समाज

खहरे खोलाको पानी ल्याउन श्रमदान

चितवनको खहरे खोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ रामनगरका स्थानीय श्रमदानमा जुटेका छन्। भरतपुर–२९ स्थित खहरे खोलाको पानी रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा ल्याउने योजनाका साथ स्थानीयवासी एक सातादेखि श्रमदानमा जुटेका हुन्।  

पानी ल्याउन ट्याङ्की र पाइप बिच्छयाउनका लागि झण्डै पाँच किलोमिटर क्षेत्रमा झाडी सफा गर्ने काम सकिएको छ। भरतपुर महानगरपालिका–१ अन्तर्गत पर्ने रामनगरका बासिन्दाले शुद्ध पानी पिउन नपाएको वषैँ भइसक्यो। रामनगरमा खानेपानी ल्याउनका लागि चितवन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानले १० दिनअघि श्रमदान अभियानको सुरुआत गरेका हुन्। सहजरुपमा पानी खान नपाएको समस्या थाहा पाएपछि सांसद लामिछानेले रामनगरमा खानेपानी व्यवस्थापनका प्रतिनिधि र स्थानीयसँग छलफलसमेत गरेका थिए। लगत्तै उहाँकै नेतृत्वमा श्रमदान अभियान सुरु भएको हो।

विसं २०४९ चैतमा नेपाल र जापान सरकारको सहकार्यमा भरतपुर खानेपानी विस्तार आयोजनाको सुरुआत भएको थियो। त्यसबेला रामनगरमा चार पानी ट्याङ्की निर्माण गरिएका थिए। जुगेडीबाट पानी उक्त क्षेत्रमा ल्याएर भरतपुरका विभिन्न स्थानसम्म वितरण हुने गर्दथ्यो। द्वन्द्वकालपछि धेरै संरचना नष्ट भएपछि खानेपानी ट्याङ्की क्षेत्र झाडीमा परिणत भएको थियो। अहिले सोही ठाउँमा सरसफाई गर्दै खानेपानीका लागि पहल भइरहेको छ।  

स्थानीय सीता भट्ट नगरवासीको मुख्य समस्या पानीको रहेको बताउँछन्। ‘इनारको पानी खान बाध्य छौँ’, उनले भने। हाल दैनिक एक सय जना जनश्रममा जुटेका उनले बताए। स्थानीय राधा कुँवर र भोलादेवी कुँवर गुप्ता  पनि घरको काम छाडेर जनश्रममा जुटेको बताउँछन्।  

प्रकाशित: २५ मंसिर २०७९ ०७:५४ आइतबार

चितवन खहरे खोला