राजनीति

कपिलवस्तुमा बाम लोकतान्त्रिक गठबन्धन र एमालेबीच टक्कर

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै कपिलवस्तुमा उम्मेदवारहरु प्रचासप्रसारलाई तीव्रता दिएका छन्। उनीहरु घरदैलो, भेटघाट, सभा, लगायतकामा अहिले व्यस्त छन्।

निर्वाचन आउँन १० दिन मात्र बाँकी रहँदा उनीहरुले मतदातालाई आकर्षित गर्न जोड-तोडले लागेका छन्। चुनावमा उम्मेदवारहरुले आफूले जित्ने दाबी गरेका छन्। तर बाजी कस्ले मार्ने हो त्यो भने चुनावी परिणामपछि बल्ल थाहा हुने मतदाताहरु बताउँछन्। कपिलवस्तुमा बाम लोकतान्त्रिक गठबन्धन र एमालेबीच नै कडा टक्कर हुने देखिन्छ।

मंसिर ४ गते हुने निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन र एमाले नै कडा टक्कर हुने देखिएको छ। मधेसवादी र जसपाका नेताहरु एमाले काँग्रेसमा प्रवेश गरेपछि ती दुई पक्षबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ। स्वतन्त्र समूहका बृजेशकुमार गुप्ता, जसपाका नेता मंगलप्रसाद गुप्ता, लोसपाका नेता मधुसुदन शरण चौधरी नेता दानबहादुर चौधरी एमाले र जसपाका नेता सहसराम यादव, निसार अहमद खा लगायतका नेता काँग्रेसमा प्रवेश गरेका छन्।

मधेसवादी दलका नेताहरु धमाधम एमाले र काँग्रेसमा प्रवेश गरेका छन्। जसले गर्दा मधेसवादी दल कपिलवस्तुमा विगतको तुलनामा कमजोर बनेको छ। गत वैशाख ३१ मा स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरुले पाएको मतका आधारमा पनि बाम लोकतान्त्रिक गठबन्धन र एमालेबीच नै कडा प्रतिस्पर्धा देखिएको छ। गत स्थानीय तहमा पाएको मतका आधारमा पनि दलहरुको आगामी प्रतिस्पर्धाको आँकलन गर्न सकिन्छ।

लगातार चुनाव जित्दै आएका नेताहरु अहिले फेरी चुनावी मैदानमा छन्। जिल्लाका तीन क्षेत्रमा लगातार उम्मेदार बनेका नेताहरु दल परिर्वन गर्दै मैदानमा उत्रिएपछी अहिले यी नेताहरुको वर्चश्व जोगिएला कि गुम्ला भन्ने चर्चा परिचर्चा पनि राजनीतिक वृत्तमा निकै रहेको छ।

२०७४ सालको निर्वाचनमा एमालेको समर्थनमा १ नम्बर क्षेत्रबाट माओवादीका चक्रपाणी खनाल ‘बलदेव’२ नम्बर क्षेत्रबाट तत्कालीन स्वतन्त्र (हाल एमाले) वृजेश गुप्ता र ३ नम्बर क्षेत्रबाट काँग्रेसका अभिषेक प्रताप शाह निर्वाचित भएका थिए। खनाल २०७४ मा र गुप्ता लगातार चार पटक र शाह लगातार ३ पटक सांसद निर्वाचत भएका हुन।  

प्रतिनिधिसभा क्षेत्र नम्बर १

प्रतिनिधिसभा अन्तर्गत कपिलवस्तु–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल (बलदेव) र एमालेका बलराम अधिकारीबीच चुनावी भिडन्त हुने देखिन्छ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव तथा पूर्वमन्त्रीसमेत रहेका चक्रपाणी खनाल (बलदेव) र नेकपा (एमाले)का जिल्ला इन्चार्ज एवं संविधानसभा सदस्य बलराम अधिकारीबीच मुख्यतः प्रतिस्पर्धा हुने देखिएको हो। क्षेत्र नम्बर १ मा ‘हेविवेट’ उम्मेदवार बलदेवलाई टक्कर दिन बलराम चुनावी मैदानमा छन्।

