समाज

आतंकवादी हमलामा १२ नेपालीको मृत्यु

काठमाडौं- वैदेशिक रोजगारीमा गएका नेपालीमाथि १२ वर्षपछि दोस्रो ठूलो आतंकवादी आक्रमण भएको छ। आक्रमणमा १२ नेपालीको मृत्यु भएको छ। अफगानिस्तानको राजधानी काबुलमा आतंवादवादी समूह तालिबानले गरेको आत्मघाती आक्रमणमा मृत्यु भएको हो।

क्यानेडेली दूतावासका सुरक्षागार्डका रुपमा कार्यरत उनीहरु चढेको मिनिबसमा सोमबार बिहान आत्मघाती आक्रमण हुँदा १४ जनाको मृत्यु भएको हो।

आफू बस्दै आएको निवासबाट काम गर्ने स्थान क्यानडेली दूतावास जाँदै गर्दा भएको सो आक्रमणमा घाइते नौ जनामध्ये सात जना नेपाली घाइते छन्। आक्रमण काबुलबाट जलालाबाद जाने मुख्य सडकमा भएको थियो।

 

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले आक्रमणमा १२ जनाको मृत्यु भएको पुष्टि गरे। प्रारम्भिक अनुमानमा भनिएअनुसार मृत्यु हुनेमा थप दुई जना भने नेपाली नरहेको पुष्टि भएको उनले जानकारी दिए।

परराष्ट्रका अनुसार मारिनेमा काठमाडौंका चन्द्रबहादुर राना मगर, वीरबहादुर सुवेदी क्षत्री र हरिबहादुर बरुवाल क्षेत्री छन्। यस्तै, नुवाकोटका डम्बरबहादुर तामाङ, मधुसुदन कोइराला र लिलबहादुर गुरुङ, लमजुङका अमृतबहादुर थापा, चितवनका कृष्णबहादुर ढुंगाना, स्याङ्जाका सुकबहादुर गुरुङ, रुपन्देहीका जितेन्द्रसिंह थापा, पर्वतका नवीनबहादुर क्षेत्री र सुनसरीका अंकुर तामाङको पनि आततायी हमलामा ज्यान गएको छ।

घटनामा घाइते हुने नेपालीमा चितवनका मानबहादुर थापा र कृष्णकुमार देउजा, म्याग्दीका चेतप्रसाद शेरचन, मोरङका प्रेमबहादुर क्षत्री, गोर्खाका कुमारबहादुर गुरुङ, सुर्खेतका अमृत रोकाय क्षत्री र नुवाकोटका च्याङ्बा तामाङ रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

अफगानस्थित गृह मन्त्रालयले आफ्नो वेबसाइटमार्फत जनाएअनुसार आक्रमणमा मृत्यु हुने सबै नेपाली भएको जनाएको थियो। आक्रमणको जिम्मेवारी तालिबानले लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। उनीहरुले विभिन्न सञ्चार माध्यमलाई टेक्स्ट गर्दै सो घटनाको जिम्मेवारी लिएको बताइएको छ। आतंकवादी समूह तालिबानले लामो समयदेखि अफगानिस्तानमा रहेका पश्चिमा देशका सैनिकविरुद्ध आक्रमण गर्दै आएका छन्।

नेपाली सुरक्षागार्ड आफ्नो निवासबाट दुइटा मिनीबसमा दूतावास जाँदै थिए। पछिल्लो बसमा आत्मघाती आक्रमण भएको थियो।

अन्तर्राष्ट्रिय सुरक्षा विज्ञहरुले सुरक्षा कमजोरीले नेपालीले अनाहकमा ज्यान गुमाएको प्रतिक्रिया दिएका छन्।

बेलायतका अन्तर्राष्ट्रिय सुरक्षाविज्ञ स्याम कोवानले काबुल घटनाबारे सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै सुरक्षा कम्पनीको लापरबाहीले नेपाली कामदारले अनाहकमा ज्यान गुमाउनुपरेको उल्लेख गरेका छन्।

कोवानले फेसबुक वालमा पोस्ट गर्दै भनेका छन्, 'नेपाली कामदारबाट ठूलो मुनाफा कमाउने सुरक्षा कम्पनीले काबुलको अवस्थाका विषयमा जानकार रहँदारहँदै सामान्य मिनिबसमा पठाउनु नै गल्ती थियो।'

