राजनीति

सिन्धुपाल्चोक-१ प्रदेश सभा (क) र (ख): युवा उम्मेदवारबीच चर्को प्रतिस्पर्धा

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १, प्रदेश सभा (क) र (ख) मा सत्ता गठबन्धन तथा एमाले उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदै छ।  

दुबैतर्फका उम्मेदवार युवा रहेकाले चुनावी नतिजा आ–आफ्नो पक्षमा पार्न उनीहरु चर्को प्रतिस्पर्धा गरिरहेका छन्। आफू युवा रहेकाले युवा मतदाताको भोट तान्न उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्र बनाउँदै लगेका छन्। आफ्नो पार्टीको चुनावी घोषणापत्र र स्थानीय प्रतिवद्धता लिएर उनीहरु मतदातामाँझ पुगिरहेका छन्।  

प्रदेश (क) मा सत्ता गठबन्धनबाट कांग्रेसकी मसिना खड्का भण्डारी चुनावी मैदानमा उत्रिएकी छिन्। एमालेबाट युद्धबिक्रम लामा एक्लै प्रतिस्पर्धामा होमिएका छन्। (ख) प्रदेशमा गठबन्धनको साझा उम्मेदवार बनेर माओवादीका सरल सहयात्री पौडेल प्रतिस्पर्धामा ओर्लिएका छन्। उनलाई एमाले उम्मेदवार होमनारायण श्रेष्ठले कडा टक्कर दिई रहेका छन्।  

चारै उम्मेदवार युवा छन्। राजनीतिमा खारिएका उनीहरुबीचको प्रतिस्पर्धा उत्तिकै रोचक बन्दै गएको छ। ठूला पार्टीबाट प्रदेश सभामा अवसर पाउने भण्डारी पहिलो र एक्ली उम्मेदवार हुन्। समाजसेवा पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेकी उनी कांग्रेस बागमती प्रदेश सदस्य छिन्। कांग्रेस १४ औँ महाधिवेशनको नयाँ क्रियाशील सदस्य उनी पार्टी राजनीतिक थालेको थोरै समयमा फड्को मारेर प्रदेशसभा सदस्यको उम्मेदवार बनेकी हुन्।  

भण्डारीसँग प्रतिस्पर्धा गरिरहेका लामा एमालेमा नयाँ अनुहार हुन्। कांग्रेस पृष्ठभूमिका उनी २०७४ को स्थानीय चुनावअघि एमाले प्रवेश गरेका थिए। उक्त निर्वाचनमा उनी बाह्रविसे–३ को वडाध्यक्षमा उम्मेदवार बनेर पराजित भएका थिए। संसदीय चुनावी मैदानमा भण्डारी र लामा दुबै नयाँ अनुहार हुन्।  

२०७४ को प्रदेशसभा निर्वाचनमा (क) प्रदेशबाट माओवादीसमेतको मतमा एमालेका अरुण नेपाल निर्वाचित भएका थिए। उनले कांग्रेसका विष्णुबहादुर खत्रीलाई ७ हजारभन्दा बढी मतान्तरले हराएका थिए। नेपालले २१ हजार ७ सय १२ मत पाउँदा खत्रीले १४ हजार ६ सय ३३ भोट मात्रै ल्याए।  

प्रदेश (ख) मा प्रतिस्पर्धा गरिरहेका माओवादीका पौडेल र एमालेका श्रेष्ठ ‘हेभिवेट’ उम्मेदवार हुन्। दुबै उम्मेदवार पार्टीभित्र प्रभावशाली र लोकप्रिय मानिन्छन्। जिल्लाको चार प्रदेशसभा क्षेत्रमध्ये यहाँको चुनावी प्रतिस्पर्धामा धेरैको चासो देखिएको छ। लडाकु पृष्ठभूमिका पौडेल माओवादी बागमती प्रदेश अध्यक्ष हुन्।  

२०७० को संविधान सभा निर्वाचनमा उनी साविक क्षेत्र नं. १ बाट उम्मेदवार बनेका थिए। १० हजार मत ल्याएर उनी त्यतिबेला तेस्रो बनेका थिए। देशैभर माओवादीले चुनाव हार्दा उनले ल्याएको मतलाई राम्रो मानिएको थियो। एमाले बागमती सदस्य श्रेष्ठ निवर्तमान गाउँपालिका अध्यक्ष हुन्। २०७४ को स्थानीय तह निर्वाचन जितेर उनी जुगल गाउँपालिका अध्यक्ष बनेका थिए।  

