राजनीति

‘सहरलाई चुनाव लागेकै छैन’

पोखरामा चुनावका लागि आवश्यक सामाग्री जोहो गर्दै निर्वाचन आयोग। तस्बिरः उमेश पुन÷नागरिक

पोखरा–५ मालेपाटनका भरत शर्मा (नाम परिवर्तन) सरकारी कर्मचारी हुन्। अघिल्ला सबैजसो चुनावमा उम्मेदवारलाई भन्दा बढी चुनाव उनलाई लाग्थ्यो। कलाकारको टोली नै लिएर एमालेको घरदैलो र कोणसभामा गीत गाउँदै र नाच्दै हिड्ने उनलाई चुनावको अन्तिम एकमहिना भ्याईनभ्याई हुन्थ्यो। तर, अहिलेको चुनावले उनलाई छोएन। पहिलेजस्तो कुनै सांस्कृतिक कार्यक्रममा पनि उनी सहभागि छैनन्।  

कास्कीको रुपा गाउँपालिकाका कांग्रेस नेता प्रकाशमोहन खनाललाई पनि पहिलेको चुनावमा जस्तो रस छैन। भोट खसाल्नु भन्दा एक–डेढ महिना अघिदेखि नै उनलाई चुवावी चटारोले छुन्थ्यो। तर, यो पटक खनाललाई चुनाव आएजस्तै लागेको छैन। घरदैलोका क्रममा उम्मेदवार घरमा आउँदाबाहेक उनले बाहिरी चुनावी गतिविधि देखेका छैनन। जबकी आफ्नो दलका उम्मेदवारका लागि भोट माग्न पनि उनी निस्केका छैनन।  

भरत र प्रकाश मात्रै होईनन, यसपटकको चुनाव धेरैलाई लागेको छैन। व्यवसायी, विद्यार्थी, कलाकार, सर्वसाधारणले कसैले पनि चुनावी माहोल तातेको देखेका छैनन। राजनीतिक दलकै कार्यकर्तालाई पनि यो पटक चुनाव लागेको छैन। भोट खसाल्ने दिन नजिकिदै गएपनि निर्वाचनबारे धेरैलाई चाँसो छैन। न सर्वसाधारणले घरदैलो कार्यक्रम देखेका छन, न, कोणसभा नै। उम्मेदवारको घरदैलोमा पनि ८–१० जना भन्दा बढी हिडेको देख्नै पाइन्न।  

चुनावी माहोलमा पुराना नेता कार्यकर्ता, शुभेच्छुक र मतदाता त परिचालित भएनन् नै, स्वयं राजनीतिक दल पनि सक्रिय देखिन्न। ठूला दलहरु कांग्रेस, एमाले, माओवादी लगायत दलका जिल्लास्तरका नेता औपचारिकताका लागि दिनमा एकपटक नजिकको घरदैलोमा देखिएपनि केहीबेर सहभागि भएपछि छल परेर निस्कने गरेका छन्। 

त्यतिमात्र होईन, सर्वसाधारणलाई पनि चुनावप्रति दलहरुले तान्न सकेका छैनन्। उम्मेदवार घरदैलोमा पुग्दा कोहि खेतबारीमा भेटिन्छन् त कोहि व्यापार, व्यवसायका लागि कर्म क्षेत्रमा। दलहरुले न त मतदातालाई आकर्षण गर्न सकेका छन, न कार्यकर्ता परिचालनलाई नै। निर्वाचनको प्रचारप्रसार गर्ने समय घर्किनै लाग्दा पनि सहरमा चुनावी माहोल तातेको दलहरुले नै पाएका छैनन्।  

त्यत्ति मात्र होईन, ठुला दलहरुले अहिलेसम्म चुनावी सभा पनि गरेका छैनन्। अघिल्ला चुनावमा जनसहभागितामा प्रतिश्पर्धा गर्दै केन्द्रीय नेताको सहभागतामा आमसभा गर्न तछाडमछाड गर्ने दलहरुले पनि यो पटक ठुला सभा आयोजना गरेका छैनन। केही दिनअघि केन्द्रीय नेताहरुलाई बोलाएर यहाँको पोखरा सभागृहको ढोकाभित्र औपचारिक कार्यक्रम मात्र गरेका थिए। निर्वाचन आयोगले आचारसंहितामा कडाई गर्दै कात्तिक १७ देखि मंसिर १ गतेसम्म आमसभा, कोणसभा, जुलुस गर्न पाउने गरि समय तोकिदिएको भएपनि दलहरु ठूला आकारका आमसभा गर्न चुकेका छन्। आमसभा, कोणसभा गर्न पाउने भएपनि आयोगले चुनाव क्षेत्रमा भएको आमसभा वा कोणसभाका लागि मञ्च बनाउँदा लागेको खर्च विवरण चुनाव सकिएको १५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ।  

