राजनीति

चुनावी सभा सम्बोधन गर्न ओली पुनः सुदूरपश्चिममा

सुदूरपश्चिमको दार्चुला जिल्लाबाट चुनावी शभाको आरम्भ गरेका नेकपा एमालेका अध्यक्ष केपी ओली आज शनिबार पुनः सुदूरपश्चिम पुगेका छन्।  

गत कात्तिक १८ गते ओलीले दार्चुला, बैतडी र कंचनपुरको चुनावी शभालाई सम्बोधन गरेका थिए। ८ दिनपछि उनी चुनावी शभालाई सम्बोधन गर्न सुदूरपश्चिम आएका हुन। श्री एयरलाईन्सबाट धनगढी पुगेका ओली दिपायल र कैलालीका चुनावी शभालाई सम्बोधन गर्न हेलिकोप्टर प्रयोग गर्ने छन्।

अध्यक्ष ओलीले डोटीको दिपायल, कैलाली निर्वाचन क्षेत्र ४ मा रहेको अत्तरिया र कैलाली निर्वाचन क्षेत्र २ रहेको लम्कीको चुनावी शभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितीका सचिव धर्मराज पाठकले बताए।

नेकपा एमालेले महत्वका साथ उठाएको बिषय चुच्चे नक्सा सुदूरपश्चिम प्रदेशको दार्चुलामा पर्छ। नेकपा एमालेको सरकारका पालामा भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेखसहितको भुभाग  समेटेर नक्सा बनाइएको र यो भुभाग फिर्ता गर्न पनि एमाले सरकार आवश्यक रहेको सन्देश दिन दार्चु्लाबाट चुनावी शभाको आरम्भ गरेको दार्चुलामा सम्बोधनका क्रममा ओलीले भनेका थिए।  

‘पछाडी परेका समुदायका जनतालाई समस्या समाधान गरेर बिकासको मुलधारमा ल्याउने र नेपालको एक इन्च भुमी पनि गुम्न नदिई गुमेको भुभाग फिर्ता ल्याउने ग्यारेण्टि गर्ने दुई मुख्य कुराको सन्देश दिन दार्चुला बाट प्रचार अभियान प्रारम्भ गरिएको हो’ उनले भनेका थिए। आठ दिनको फरकमा दोश्रो पटक पुन अध्यक्ष ओली सुदूरपश्चिममा आउँदा उनले सुदूरपश्चिमलाई बढी प्राथमिकता किन दिए भनेर चर्चा चलेको छ।

यस प्रदेशका एमालेका नेता भीम रावललाई टिकट नदिएका अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशमा राम्रो नतिजा निकाल्न बढी प्राथमिकता दिएको विश्लेषण गर्न थालिएको छ। प्रतिनिधीशभामा १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा सुदूरपश्चिम प्रदेशमा वि.सं. २०७४ मा माओवादी केन्द्रसँग गठबन्धन गरेको नेकपा एमालेले ११ सिट जितेको थियो भने माओवादी केन्द्रले ३ निर्वाचन क्षेत्रमा जितेको थियो। नेपाली काग्रेसले १ निर्वाचन क्षेत्रमा मात्र जितेको थियो। डडेल्धुृरामा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव जितेका थिए। यसैगरि कैलाली निर्वाचन क्षेत्र १ मा राजपाका रेशमलाल चौधरीले जितेका थिए।

अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेबाट बिभाजन भएको एकिकृत समाजवादी लगायतको सत्ता गठबन्धनका उम्मेदवारसँग नेकपा एमालेका उम्मेदवार एक्लै प्रतिस्पर्धामा छन।

नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा एमालेले प्रतिनिधीशभामा १० सिट र प्रदेश शभामा ३० सिट जित्ने दाबी गरेका छन्।

प्रकाशित: २६ कार्तिक २०७९ ०७:०४ शनिबार

एमालेका अध्यक्ष केपी ओली