कपिलवस्तु–१ मा दुवैतर्फका यी उम्मेदवार जिल्लामा पाका एवं हक्की नेताका परिचित छन्। २०७४ को निर्वाचनमा बलदेव र बलराम साझा सहकर्मी थिए। अहिल भने आमने-सामने छन् माओवादीका स्थायी कमिटी सदस्य खनाल तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमाण्डर हुन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालको अतिविश्वास पात्र भएकाले फेरी सोही क्षेत्रमा उम्मेदार बन्ने अवसर पाएका हुन्।

उनी निर्वाचित भए मन्त्री हुने र विगतका अनुभवबाट जनतामा जादाँ पाएका सुझावका आधारमा आगामी दिनमा नयाँ शैलीबाट काम गर्ने उनले बताए। ०७४ सालमा एमालेकै समर्थनमा उम्मेदवार भएका माओवादी केन्द्रका बलदेवले कपिलवस्तु १ मा २९ हजार ७९९ मत ल्याएका थिए।

उक्त निर्वाचनमा काँग्रेसका उम्मेदवार दीपकुमार उपाध्यायले २८ हजार ८५३ मत पाएका थिए। २०७४ को निर्वाचनका मुख्य प्रतिस्पर्धी रहेका बलदेव र उपाध्याय अहिले वाम लोकतान्त्रिक गठबन्धनका कारण एकै ठाउँमा सत्ता साझेदारका रूपमा रहेका छन्।

गत वैशाखमा मात्रै भएको स्थानीय तहको निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर १ मा ३० वडाध्यक्षहरूको मतलाई आधार मान्दा सत्ता गठबन्धन नै अघि रहेको छ। काँग्रेसका वडाध्यक्षहरूले २८ हजार २ सय ७१ ल्याएका थिए। एमालेका वडाध्यक्षले २६ हजार ८ सय २३ रहेको छ। त्यस्तै, जसपाको १३ हजार ५सय १०, माओवादी केन्द्रको ९ हजार ३३८, एकीकृत समाजवादीको ३ हजार ७२२, लोसपाको ३ हजार ४ सय २४, राप्रपाको २ हजार ४८० रहेको छ।

हाल कायम रहेको वाम लोकतान्त्रिक गठबन्धनअन्तर्गत नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको प्राप्त मतलाई आधार मान्दा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अगाडि रहेका छन्। कपिलवस्तु–१ मा कुल मतदाता एक लाख ४१ हजार १३ रहेका छन्।

२०७० मा पहिलोपटक कपिलवस्तु–१ मा एमालेको झण्डा गाडेका अधिकारीलाई यसपटक सत्ता गठबन्धनको सामना गर्नुपर्ने भएको छ। विभाजनका बेला एमाले तिरै बसेका पूर्वमाओवादी नेता कार्यकर्ताको मत र परिचालनले अधिकारीका लागि थप मद्दत पुग्ने देखिन्छ। गठबन्धन सहयात्री दल जसपाको १ नं क्षेत्रमा प्रतिनिधि क्षेत्रमा उम्मेदवार नहुँदा अझै पर्ख र हेरको स्थिति रहेको छ।

जसपाका जिल्ला अध्यक्ष शैलेन्द्र यादवले आफूहरु प्रतिनिधिसभा उम्मेद कसलाई समर्थन गर्ने भन्ने विषयमा अझै अनिर्णित भएको र अन्ततः विचार मिल्नेसँग सहकार्य हुने बताए। २०७४ को चुनावी मैदान उत्रने तीव्र इच्छा राखेका अधिकारीले टिकट पाएनन्। तत्कालीन प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकारसमेत भइसकेका बलदेव २०७४ मा कपिलवस्तु १ बाट निर्वाचित भइ कृषिमन्त्री भए।

उनको कार्यकाल छोटो भए पनि मुख्य गरी जमिन र कृषिमा नीति निर्माणमा काम गरी जमिनको व्यवस्थापन ४ प्रकारबाट गर्ने कार्य आरम्भ गरेको उनी बताउँछन्। कपिलवस्तु–१ मा बाणगंगा, मायादेवी, शुद्धोधन पालिकाका सबै र कपिलवस्तुको नगरपालिकाको ७, ८, ९, १० र ११ वडा गरी ३० वडा रहेका छन्। अधिकारी प्रमुख प्रतिपक्षी नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन्।

