राजनीति

दुई सहयात्रीबीच प्रतिस्पर्धा

मंसिर ४ नजिकीदै गर्दा रूपन्देही क्षेत्र नं. १ को चर्चा र चासो राजनीतिक बृत्तमा बढेको छ। यो निर्वाचन क्षेत्रमा यसपालि कुनै बेलाका सहयात्री पूर्वएमाले नेता घनश्याम भुसाल र एमाले सचिव छविलाल विश्कर्मा चुनावी मैदानमा छन्।

एमालेको एउटै कमिटीमा लामो समय काम गरेका र अघिल्ला निर्वाचनमा सहयोगी भूमिका निभाएका भुसाल र विश्वकर्मा यसपालि भने एकले अर्काको उछितो काडिरहेका छन्। विश्वकर्मा एमाले सचिव हुन्। भुसाल एमाले पार्टी छोडेर स्वतन्त्र रूपमा त्रिभुज लिएर चुनावी मैदानमा उत्रेका छन्। उनलाई सत्ता गठबन्धनको साथ छ। विश्कर्मालाई उनकै गठबन्धन राप्रपा र जसपाको साथ छ।

झण्डै पाँच दशकको राजनीतिक यात्रामा एमालेभित्र मात्रै हैन राष्ट्रिय राजनीतिमै वैचारिक नेताको रूपमा स्थापित भुसालले एकाएक पार्टी छोडेर आफ्नै पूर्वसहयात्रीसँग चुनावी मैदानमा उत्रेपछि यो क्षेत्रलाइ राष्ट्रिय राजनीतिमा चासोपूर्वक हेरिएको हो।

प्रदेशसभा १ (क)मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अब्दुल रज्जाक र एमालेको समर्थनमा राप्रपाका आशिष चौधरी मुख्य प्रतिस्पर्धी हुन्। प्रदेशसभा १ (ख)मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका विश्वनाथ यादव र एमालेका दधिराम न्यौपाने चुनावी मैदानमा छन्।

भुसाल र विश्वकर्माका केही संयोग

भुसालको राजनीतिक यात्रा २०३४/०३५ ताकाको स्कुले जीवनबाटै सुरु भएको हो। विश्वकर्मा २०४६ को जनआन्दोलनको सफलतासँगै उदाएका नेता हुन्। भुसाल र विश्कर्मा दुवै स्याङ्जाली हुन्। स्याङ्जामा जन्मेर रूपन्देहीलाइ राजनीतिक थलो बनाएका नेताहरू उमेरमा एक वर्ष जेठाकान्छा छन्। भुसाल २०१८ सालमा स्याङजाको पिँडीखोलामा र विश्वकर्मा २०१९ सालमा स्याङ्जाको कालिगण्डकी गाँउपालिका (तत्कालीन कृष्णगण्डकी गाविस) स्थित बलाममा जन्मिएका हुन्।

यी दुवै नेताले एमालेको केन्द्रीय कमिटीमा एकैपटक प्रवेश गरे। दुवै नेता कृषिमन्त्री पनि भए। कुनै बेला एक अर्कासँग सौर्हाद सम्बन्ध र सहयोगी भूमिका निभाएका नेताहरू अहिलेको चुनावी मैदानमा आमनेसामने छन्। २०७० र २०७४ को निर्वाचनमा विश्वकर्माले रूपन्देही १ बाट उम्मेदवार बन्ने इच्छा व्यक्त गर्दा क्षेत्र र नगरका अधिकांश पुराना नेता कार्यकर्ताले विश्वकर्मालाई टुरिष्ट उम्मेदवार भनेर पन्छाउने प्रयास गरेका थिए। भुसालको गृहक्षेत्र भएकाले यहाँबाट उनैलाइ टिकट दिइनुपर्ने आवाज उठेको थियो।

विवाद केन्द्रसम्म पुग्यो। ओली गुटसँग राम्रो सम्बन्ध भएका विश्वकर्मालाई केन्द्रको साथ थियो। तर स्थानीयस्तरमा एउटा ठुलो तप्कामा असन्तुष्टि थियो। त्यसो हुँदाहुँदै पनि भुसालकै उदार सोच र राजनीतिक चेतका कारण एक नम्बर क्षेत्रमा विश्वकर्माको इन्ट्री सम्भव भएको एमालेकै नेताहरू बताउँछन्। ‘भुसालजीले व्यक्तिवादी राजनीति नगरौं अरूको बाटो छेकेर कहीँ पुगिँदैन, नाम सिफारिस गर्दैमा बिग्रिदैन भन्नुभयो त्यसपछि विश्वकर्माको नाम सिफारिसमा परेको हो,’ ती नेताले भने।

