राजनीति

उदयपुरमा ४ दलको ‘चुनाव बहिस्कार’ अभियान

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावलाई यहाँ क्रियासिल ४ राजनीतिक दलहरुले बहिस्कार गर्ने घोषणा गरेका छन्। गएको स्थानीय तह चुनावमा सक्रियतासाथ भाग लिएको नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपासमेत अन्य ३ दलहरुले चुनाव बहिस्कार गर्ने घोषणा गरेका हुन्।  

नेकपाले मंसिर ४ को संघीय तथा प्रदेशसभा चुनाव ‘खारेज’ गर्ने निर्णय लिएको छ। नेकपाका उदयपुर सेक्रेटरी लक्ष्मण पौड्यालले गएको ०७४ को चुनाव पनि बहिस्कार गरेको र यो पटक पटि खारेज गर्ने निर्णय भएको बताए। पौड्यालका अनुसार पछिल्लो समय कपिल्बस्तुमा सम्पन्न पार्टीको केन्द्रीय भेलाले मंसिर ४ को चुनावको कुनै अर्थ नरहेको निश्कर्ष निकाल्दै खारेज गर्ने निर्णय गरेको हो। पार्टी निर्णय अनुसार चुनावमा भाग नलिने र जिल्लाभरी खारेजी अभियान चलाइरहेको उनले बताए।  

बिप्लब नेकपासँगै विश्वभक्त दुलाल (आहुती) नेतृत्वको नेपाल कम्युनिष्ट वैज्ञानिक समाजबादी पार्टी तथा ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि चुनाव बहिस्कार गर्ने भएका छन्। आहुती नेतृत्वको नेकवैसपाका केन्द्रीय सदस्य गोकुल चामलिङले केन्द्रको निर्णय अनुसार मंसिर ४ को चुनाव बहिस्कार गर्ने बताए। पार्टीले देशभर चुनाव बहिस्कारको प्रचार प्रसार गरिरहेको केन्द्रीय सदस्य चामलिङको भनाइ छ।  

यता उदयपुरलगायत केही सीमित जिल्लामै कार्यालय रहेको नेपाल माओबादी मजदुर पार्टीले पनि यो चुनाव बहिस्कार गर्ने घोषणा गरेको छ। बिप्लब, आहुति र कट्टेल नेतृत्वका ३ दलले देशव्यापी चुनाव बहिस्कारको अभियान सञ्चालन गरिरहेका बेला माओबादी मजदुर पार्टीले पनि साथ दिएको पार्टीका महासचिव हिमालसिंह राईले बताए। यो चुनाव कुनै अर्थ नरहेको र यसले राज्यको आर्थिक भार बढाउने र भ्रष्टाचार गरेर देश डुबाउने काम मात्र गर्ने निश्कर्ष निकाल्दै बहिस्कार गर्नु परेको महासचिव राईले बताए।

४ वटै पार्टीले चुनाव बहिस्कार गर्नुको कारण संसदीय व्यवस्थाले देश र जनतालाई फाइदाभन्दा बढी घाटा लाग्ने ठहर गरेका छन्। उनीहरु सबैको धारणा अनुसार फोहोरी खेल खेल्ने संसदीय व्यवस्थाको अन्त्य गरी कार्यकारी राष्ट्रपतिसहितको वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको स्थापना हुनुपर्ने उदेश्य लिएको बताएका छन्। त्यसका लागि संसदीय मोर्चाको राजनीतिक गर्नुको कुनै अर्थ नरहेको बरु यसले देशलाई आर्थिक र सामाजिक रुपमा अधोगति तथा प्रश्चकमनतर्फ लाने ठहर गरेको उनीहरुको तर्क छ।  

बहिस्कारमा उत्रिएका ४ दलहरुमध्ये अन्यको तुलनामा बिप्लब नेकपाको जनप्रभाव उदयपुरमा केही बलियो छ। बाँकी दलहरुमा वैज्ञानिक समाजबादी र माओबादी मजदुृर पार्टीको प्रभाव सुरुवाती चरणमा छ। कट्टेल नेतृत्वको नेकपाको प्रभाव भने उदयपुरमा खासै छैन। ती दलहरुले चुनाव खारेज र बहिस्कार अभियानलाई बजार र गाउँ केन्द्रित प्रचार प्रसार गरिराखेको उनीहरुले बताएका छन्।  

प्रकाशित: २० कार्तिक २०७९ १४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App