प्रदेशसभा संघीयता कार्यान्वयनको पहिलो नयाँ संरचना हो। नयाँ संविधान कार्यान्वयनपछि भएको पहिलो प्रदेशसभा चुनाव प्रतिनिधिसभासँगै भएको थियो। नयाँ संविधानले प्रदेशसभाको निर्वाचनलाई मार्ग प्रसस्त गरेको थियो। त्यसैअन्र्तगत प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकैपटक भएको थियो। निर्वाचनको इतिहास हेर्दा २०७४ साल मंसिर १० र २१ मा दुई चरणमा गरी पहिलोपटक प्रदेशसभाको चुनाव भएको थियो। प्रतिनिधिसभासँगै प्रदेशसभाको चुनाव गर्दा ओझेलमा परेजस्तो देखिएको थियो।
२०७४ साल मंसिर १० मा आइतबार पहिलो चरणमा र मंसिर २१ बिहीबार दोस्रो चरणमा प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न गर्ने निर्णय सरकारबाट भएको थियो। सरकारले मुलुकको भौगोलिक अनुकूलता समेतलाई विचार गरी दुई चरणमा गर्ने निर्णय गरेको थियो।
२०७४ साल भदौ १५ मा बसेको आयोगको बैठकबाट मुलुकका ७७ जिल्लामध्ये विभिन्न हिमाली तथा तथा पहाडी भेगका ३२ जिल्लामा मंसिर १० पहिलो चरण र बाँकी ४५ जिल्लामा मंसिर २१ मा दोस्रो चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न गर्ने निर्णय लिएको थियो।
कुन प्रदेशमा कतिजना निर्वाचित ?
सातै प्रदेशमा छुट्टाछुट्टै संख्यामा निर्वाचित हुने कानुनी व्यवस्था गरिएको थियो। त्यसै अन्तर्गत प्रदेश १ मा प्रदेशसभा सदस्यमा प्रत्यक्षबाट ३७ जना समानुपातिकबाट ३७ गरी ९३ जना निर्वाचित भएका थिए। त्यसैगरी प्रदेश २ मा प्रत्यक्षबाट ६४ जना र समानुपातिकबाट ४३ गरी १०७ जना सदस्य निर्वाचित भएका थिए। प्रदेश ३ मा प्रत्यक्षबाट ६६ जना र समानुपातिकबाट ४४ जना गरी १ सय १० जना निर्वाचित भएका थिए। प्रदेश ४ मा प्रत्यक्षबाट ३६ जना र समानुपातिकबाट २४ जना ६० जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेश ५ मा प्रत्यक्षबाट ५२ जना र समानुपातिकबाट ३५ गरी ८७ जना निर्वाचित भएका थिए।
प्रदेश ६ मा प्रत्यक्षबाट २४ जना र समानुपातिकबाट १६ गरी ४० जना सदस्य निर्वाचित भएका थिए। प्रदेश ७ मा प्रत्यक्षमा ३२ जना र समानुपातिक प्रणालीबाट २१ गरी ५३ जना सदस्य निर्वाचित भएका थिए। सात प्रदेशका लागि प्रत्यक्षमा ३३० जना र समानुपातिकबाट २२० जना गरी जम्मा ५५० जना प्रदेशसभा सांसद बनेका थिए। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको उम्मेदवारले गर्नसक्ने अधिकतम खर्चको सीमा १५ लाख रूपैयाँ तोकिएको थियो।
चुनाव चिह्न
आयोगबाट दल दर्ताको सूचना प्रकाशन भएपछि सूचनाको म्यादभित्र जम्मा ९५ राजनीतिक दलले आयोगमा निवेदन पेश गरेका थिए। आयोगले कुल ९१ राजनीतिक दललाई प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि आयोगमा दर्ता गरी ती दललाई ९१ निर्वाचन चिह्न प्रदान गरेको थियो।
मतदान केन्द्र
प्रदेश सभा सदस्य निर्वाचनका लागि आयोगले यस प्रयोजनका लागि पहिलो र दोस्रो चरणको निर्वाचनका लागि मुलुकभर १० हजार ६७१ स्थलमा १९ हजार ८०९ मतदान केन्द्र तोकेको थियो। मतदान केन्द्रको सङ्ख्या चरणगत रूपमा हेर्दा पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा २ हजार ९१९ स्थलमा ४ हजार ४६५ मतदान केन्द्र तोकिएका थिए।
दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा ७ हजार ७५२ स्थलमा १५ हजार ३४४ मतदान केन्द्र तोकिएका थिए। मतदान केन्द्र निर्धारण गर्दा एउटा मतदान केन्द्रमा सरदर १ हजार ६४ मतदाता रहने गरी मतदान केन्द्र व्यवस्थापन गरिएको थियो। तापनि भौगोलिक विकटता, जनसंख्याको घनत्व आदिका कारण मतदान केन्द्रमा मतदाताको सङ्ख्या त्योभन्दा निकै कम समेत हुने गरी फरकफरक रहेका थियो।
उम्मेदवार
प्रदेश सभाका लागि दुवै चरणमा गरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्पm ३ हजार ४७४ जनाले मनोनयनपत्र दर्ता गराएका थिए। निर्वाचन कार्यक्रम अवधिभित्र उम्मेदवारी फिर्ता लिने, दाबी विरोध गर्ने लगायतका कानुनी प्रक्रिया पश्चात प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित हुनुपर्ने ३३० सिटका लागि ३ हजार २३८ जनाको उम्मेदवारी परेको थियो। त्यसमध्ये २४० जना महिला उम्मेदवार थिए। महिला उम्मेदवारमध्ये १९० राजनीतिक दलका तर्पmबाट र ५० स्वतन्त्र उम्मेदवार थिए। प्रदेशगत आधारमा सबैभन्दा बढी उम्मेदवारी प्रदेश नम्बर २ मा ९८५ जना र सबैभन्दा कम प्रदेश नम्बर ६ मा १३३ जना रहेका थिए।
दुई वटा केन्द्रमा मतदान स्थगित
मंसिर १० मा मतदानको दिन मतदान केन्द्रमा उत्पन्न विवादका कारण पहिलो चरणको निर्वाचनमा रुकुम पश्चिम जिल्लाका दुई वटा मतदान केन्द्रमा स्थगित भएको थियो। त्यसैगरी दोस्रो चरणको निर्वाचनमा अर्घाखाँची जिल्लाका दुई वटा मतदान केन्द्रमा मतदान हुन सकेन। ती केन्द्रमा अर्को दिन प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि एकसाथ पुनः मतदान भएको थियो।
समानुपातिकबाट २२०, प्रत्यक्षबाट ३३०
समानुपातिक निर्वाचन प्रणालीबाट सात प्रदेश सभाका कुल २२० सिटका लागि राजनीतिक दललाई मतदान गरी निर्वाचन भएको थियो। दलहरूले प्राप्त गरेको मत एकीकृत गरी समानुपातिक निर्वाचन प्रणालीको परिणाम सार्वजनिक गरिएको थियो। समानुपातिक निर्वाचन प्रणालीबाट विभिन्न प्रदेश सभामा निर्वाचित २२० जना सदस्यहरूमध्ये १७२ जना महिला सदस्य थिए। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फबाट विभिन्न प्रदेशमा विभिन्न राजनीतिक दलबाट ३३० जना उम्मेदवार निर्वाचनमा विजयी भएका थिए। त्यसमध्ये जम्मा १७ जना महिला प्रदेशसभामा निर्वाचित भएका थिए।
प्रकाशित: २९ कार्तिक २०७९ ०१:१७ मंगलबार