राजनीति

मतदातालाई मत बदर हुने चिन्ता

यही मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेको बेला मतदान कसरी गर्ने भन्नेमा मतदाता अन्योलमा छन्।  निर्वाचन आयोगले समयमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्दा मतदातामा  मत बदर हुने चिन्तासमेत बढेको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७४ सालको प्रदेशसभाको पहिलो निर्वाचनमा जुम्लाको कुल मतदाता संख्या ५९ हजार ९ सय ५ थियो। जसमध्ये ४१ हजार ४ सय ५९ मत खसेको थियो। ३९ हजार ९ सय ७ मत सदर हुँदा १ हजार ५ सय ५२ मत बदर भएको थियोे। यस्तै प्रतिनिधिसभाको पहिलो निर्वाचनमा १ हजार ७ सय २५ मत बदर भएको थियो।  

आसन्न निर्वाचन नजिकै आइसके पनि  मतदान कसरी गर्ने भनेर अलमल भएको चन्दननाथ नगरपालिका वडा नम्बर ४ का कमला थापा ९बुढा ०बताउँछिन्। मतदान कसरी गर्ने भन्नेबारे अन्योल छ। भोट हाल्ने तरिकाबारे थाहा नभएकाले अन्योलता छाएको छ।  उनले भनिन् ‘मतदान कसरी गर्ने, कति मतपत्र हुन्छ भन्नेबारे हमी अलमलमा छौँ।’ मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा मतदान गर्ने तरिकाबारे थाहा  हुन सकेको छैन। यसले गर्दा  बदर मतको सङ्ख्या बढ्ने अनुमान गरिएको छ।

गएको स्थानीय तहको निर्वाचनमा समेत मतदाता शिक्षा सञ्चालन हुन सकेको थिएन। यही कात्तिक १८ देखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियोे। जिल्ला निर्वाचन अधिकारी महेश शर्माले भने कार्तिक १८ देखि मंसिर १ गतेसम्म मतदाता शिक्षा कार्यक्रम समुदायस्तरमै सञ्चालन गरिएको बताएका छन्। उनका अनुसार त्यसका लागि प्रत्येक वडामा कम्तीमा एक जना महिला  स्वयंसेवक खटाइएको छ। कम्तीमा १० क्क्षा पास भएका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बन्धित स्थानीय तहले नियुक्त गरेर समुदायस्तरमै  गएर मतदातालाई सिकाउने भनेर आयोगबाट निर्देशन आएको निर्वाचन अधिकारी शर्माको भनाइ थियो। मतदाता शिक्षाले बदर मतको सङ्ख्या घटाउने निर्वाचन कार्यालयले जनाएको छ। 

जुम्लामा ६० वडा छन्। प्रत्येक वडा१-१ जना गरी ६० जना महिला स्वयंसेविकालाई मतदात शिक्षा कार्यक्रमका लागि परिचालन गरिएको छ। जिल्लामा मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको संख्या बढ्ने चिन्ता देखिएको छ। यो भन्दा मत मत सदर गर्ने उदेश्यले जुम्लाका ८ वटै स्थानीय तहमै नमुना मतदान कार्यक्रम गरिएको निर्वाचन अधिकारी महेश शर्माले बताए। स्थानीय तहको नमुना मतदानको बदर भएका मतपत्र हेर्दा छाप लगाएर मतपत्र पट्याउन नजानेको, दुई कोठामा छाप लगाएको र दुई चिह्नमा छाप लगाएको देखिन्छ।उनका अनुसार झन् यस पटक मतदाताले चार मतपत्रमा छाप लगाउनुपर्नेछ। प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक/एक र समानुपातिकका लागि पनि प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक÷एक गरेर चार मतपत्रमा छाप लगाउनुपर्नेछ। 

निर्वाचन आयोगले आगामी मङ्सिर ३ गते १८ वर्ष पूरा भई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भएकोले मतदान गर्न पाउने जनाएको छ। जुम्लामा ६८ हजार ६ सय ३८ मतदाता छन्। प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ मा पुरुष १८ हजार ८  सय ७८, महिला १७ हजार ९ सय ५ गरी जम्मा ३६ हजार सात सय ८३ मतदाता छन्।यस्तै, क्षेत्र नं २ मा पुरुष १६ हजार ८ सय २२, महिला १५ हजार ३३ गरी जम्मा ३१ हजार ८ सय ५५ मतदाता  छन्। जिल्लामा १ प्रतिनिधिसभा र २ प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ।

प्रकाशित: १ मंसिर २०७९ ०३:५८ बिहीबार

आम निर्वाचन २०७९