ठुला दलले आमसभा त गरेनन नै, मतदाता पनि उत्तिसारो चुनावी माहोलमा उत्साही छैनन्। गाउँका मतदाता अहिले धान थन्क्याउने चराटोमा छन्। नेताहरुको नचाहिँदा आश्वासनको पोको सुन्ने फुर्सद नभएको उनीहरु बताउँछन। ‘राजनीति त फोहोरी खेल रहेछ। यस्तो फोहोरी राजनीतिमा पनि उम्मेदवारको पछि लागेर कोहि हिड्छ? म त हिड्दिन अबदेखि,’ शर्माले भने, ‘नेताका झुठा आश्वासन सुनेर कान दुखाउनु छैन।’ दलका नेताको झुटा आश्वासन देखि दिक्क भएर घरदैलोमा आउँदा पनि घरबाहिर ननिस्केको उनले बताए।

‘पहिले पनि भोट हालैको हो, तर हामीलाई के भो? अब फेरी पनि तपाईंहरुलाई भोट किन हाल्ने?’ म यस्तै जवाफ माग्छु, त्यसपछि उम्मेदवार नाजवाफ हुन्छन,’ उनले भने। कांग्रेस नेता खनाल भने पार्टी जिम्मेवारीमा नभएकाले चुनावमा नहिडेको बताउँछन्। खनालले भने, ‘चुनावमा कार्यकर्तालाई कुनै जिम्मेवारी दिइएन। अब के भनेर भोट माग्दै हिडौं। चुनाव आएजस्तै पनि लागेको छैन।’  

विश्लेषकहरु पनि चुनावी माहोल अघिल्ला पटकजस्तो नभएको बताउँछन्। समाजशास्त्री दिनेश प्रसाँई भन्छन, ‘चुनावी तामझाम पटक्कै छैन। पहिला जस्तो प्रचारप्रसार पनि सुनिन्न।’ आयोगको आचारसंहिताले केही कडाई गरेपनि यो बेला आमसभा गर्न छुट दिँदा पनि दलहरुले नगरेको उनले बताए। ‘कार्यकर्ताको वितृष्णा पनि हुन सक्छ।  यो पटक पोखरामा ठूला चुनावी सभा समेत हुन सकेनन। धेरै तामझाम ठुला दलहरुले गर्थे, तर, ती केही भएनन,’ उनले भने।

आम जनताको ठुला दलप्रति वितृष्णाका कारण यो अवस्था आएको हुनसक्ने उनको अनुमान छ। ‘दलहरु जनता तान्न सकेका छैनन। आमसभा गरिहाले पनि मतदाता सहभागि हुनेमा पार्टी ‘कन्फिडेन्स’ नभएकोले पनि हुनसक्छ,’ उनले भने, ‘कतिपयलाई गठबन्धनका कारण टिकट नपाएको झोक पनि छ। गठबन्धनले गर्दा चाहेका उम्मेदवार नपाउँदा दलका निकटका मतदाता सुस्ताएको पनि हुन सक्छ।’ उनले सबैतिरको सहरमा चुनावी गतिविधि नतातेको बताए। ‘बरु स्वतन्त्रको चर्चा बढी छ। कोणसभा पनि स्वतन्त्रको जोस जाँगर देखिन्छ, तर, ठुला पार्टी चुपचाप जस्तै छन,’ उनले भने, ‘बरु गाउँमा चुनाव लागेजस्तो देखिएपनि सहरमा भने चुनावी माहोल नै देखिएन।’  

राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल पनि आमसभा, कोणसभा गर्न आयोगले अनुमति दिएपनि खर्च विवरणमा केही कडाई गरेको छ। तर गतिविधि नै गर्न नपाउने भन्ने नभएको उनी बताउँछन। ‘आचारसंहिताले केही कडाई त गरेको छ। तर, आमसभा नै गर्न नपाउने भन्ने होईन, चुनावी माहोल तातेको देखिन्न,’ दाहालले भने, ‘दलहरुमा विकल्प नदेखेर हो वा परिवर्तन नदेखेर, मतदाता पनि उत्साही छैनन। जो आएपनि उस्तै हो भन्ने लागेपनि दलको कार्यक्रममा सहभागिता घटेको हुनसक्छ। पार्टीले पनि क्याम्पेनिङ गरेको देखिएन।’  