भुसालमा जस्तो सहिसुष्ण राजनीतिक चेत विश्वकर्मामा नभएको टिप्पणी पनि ती नेताको थियो। एमालेकै एकजना जिम्मेवार नेता तथा कार्यकर्ताको यो भनाइले विश्वकर्मामाथि ९ वर्षअघि लागेको टुरिष्ट उम्मेदवारको ट्याग अझै नहटेको पुष्टि हुन्छ। यता भुसाललाइ पनि एक पटक निर्वाचन हारेपछि क्षेत्रलाइ चटक्कै बिर्सेको भन्ने आरोप चुनौतीकै रूपमा देखिएको छ।

स्याङ्जा जन्मथलो भएका भुसाल र विश्वकर्मा २०६५ सालमा बुटवलमा भएको एमालेको आठौं महाधिवेशनबाट पहिलो पटक केन्द्रीय कमिटिमा पुगे। पोलिटब्युरो सदस्यमा उनीहरू एकै पटक उक्केलका हुन्। नवौं महाधिवेशनबाट भुसाल उपमहासचिव निर्वाचित भए। विश्वकर्मा स्थायी कमिटि सदस्य भए। १०औं महाधिवेशनमा भने विश्कर्मा सचिवमा निर्वीरोध भए। भुसाल उपाध्यक्षमा पराजित भए। पार्टीले भुसाललाई स्थायी कमिटिमा लग्यो।

को हुन् भुसाल?

भुसाल २ वर्षको हुँदा उनको परिवार रूपन्देहीको मणिग्राममा बसाइँ सरेको हो। विद्यालय स्तरको शिक्षा उनले मणिग्रामकै गिर्वाण स्कुलबाट पूरा गरे। सोही स्कुलमा अध्ययनकै क्रममा उनी पञ्चायतविरुद्धको बामपन्थी अभियानमा लागेका थिए। २०३४ सालअघिदेखि नै उनी मालेमा पार्टीको सक्रिय कार्यकर्ताको रूपमा क्रियाशील थिए।

भुसालले पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा स्नातक र काठमाडौंबाट समाजशास्त्रमा स्नातकोत्तरको अध्ययन पूरा गरेका हुन्। पञ्चायतविरुद्धको आन्दोलनमा लाग्दा २०४६ अघि नै पक्राउ परी जेल नेल भोगेका हुन्। पार्टी राजनीतिमा अनेरास्वियुको केन्द्रीय महासचिव हुँदै २०५० मा एमाले रूपन्देहीको उपसचिव भए भने २०५१–२०५३ मा एमालेको जिल्ला नेतृत्व सम्हाले।

२०५८–२०६४ सम्म एमालेको केन्द्रीय प्रचार विभागमा रहेका भुसालले स्कुल विभागको सदस्यदेखि उपप्रमुखसम्मको भूमिका निभाएका थिए। हुँदै २०६५ मा बुटवलमा सम्पन्न एमालेको आठौं महाधिवेशनबाट केन्द्रिय सदस्य भए। त्यसपछि पोलिटब्युरो सदस्य भए। नवौं महाधिवेशनबाट उपमहासचिव निर्वाचित भए। १०औं महाधिवेशनमा भने उपाध्यक्षमा पराजित भए।

भुसाल २०५३ को उपनिर्वाचन जितेर पहिलोपटक संसद् पसेका हुन्। २०५१ मा रूपन्देही क्षेत्र नं. २ बाट निर्वाचित भएका एमाले सांसद धनपति उपाध्यायको निधन भएपछि २०५४ मा उपनिर्वाचन भएको थियो। तत्कालिन समयमा उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको तर्फबाट मन्त्री पनि बने। २०६४ को संविधानसभा निर्वाचनमा टिकट पाएनन् र २०७० मा तत्कालीन समयमा गृहक्षेत्र रहेको ३ नम्बरबाट टिकट पाए।

त्यो चुनावमा उनी कांग्रेसका नेता बालकृष्ण खाँणसँग ८४ मतले पराजित भएका थिए। सोही क्षेत्रबाट २०७४ को निर्वाचन जिते। त्यतिबेला कांग्रेस राप्रपाको गठबन्धनबाट उम्मेदवार भएका राप्रपाका दीपक बोहोरालाई भुसालले ५ हजार बढी मतले पारजित गरेका थिए।  

को हुन् विश्वकर्मा?

