो पैनी, खोलाको जग्गा नहड्प्न र हडपेर बसेकाहरुले तत्काल छोड्न निर्देशन जारी गरेको हो। इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताद्धारा जारी सूचनामा उपमहानगरको सूचनालाई बेवस्ता गरे कारबाही प्रक्रिया अगाडि बढ्ने चेतावनी दिएको छ।

इटहरी उपमहानगरपालिका भित्र २० वटा वडा रहेका छन्। तीमध्ये बाढीबाट प्रभावित पर्ने इटहरीका विशेष गरी ३, ४, ९, १०, ११ र  १२ नम्बर वडा छन्। २०७४ मा आएको बाढीका कारण ९ जनाको मृत्यु भएको थियो। अघिल्लो वर्षको बाढीले ४ जनाको मृत्यु भएको थियो। अरु थुप्रै अन्नबाली र भौतिक पूर्वाधारमा क्षती पुगेको थियो।

इटहरीमा २०७४ र २०७८ कात्र्तिक बाहेक २०४३ सालमा आएको बाढीले टेङ्ग्रा खोलाको सतह पुरि दिएको थियो। त्यसबाट साविक इटहरी १, ४ र ८ नं. वडाको भू–भागको जमिन कम्तिमा १० फुटसम्म डुवानमा परेको थियो। यस्तै, २०५३ सालमा आएको बाढीले पुनः इटहरी क्षेत्र डुबान गरेको थियो। त्यति बेला पनि इटहरीमा दुई फुुटसम्म जमिन पाङे माटोले पुरेको थियो। विसं २०७० भदौ २१ गते इटहरी क्षेत्रमा पानी परेन्। तर, त्यस दिन इटहरीका मानववस्तीमा बाढी प्रवेश गरेको थियो।

२०४० को दशकमा इटहरीको भूगोलमा मानववस्ती पातलो थियो। यहाँको सम्पूर्ण जमिन खेतीमा प्रयोग हुन्थे। जताततै खोला पैनी वा पानी बग्ने निकाशका ठाउँहरु खुला थिए। जसले गर्दा सहजै पानी निकास हुने गथ्र्याे।

जुन ठाउँबाट इटहरीमा बाढी पस्छ, त्यस ठाउँमा दिर्घकालीन योजना बनाएर सदाँका लागि तटबन्ध नलगाउनु जस्ता कारणले पनि इटहरीका बासीन्दा पीडित हुँदै आएका छन्। 

प्रकाशित: २७ मंसिर २०७९ १३:४२ मंगलबार

इटहरी अवैध संरचना