दाहालको नजरमा पनि पहिले जस्तो प्रभावकारी प्रचारप्रसार कतै छैन। ‘आयोगले कोणसभा, आमसभा गर्न त रोकेको छैन। तर, कार्यकर्ता परिचालन गर्न खोज्दा पहिलेजस्तो ठुलो आकार देखाउन अब दलहरुलाई गाह्रो छ,’ उनले भने ‘अहिले मतदाता नै इच्छुक छैनन। पहिला पहिला धम्क्याएर पनि ल्याउने गरिन्थ्यो, अहिले त्यो अवस्था छैन।’

 हिजोका लागि केही दल र उम्मेदवार नयाँ हुँदा चुनावी आकर्षण बढेपनि अहिले सबै पात्र, प्रवृत्ति उस्तै भएपछि मतदातामा चाँसो कम भएको  हुनसक्ने उनको अनुमान छ। ‘अहिले मान्छे भेला गराउन पनि सहज छैन,’ उनले भने, ‘त्यसैले गर्दा दलहरु हच्केका हुन सक्छन।’  

कांग्रेस कास्की प्रवक्ता विश्वशंकर पालिखे आचारसंहिताको कडाईले केही कमजोर भएको स्वीकार्छन। ‘आचारसंहिताले गर्दा २५ जना भन्दा बढी लिएर हिड्न पाइदैन। बढी भन्दा बढी सोसल मिडिया, विद्युतीय सञ्चारमाध्यममा प्रचारप्रसार भएकोले पनि चुनावी सभा कम भएका हुन,’ उनले भने, ‘उम्मेदवारले घरदैलोमा फोकस गर्दा आमसभा कटौटी भएको हो । कोणसभा भने भएको छ।’ ठुलो आमसभा गर्न केन्द्रीय नेतृत्व नै व्यस्त भएको उनले बताए। ‘कार्यकर्तालाई पनि यो बेला धान काट्ने समय भएकोले अलिकति व्यस्त बनाएको छ,’ उनले भने।

एकजना नेताले भने आफ्नो दलको उम्मेदवार भए नभएको हेर्दाै यो शुन्यता छाएको बताउँछन। ‘कताकता गठबन्धनले गर्दा पनि आफ्नो उम्मेदवार नभएको मानसिकता शुभेच्छुकमा छ। कसैलाई चाँसो नै छैन। यो अवस्थामा आउनुमा दलहरुप्रतिको वितृष्णा हो,’ ती नेताले भने, ‘पहिला पहिला घरघरमा झन्डा राखिन्थ्यो, सभासम्मेलन हुन्थे। उम्मेदवार पनि कस्सिएर घरघरमा पुग्थे । अहिले सबैतिर सुनसान छ।’  

एमाले कास्कीका कार्यवाहक अध्यक्ष तेजनारायण अधिकारीले भने आफ्ना लागि चुनाव लागेको बताउँछन। ‘मेरा लागि भ्याइ न भ्याई छ। तर, पहिलेजस्तो घरदैलोमा २–४ सयजना शुभेच्छुक लिएर कोही हिडेका छैनन,’ उनले भने, ‘ठुलो आवाजमा म्यूजिक बजाउन आचारसंहिताले कडाई गरेको छ। तर, उम्मेदवार मतदाताको घरमा भने पुगेका छन । बाहिरको तामझाम देखिएको छैन।’ आमसभा गर्न पाउने भएपनि केन्द्रीय नेताको व्यवस्तताले सम्भव नभएको उनले बताए। ‘केन्द्रीय नेता पनि व्यस्त छन्। त्यसले गर्दा आमसभा भएको छैन। आवश्यक अनुसार कोणसभा गर्न भनेका छौ। चुनावी हिसाबले लावालस्कर लिएर नगएकै हो,’ अधिकारीले भने, ‘लावालस्कर नहुँदा चुनाव लागेजस्तो अनुभव नभएको हुन सक्छ।’

प्रकाशित: २७ कार्तिक २०७९ १०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App