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष रहेका श्रेष्ठ एमाले बागमती सदस्य हुन्। २०५४ को स्थानीय निकायको चुनावमा उनी तत्कालीन पाङताङ गाविस अध्यक्ष बनेका थिए। २०७४ को प्रदेशसभा निर्वाचनमा यहाँबाट माओवादीसमेतको मतमा एमालेका सरेश नेपाल निर्वाचित भएका थिए। उनले कांग्रेसका राजेन्द्रकुमार श्रेष्ठलाई साढे १० हजारभन्दा बढी मतान्तरमा हराएका थिए। नेपालले २२ हजा ८ सय ३७ मत पाउँदा श्रेष्ठले १२ हजार १ सय ८७ भोट मात्र ल्याएका थिए।

अंकगणित गठबन्धनको पक्षमा

पछिल्लो स्थानीय तह निर्वाचनमा प्राप्त मतको आधारमा दुबै प्रदेश सभामा गठबन्धनका उम्मेदवारको पल्लाभारि छ। दुबै प्रदेशमा गठबन्धन एमालेको भन्दा दोब्बर बढी मतले अगाडि देखिन्छ।  भोटेकोसी, त्रिपुरासुन्दरी, लिसंखुपाखर गाउँपालिका र बाह्रविसे नगरपालिका (क) प्रदेशमा समेटिएको छ।  

गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा वडाध्यक्षहरुले ल्याएको मतपरीणामको आधारमा यहाँ गठबन्धनसँग २७ हजार १ सय ९२ मत छ। एमालेसँग १३ हजार ७ सय नौ मत रहेको छ। यहाँ कांग्रेस एक्लैले १८ हजार १ सय ६९ मत ल्याउँदा माओवादीले ७ हजार ९ सय २६  र एकीकृत समाजवादीका वडाध्यक्षहरुले १ हजार ९७ भोट प्राप्त गरेका थिए।  

त्यस्तै सुनकोसी, बलेफी र जुगल गाउँपालिका तथा चौतारा नगरपालिकाका–२, ३, ४, ९ र १० नं. वडा प्रदेश (ख) मा समेटिएका छन्। वडाध्यक्षले ल्याएको मतको आधारमा यहाँ गठबन्धनसँग २५ हजार ५ सय २ मत छ। एमालेसँग १२ हजार ८ सय ५० मत मात्र छ। यहाँ कांग्रेस एक्लैले १६ हजार ७ सय ९२ मत ल्याएको थियो। गठबन्धनको माओवादीसँग ११ हजार ४ सय १७ र एकीकृत समाजवादीसँग १ हजार २ सय ९३ मत रहेको देखिन्छ।  

गठबन्धनका उम्मेदवार स्थानीय चुनावकै मत संरक्षण गरेर जित्ने दाउमा छन्। तर कांग्रेसले माओवादी तथा माओवादीले कांग्रेसको मत जोगाउन गठबन्धका उम्मेदवारलाई चुनौती छ। अंकगणितले निकै पछाडि रहे पनि चुस्त र चलायमान संगठन एमालेका उम्मेदवारलाई कमजोर आँक्न नहुने तर्क गर्ने धेरै छन्। भोकभोकै खट्न सक्ने जाँगरिला कार्यकर्ता एमालेको पूँजी हो।

यसैलाई परिचालन गरेर गठबन्धनबाट असन्तुष्ट र अस्थिर बनेका मतदाताको मत भारी मात्रामा आफूतिर ‘ट्रान्सफर’ गराउने रणनीति एमाले उम्मेदवारले अघि सारेका छन्। असन्तुष्ट केही भोट एमालेलाई जानबाट कसैले रोक्न नसक्ने देखिए पनि ठूलो मात्रामा त्यस्तो मत पाउन उसका उम्मेदवारलाई सजिलो भने छैन।  

प्रकाशित: २४ कार्तिक २०७९ १२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App