भलिवलमा राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा राखेप सदस्य भएर खेलकुद क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका विश्वकर्मा खेल क्षेत्रमा चर्चा कमाएका व्यक्ति हुन्। २०३५ सालमा गणेश जनता माविबाट प्रवेसिका उत्तीर्ण गरेका विश्वकर्माको उच्च शिक्षा बुटवलको बुटवल बहुमुखी क्याम्पसबाट सुरु भएको हो। त्यसपछि उनी र उनको परिवार बुटवल झरेको हो।

हाल उनको घर बुटवल उपमहानगर ११ कालिकानगरमा छ। जुन निर्वाचन क्षेत्र २ मा पर्छ। विश्वकर्माले भारतको पटियाला पञ्जावबाट स्नातक सम्मको शिक्षा पुरा गरेका छन। उनले केही समय भारतीय सेनामा जागीर पनि खाए। राजनीतिमा २०४६ को जनआन्दोलन आन्दोलन पछि उदायका नेता हुन विश्वकर्मा।

एमालेमा रहेर दलित र पिछडिएको वर्गको उत्थानका लागि उनले महत्वपुर्ण भुमिका खेलेको जानकारहरू बताउँछन्। नेपाल उत्पिडीत जातीय मुक्ति समाजको सदस्य र पदाधिकारी हुँदै २०५४ सालमा केन्द्रीय अध्यक्ष बने। २०६५ सालमा बुटवलमा सम्पन्न एमालेको आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य बने। पोलिटब्युरो सदस्य, स्थायी कमिटी सदस्य हुँदै गत बर्ष चितवनमा सम्पन्न १० औं महाधिवेशनबाट पार्टीको केन्द्रिय सचिव भए।

२०६४ मा समानुपातिकबाट संविधानसभामा पसे। २०७० मा क्षेत्र नं. १ बाट प्रत्यक्षको टिकट पाए। त्यो निर्वाचनमा कांग्रेसका अब्दुल रज्जाकसँग २०४ मतले हारे। २०७४ को निर्वाचनमा कांग्रेसका अब्दुल रज्जाकलाई ५ हजार ३१२ मतान्तरले हराउदै प्रतिनिधि सभा सदस्यमा चयन भए। त्यतीबेला एकातिर कांग्रेस र राप्रपा र अर्कातर्फ एमाले र माओवादीले चुनावी सहकार्य गरेका थिए।

तर अहिले अवस्था फरक छ। पहिला सहकार्य गरेका सहायक दलहरू एक अर्काको विरुद्ध उभिएका छन भने पूर्व सहकर्मिहरू प्रतिद्वन्द्वी छन्। २०७४ मा सहज जित निकालेका विश्वकर्माको बाटोमा अहिले पूर्व सहकर्मी भुसाल तगारो बनेका छन्। यसअघि पर्यटक सांसद भनेर आलोचना खेप्दै आएका विश्वकर्माको अगाडि स्थानीय समेत रहेका भुसाल बलियो देखिएका छन्।

स्थानीय चुनावको जोड घटाउ

रूपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा गएको स्थानीय तहको नतिजालाइ आधार मान्ने हो भन घनश्याम भुसालको पल्ला भारी हुने देखिन्छ। स्थानिय निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत क्षेत्र नम्बर १ को प्रदेशसभा (क) तर्फ नेपाली कांग्रेसले ५ हजार ९ सय २७ मत प्राप्त गरेको थियो। नेकपा एमालेले ६ हजार ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ८७ मत प्राप्त गरेको थियो।

यस्तै प्रदेशसभा (ख) तर्फ नेपाली कांग्रेसले १४ हजार २ सय ३ र एमालेले ९ हजार ८ सय १ मत प्राप्त गरेको तथ्यांक छ। यसरी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले २० हजार १ सय ३० मत, नेकपा एमालेले १५ हजार ८ सय ४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ८७ मत पाएका थिए। 

प्रकाशित: २१ कार्तिक २०७९ ०३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App