राजनीति

बाँके–३: एमालेलाई विरासत जोगाउने चुनौती

२०७० सालदेखी नेकपा एमालेले दुई पटक लगातार जित्दै आएको बाँकेको प्रतिनिधीसभा क्षेत्र नम्बर ३ मा यसपटक नेपाली काँग्रेस आफ्नो विरासत कायम गर्ने दाउमा छ। आफ्नो किल्लाका रुपमा परिचित यहाँ यसपटक भने एमालेलाई विरासत जोगाउन चुनौती भइरहेको छ।  

यसअघि दुई पटक काँग्रेसलाई हराउँदै चुनाव जितेकाले एमालेले ३ नम्बरलाई बाँकेको सबैभन्दा सुरक्षित क्षेत्रका रुपमा लिने गरेको थियो। तर, यसपटक काँग्रेससहित पाँच दलबीच चुनावी गठबन्धन हुनु, काँग्रेसले ‘हेवीवेट’ र आफ्नो पार्टीमाथी लागेका आरोपलाई चिर्न नसक्दा एमालेलाई  विरासत जोगाउन चुनौती देखिएको छ।  

सत्तारुढ पाँच दलिय गठबन्धनले यहाँ ‘हेवीवेट’ उम्मेदवारका रुपमा नेपाली काँग्रेसका केन्द्रिय सह–महामन्त्री किशोरसिंह राठौंरलाई मैदानमा उतारेको छ, भने राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा एमालेले जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिलाई मैदानमा उतारेको छ।  

कांग्रेस सह–महामन्त्री राठौंरलाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी)पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र राष्ट्रिय जनमोर्चाको साथ रहेको छ। यस्तै एमालेका कक्षपतिलाई भने राप्रपाको मात्र समर्थन छ। दुबै गठबन्धनका उम्मेदवार आफ्ना प्रतिबद्धता र घोषणापत्रसहित जनतामाझ पुगिरहेका छन्। निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याउन दुबै गठबन्धनका उम्मेदवारले कसरत गरिरहेका छन्।  

उक्त क्षेत्रमा २०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसका कृष्णसिंह परियार निर्वाचित भएका थिए। यस्तै २०५१ मा राप्रपाका फत्तेसिंह थारु, २०५६ मा काँग्रेसका कैलाशनाथ गुप्ता (कशौधन), २०६४ मा माओवादी नेतृ पुर्णाकुमारी सुवेदी, २०७० सालमा नेकपा एमालेका दलबहादुर सुनार र २०७४ सालमा एमालेकै नन्दलाल रोकाय निर्वाचित भएका थिए। २०७४ सालको निर्वाचनमा तत्कालिन बाम गठबन्धनबाट एमालेका उम्मेदवारसँग प्रतिनिधीसभा क्षेत्र नम्बर ३ मा पराजित भएका काँग्रेसका बादशा कुर्मी अहिले प्रदेश सभा–३(२)मा उम्मेदवार बनेका छन्।

एमालेबाट अलग भएर नेकपा (एकिकृत समाजवादी) पार्टीमा लागेका सुनारले यसपटक बाँके, प्रदेश सभा ३(१) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। केही दिनअघि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका सुनार स्वतन्त्र चुनाव चिन्ह लिएर प्रचार गरिरहेका छन्। माओवादीको एउटा समुहले सुनारलाई अगाडी सारेको छ, भने अर्को समुहले माओवादी केन्द्रको चुनाव चिन्ह पाएका प्रदेशसभा ३(१) का उम्मेदवार ईन्द्रप्रसाद खरेल(आईपी)को प्रचार गरिरहेको छ।  

आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) का नोयन्द्र धिताल, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नगेन्द्रबहादुर बुढाक्षेत्री, लोकतान्त्रिक समाजवादी पार्टीका हफिज पठान, जनमत पार्टीका राजुप्रसाद कुर्मी, नेकपा माक्सवादी (पुष्पलाल) का बीरबहादुर ओली क्षेत्री, नेपाली कांग्रेस (विपी) का दुर्गाबहादुर घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्ला चुनाव पनि उम्मेदवारका रुपमा मैदानमा छन्।

यद्यपी, काँग्रेसका राठौर र एमालेका कक्षपतिबीच मुख्य प्रतिस्पर्धा हुने स्थानीय स्तरमा विश्लेषण भइरहेको छ। अधिकांश उम्मेदवारले यसपटक पनि भुमिहिन, सुकुम्बासी समस्या, सिचाइँ, बाटो, पुल, तटबन्ध जस्ता विषयलाई उठान गरेका छन्। सबै उम्मेदवारले चुनावी प्रचार कार्यलाई तिब्रता दिइरहेका छन्।  

उक्त क्षेत्रमा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ तथा जानकी, खजुरा र बैजनाथ गाउँपालिका पर्छन्। नेपालगन्जको वडा नम्बर १६ र १७ तथा जानकीमा मधेसी र मुस्लिम समुदायको करिव ९० प्रतिशत बसोबास रहेको छ। खजुरा गाउँपालिकामा पहाडी समुदायको बढी बसोबास छ। यसैगरी बैजनाथ गाउँपालिकामा थारु र पहाडी समुदायको मिश्रित बसोबास रहेको बताइन्छ। यहाँ भुमिहिन, सुकुम्बासीका पनि मुद्दा छन्। हरेक निर्वाचनमा यस क्षेत्रका थारु, मधेसी, मुस्लिम समुदाय तथा भुमिहिन, सुकुम्बासीहरु निर्णायक मानिन्छन्।  

गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा वडाअध्यक्षले प्राप्त गरेको मतका आधारमा यहाँ नेपाली काँग्रेस सबैभन्दा ठुलो दल रहेको देखिन्छ। उक्त निर्वाचनमा काँग्रेसले यस क्षेत्रमा २५ हजार ६ सय ८९ मत प्राप्त गरेको थियोे।  

यस्तै एमालेले २२ हजार १ सय ९९, माओवादी केन्द्रले १४ हजार ८ सय १८, राप्रपाले ४ हजार ६ सय ४१, जनता समाजवादी पार्टी(जसपा) ले ४ हजार १ सय ९९, नेकपा (एकिकृत समाजवादी) पार्टीले २ हजार ३ सय ४८, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले १ हजार ३७ र राष्ट्रिय जनमोर्चाले १९ मत ल्याएको देखिन्छ।

पाँच दलिय गठबन्धनमा रहेका दलको मत संख्या ४३ हजार ९ सय ११ रहेको छ। यसैगरी एमाले र राप्रपाको कुल मत संख्या २६ हजार ८ सय ४० मत रहेको देखिन्छ। स्थानीय तह निर्वाचनमा प्राप्त मतको विश्लेषण गर्दा सत्तारुढ पाँच दलिय गठबन्धन १७ हजार ७१ मतको अन्तरले अगाडी रहेको देखिन्छ।  

प्रकाशित: २८ कार्तिक २०७९ १२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App