क्षेत्र नम्बर १ मा जिल्लाको मायादेवी, शुद्धोधन र कपिलवस्तु नगरपालिकाका आंशिक क्षेत्रहरू समेटिएका छन्। दक्षिणी क्षेत्रमा कमजोर रहेको एमाले दानबहादुर चौधरी र मधुसुदनशरण चौधरी एमालेमा प्रवेश गरेपछि उनी उत्साही बनेका छन्। काँग्रेसमा टिकट नपाएपछि पुराना नेता ललति गुरुङ प्रतिनिधिसभाका बागी उम्मेदवार बनेका छन्। उनले आफूले काँग्रेस र तटस्थ भोट बढी पाउने बताउँछन्।

उता, काँग्रेसले क्षेत्र नम्बर १ को १ मा प्रदेश सदस्यमा डोलकराम घिमिरे, १ को २ मा सहसराम यादवलाई उम्मेदवार बनाएको छ। २०७४ सालमा जसपाबाट यादव यही क्षेत्रबाट चुनाव जितेका थिए। लुम्बिनी प्रदेशको संसदीय दलको नेता र भौतिक पूर्वाधार मन्त्री समेत रहको यादव जसपा छाडी काँग्रेसमा प्रवेश गरेका थिए।

घिमिरे उद्योग वाणिज्य संघ कपिलवस्तुका अध्यक्ष समते हुन्। उता, एमालेले क्षेत्र नम्बर १ को १ मा २०७४ सालमा प्रदेश सदस्य निर्वाचित भएका बिष्णु पन्थी र १ को २ मा मधुसूदन शरण चौधरीलाई उम्मेदवार बनाएको छ। पन्थी २०७४ को निर्वाचनमा जित हासिल गरेका थिए।

क्षेत्र नम्बर २

कपिलवस्तुको २ नम्बर क्षेत्रमा एमालेबाट वृजेशकुमार गुप्ता चुनाव मैदानमा रहेका छन्। यसअघि २०७४ सालमा हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीति समूहमा रहेर पनि सूर्य चिह्न लिएर चुनाव लडेर जितेका उनी अहिले एमालेमा छन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले चैत १४ गते एमालेमा प्रवेश गराएका थिए।

उनी कपिलवस्तुबाट लगातार ४ पटक जितेर जिल्लामा आफ्नो वर्चस्व जमाएका नेता हुन्। उनलाई अहिले सत्ता गठबन्धनवाट काँग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले चूनौती दिएका छन्। गत निर्वाचनमा पनि गुप्ता र आचार्यको प्रतिस्पर्धा हुँदा झन्डै साढ ३ हजार मतको अन्तरमा गुप्ता विजयी भएका थिए। गुप्ताले ३५ हजार १ सय २७ मतका साथ विजयी हुँदा आचार्यले ३१ हजार ५ सय ६६ मत ल्याएका थिए। गुप्ताले २०५६, २०६४, २०७० र २०७४ सालको निर्वाचनमा जितेका थिए।

उत्तर तर्फको मत पाउन एमाले छिरेका गुप्तालाई अहिले ज्रित्न त्यति सहज भने नरहेको मतदाताहरु बताउँछन्। विगतमा नेपाली काँग्रेसमा आफ्नै गुट उपगुटका कारण चुनाव हारेको भएता पनि हाल पाटीभित्र एक मन एकता र गठबन्धन शक्तिहरु समेत भएको हुँदा आचार्यको जित सहज हुने काँग्रेस नेताहरु बताउँछन्।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वार्ड अध्यक्षहरु पाएको मतको आधारले नेपाली काँग्रेस अगाडि देखिन्छ। कपिलवस्तु २ मा काँग्रेस ३० हजार ९९८, एमाले २७ हजार २९८, जसपा ६ हजार ९०८, लोसपा ६ हजार ३८६, माओवादी ४ हजार ४५९, राप्रपा २०३५, एस ६९१ रहेको छ। उनलाई गठबन्धन दलहरुको समेत राम्रो साथ छ। उता पूर्वमन्त्री ईकबाल अहमद शाह पनि लोसपाबाट उम्मेदवार बनेका छन्। उनले गुप्ता र आचार्य दुवैको मत काटने मतदाताहरु बताउँछन्।