उनका अनुसार काबुलको सुरक्षालाई मध्यनजर गर्दै बख्तरबन्द गाडीको व्यवस्था गर्नुपर्ने हो। 'असुरक्षित यात्रामा पठाउनुले सुरक्षा त्रुटि देखिएको छ, काबुलमा हतियारधारी अन्य समूह भएको थाहा हुँदाहँुदै कसरी उनीहरुलाई पठाइयो,' कोवानले प्रश्न गरेका छन्।

यसअघि वैदेशिक रोजगारीमा इराक गएका १२ जना नेपालीलाई अन्सार अल सुन्ना नामको आतंकवादी समूहले ०६१ भदौ १६ गते अपहरण गरी हत्या गरेको थियो।

सोमबार दिउ“सो सदनलाई जानकारी गराउँदै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले काबुल आक्रमणमा मारिएको नेपालीको शव ल्याउन र घाइतेको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन पाकिस्तानस्थित नेपाली राजदूतलाई अफगानिस्तान जान निर्देशन दिएको बताएका थिए।

त्यहाँ दूतावास नभएकाले इस्लामाबादस्थित नेपाली दूतावासले नै अफगानिस्तान हेर्दै आएको छ।

परराष्ट्र मन्त्री थापाले आक्रमणबारे पीडितका परिवारलाई आवश्यक जानकारी र समन्वय गर्न परराष्ट्र मन्त्रायलले डेस्क स्थापना गरेको संसदलाई जानकारी गराए।

पाकिस्तानका लागि कार्यवाहक राजदूत तीर्थराज अर्याल आक्रमणमा मृत्यु भएकाको शव ल्याउन आवश्यक प्रबन्ध गर्न मंगलबार काबुल जाने भएका छन्।

 

'फ्लाइट नभएका कारण सोमबार जान सकिएन। मंगलबारै काबुल पुगेर आवश्यक व्यवस्था गर्नेछौं,' अर्यालले नागरिकसँग फोनमा भने, 'शव नेपाल पठाउन कुन माध्यमले चाँडो हुन्छ त्यही प्रयोग गर्नेछौं।'

यसैबीच, नेपालका प्रधानमन्त्रीलगायत क्यानेडियाली प्रधानमन्त्री, भारतीय प्रधानमन्त्री, अफगानिस्तानका कार्यकारीले घटनाको भर्त्सना गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना र निन्दा गरेका छन्।

'यो घटनापछि रहेका अपराधिक तत्वहरुलाई शीघ्र न्यायको कठघरामा ल्याइनेछ भन्ने नेपाल सरकार र मेरा विश्वास रहेको' ओलीले बताएका छन्।

राष्ट्रिय मानवअधिकार आयोगले मृत्यु भएको व्यक्तिहरुका बारेमा आवश्यक जानकारी उपलब्ध गराइदिन र मृतकका परिवारलाई आवश्यक राहत र क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरुको प्रभावकारी उपचारको व्यवस्था मिलाइदिन अफगानिस्तानको मानवाधिकार आयोगलाई आग्रह गरेको छ।

अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाहा अब्दुल्लाहा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि टि्वटमार्फत आतंकवादी आक्रमणको भर्त्सना गरेका छन्।

विभिन्न राजनीतिक दल तथा संघसंस्थाले पनि आक्रमणको भर्त्सना गरेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रोजगारीको सिलसिलमा अफगानिस्तान पुगेका नेपालीमाथि भएको आत्मघाती आक्रमणलाई पाशविक, क्रुर र बर्बर भनेका छन्।

एमालेले मानवताविरुद्धको अपराध भन्दै आक्रमणको भर्त्सना गरेको छ। एमाले सचिव प्रदीप ज्ञवालीले  विज्ञप्ति जारी यस्तो कार्यको नियन्त्रणकालागि  प्रभावकारी कदम चाल्नुपर्ने जोड दिएको छ।

प्रकाशित: ७ असार २०७३ ०२:५६ मंगलबार

आतंकवादी हमलामा १२ नेपालीको मृत्यु