राजनीति

मौन अवधि: ‘उलटफेर’को खेल

निर्वाचन कार्यक्रमअनुसार आइतबार हुने निर्वाचनका लागि बिहीबारर राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ। निर्वाचन आचारसंहिताले मौन अवधिमा प्रचारप्रसारलगायत निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने गरी रोक लगाएको भए पनि निर्वाचन क्षेत्रमा मौन अवधिकै बीच गुपचुप रूपमा मत आफ्नो पक्षमा पार्ने कसरत चुलिन्छ। यही अवधिमा अधिकांश चुनावी आंकलन ‘उलटफेर’ हुने गरेको विगतको अनुभव छ।

मधेसको चुनावमा मौन अवधिलाई ‘नतिजा बदल्ने रात’ का रूपमा लिइन्छ। प्रतिस्पर्धामा रहेका उम्मेदवारले तटस्थ मत र विपन्न बस्तीका मतलाई खरिद गर्न मोलतोल यही अवधिमा हुने गर्छ।

अन्तिम अवस्थामा पनि नतिजा उलटपुलट हुन्छ मधेसमा। यही अवधिको कसरतले जित्ने पक्का भनिएको उम्मेदावरलाई पछारेर अर्को उम्मेदवार अघि बढेका र अप्रत्यासित परिणाम आएका उदाहरण थुप्रै छन्। यो खेल मौन अवधिको रातबाट सुरु भई चुनावको अघिल्लो रातसम्म चल्छ। आसन्न निर्वाचनमा उम्मेदवार अधिकांश पैसावाला भएकाले मौन अवधिमा विगतको भन्दा बढी रकमको चलखेल हुने जानकारहरू बताउँछन्। मधेसको चुनावी अंकगणित मौन अवधिमै तय हुने गरेको ती जानकारले सुनाए।  

समुदायका अगुवाले आफ्नो पकड क्षेत्रका मत अहिले पनि आफूले चाहेको उम्मेदवारका पक्षमा खसालिदिन सक्छन्। त्यस्ता मत हासिल गर्न उम्मेदवारले उनीहरूलाई निश्चित रकम दिन्छन्। अगुवाले कति मत प्रभावित पार्न सक्छन्, त्यसैका आधारमा मौन अवधिमा उसलाई एकमुष्ट रकम उपलब्ध गराउँछन् उम्मेदवारले। ‘कतिपय अगुवाले पैसा लिएको उम्मेदवारको पक्षमा तोकेरै यति मत खसाल्न लगाउँछु भनेर लिखितरूपमै सकारेका हुन्छन्,’ एक राजनीतिकर्मी भन्छन्, ‘रकम लिए जति त्यस क्षेत्रबाट भोट नआउँदा निर्वाचनपछि पैसा फिर्ता माग्ने चलनसमेत छ।’ गत स्थानीय तह निर्वाचनमा सुखिपुर नगरपालिकाको बनिनियाँ गाउँमा भोट नदिनेसँग पैसा फिर्ता लिएको स्थानीय विनोद यादवले बताए।  

यही विषयमा धेरै स्थानमा मारपीट भएको उदाहरण छन्। आफूले नजित्ने देखेपछि प्रतिस्पधामा रहेको अर्का उम्मेदवारलाई प्रचारप्रसार खर्चमा केही रकम थप लिएर सघाउने चलन पनि छ। यसपालीको चुनावमा मधेसका गाउँसहरमा करिब ४० प्रतीशत मतदाता प्रस्ट खुल्न नसेकका रहेको अनुमान छ। यो मत जता ढल्किन्छ, जित उसैको पक्षमा जान्छ। त्यसैले प्रत्यासी मौन अवधीमा मौनमत हत्याउन साम, दाम, दण्ड, भेद सबै दाउ अपनाउँछन, एक राजनीतिकर्मीले भने।

बरियारपट्टिको दलित बस्तिमा ‘बिराना मान्छे’ को आउजाउ बाक्लिएको छ। रात परेपछि नयाँ मान्छे आउने क्रम बाक्लिएको छ,’ ३५ वर्षीया दुखनी सदायले भनिन्, ‘भोट दिनुस्, हामी केही पर्यो भने सहयोग गर्छौैं भनेर फकाउँछन्।’ १ लाख ७ हजार ४ सय ६५ मतदाता रहेको बरियारपट्टि समेटिएको सिरहा क्षेत्र नम्बर २ का करिब ४० प्रतिशत हिस्सा मौन रहेको अनुमान छ। आक्रामक प्रचारमा हिँडेका राजनीतिक दल मौन अवधिमा त्यही हिस्सालाई आफूतिर तान्न लागिपरेका छन्।

गोलबजार नगरपालिका १० धोवियाधारको डिलमा रहेको मुसहर बस्ती पनि राजनीतिक रूपमा ‘मौन’ छ। कुनै दलप्रति प्रतिबद्ध नभएकैले विभिन्न राजनीतिक दलले यस्ता मत आफूतिर तान्न मौन अवधि उपयोग गरिरहेका छन्।

‘मौनअवधि अघिसम्म सतही तबरले माहोल बनाउने गरी प्रचारप्रसार गरियो, वास्तविक चुनाव त अब लागेको छ,’ एक राजनीतिक दलका जिल्ला स्तरीय नेताले भने, ‘यहाँको चुनावी नतिजा मौन अवधिमा मौन मतदातामा पारिने प्रभावबाटै निर्धारण हुन्छ।’ समुदायका अगुवालाई प्रभावित पारेर, आफैं मतदातालाई भेटेर वा अप्रत्यक्ष रूपमा मत आकर्षित गर्ने सूत्र प्रयोग गरेर चुनावी चलखेल भइरहेको ती नेता बताउँछन्। ‘यसमा फलानो पार्टीले यस्तो गर्याे, उस्तो गर्याे भन्नुको कुनै अर्थ छैन,’ उनले भने, ‘चुनाव जित्न सबैले आफ्नो हैसियतअनुसार सूत्र प्रयोग गरिरहेका छन्।’ मौन मतदाता आफ्नो लागि पार्टीभन्दा मान्छे महत्वपूर्ण ठान्छन्। त्यसैले मौन अवधिमा जुन उम्मेदवारले मन जित्न सक्यो उसकै पक्षमा भोट खस्छ।

प्रभावशाली उम्मेदवारले निर्वाचनको पूर्वसन्ध्यामा भ्रम फैलाउन कार्यकर्तासमेत परिचालन गर्ने गरेका छन्। ‘गाउँमा गएर फलाना पार्टीका उम्मेदवारले समर्थन जनाए, हाम्रा उम्मेदवारले फलानालाई यति रकममा खरिद गरिसके, फलाना हार्दैछन् किन मत खेर फाल्नु’लगायत भ्रमपूर्ण हल्ला फैलाउने क्रम पनि बढेको छ। प्रतिस्पर्धीमा अगाडि निस्कन उम्मेदवारले यस्तो भ्रम फैलाउने गर्छन्।

प्रकाशित: २ मंसिर २०७९ ०१:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App