जसपाले क्षेत्र नम्बर २ मा समेत उम्मेदवार उठाएको छैन। त्यो जसपाको मत कता जान्छ त्यसले पनि जीतको आधार तय गर्छ। जसपाका अधिकांश नेताले आफूहरुले प्रतिनिधिसभामा काँग्रेसलाई समर्थन गर्ने बताउँदै आएका छन्। काँग्रेसले क्षेत्र नम्बर २ क मा पूर्वएसपी बिक्रम सिंह थापा र २ का ख मा सुधारक पाण्डेयलाई उम्मेदवार बनाएको छ। यस्तै एमालले क्षेत्र नम्बर २ क मा नवराज लामिछाने र २ ख मा धरम बहादुरलाल श्रीवास्तवलाई उम्मेदवार बनाएको छ। श्रीवास्तव २०७४ सालमा निर्वाचित भएका थिए।

क्षेत्र नम्बर ३

कपिलवस्तुमा क्षेत्र नम्बर ३ मा लगातर निर्वाचन जित्ने नेता हुन् अभिषेक प्रताप शाह। उनलाई अहिले एमालेका मंगलप्रसाद गुप्ताबीच मुख्य प्रतिस्पर्धा रहेको छ। त्यसो त गत निर्वाचमा पनि गुप्ता र शाहबीच नै प्रतिस्पर्धा भएको थियो।

२०७४ सालमा गुप्ता तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) बाट उम्मेदार बनेको थिए। २०६४ मा भने मंगल गुप्ता नेपाली काँग्रेसबाट शाहसँगै प्रतिस्पर्धामा थिए। तत्कालीन समयमा शाह फोरमबाट चुनावी जितेका थिए। यस अगाडि २०७४ मा शाहले १९ हजार ८६४ मतका साथ विजयी हुँदा गुप्ताले १५ हजार ७९४ मत ल्याएका थिए।

मंगल गुप्ताले आफ्नो क्षेत्रमा एमालेको संगठन राम्रो देखेर पार्टी प्रवेश गरेका हुन् भने तुलानात्मक रुपमा जसपा भन्दा एमाले संगठन बलियो भएपनि यहाँ शाह र गुप्ताबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। उनी २०६४ सालदेखि नै अपराजित सांसद हुन्। जनता प्रगतिशील पार्टीबाट ईश्वर दयाल मिश्र र राप्रपाबाट दिपक रजौरियाले यसै क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका छन्।

गठबन्धनको तर्फबाट क्षेत्र नम्बर ३ को १ मा एहसान खा र ३ को २ मा काँग्रेस नेता बिरेन्द्र कनौडिया उम्मेदवार छन्। कनौडिया यसअघि २०७४ सालमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। एमालेबाट क्षेत्र नम्बर ३ को १ मा अर्जुन केसी र जसपाका नेता अशोक यादव उम्मेदवार छन्। केसी यसअघि २०७४ सालमा निर्वाचित भएका थिए।

यस्तै लोसपाका रबिदत्त मिश्रा, नेकपा एसका नेता जिवलाल पौडेलले क्षेत्र नम्बर ३ को १ मा र  नेता अताउर रहमानले ३ को २ नम्बरबाट उम्मेदवार छन्। गत वैशाख स्थानीय तहमा वार्ड अध्यक्षहरु पाएको मतको आधारमा कपिलवस्तु ३ मा एमाले १८ हजार ७४७, काँग्रेस १५ हजार ७७०, जसपा ९ हजार ९७४, माओवादी ६ हजार ८४४, राप्रपा ६ हजार ७४, लोसपा ४ हजार ६७५, एस १ हजार ९८६ मत रहेको छ।

प्रतिनिधिसभाको ३ र प्रदेश सभाको ६ सिट रहेको कपिलवस्तुमा १ सय ४३ जना उम्मेदवार छन्। २ सय ३४ मतदान स्थालमा ४ सय ७२ मतदान केन्द्र रहेको कपिलवस्तुमा ३ लाख ७८ ह जार २३२ मतदाता छन्।

प्रकाशित: २४ कार्तिक २०७९ ०९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App