राजनीति

‘आश्वासनका पुला खन्याउँछन्, सिन्को भाँच्दैनन्’

दसैं, तिहार र छठजस्ता महत्वपूर्ण चाडपर्व सकिएलगत्तै अगामी मंसिर ४ गते हुन गैरहेको निर्वाचनका लागी विभिन्न राजनीतिक दलका नेता तथा उम्मेदवार चुनावी माहोल बनाउन गाउँ, वस्ती र टोल टोलमा गएर भेला, घरदैलोलगायतका कार्यक्रममा सक्रिय भएका छन। विभिन्न समस्याको चाङले थिचिएका मतादाताहरूमा भने कुनै उत्साह देखिँदैन।  

उम्मेदवारहरूले स्थानीय जनताले भोगिरहेका समस्या समाधान, विकासका विभिन्न योजना ल्याउनेदेखि देश बचाउने, देशको समृद्धिलगायतका आश्वासनका पुला खन्याउने गरेका छन्। विगतमा पनि चुनावका वेला विभिन्न अजेन्डा र आश्वासन प्रस्तुत गर्ने जितेर गएपछि वोलेका कुरा पुरा नगर्ने नेताको व्यवहार भोगेकाले मतदाता निरास देखिन्छन्। ‘निर्वाचनका बेला सधंै उही अजेन्डा, उस्तै आश्वासन दिने जितेर गएपछि फर्केर हर्ने होइनन्।  

१०, १५ बर्ष अघि देखि निर्वाचनका वेला पुरा गर्छु भनेका कुरा अहिले पनि पूरा भएका छैनन्। ‘जनताको समस्या जस्ताका त्यस्तै छन्,’ धनगढी उपमहानगरपालिका–१९ का बलराम चौधरी भन्छन्, ‘चुनावका वेला नेताहरूले गर्छु भनेका कुरामा कुनै दम छैन, झुटा आश्वासन दिने र काम नगर्ने भएकाले मतदाता निरास छन्।’

उम्मेदवारले प्रत्येक चुनावमा उनै पुराना अजेन्डा उठाउने गरेका छन। दुई तिन दशकदेखि निर्वाचनका बेला अधिकांश उनै पुराना अजेन्डा र विषय उठाउने तर ती कार्यान्वयन नहुने समस्याले नेताप्रतिको विश्वास ह्रास हुँदै गएको उनी बताउँछन्।

गाउँ, टोलमा उम्मेदवारले देशको संविधान बचाउने, देशको सीमा बचाउने, प्रतिगमन, अग्रगमन र लोकतन्त्रको विषयमा लम्बेतान भाषण गर्ने गरेका छन्। ती भाषणले मतादातालाई छोएको देखिँदैन। मतदाताका लागी आफ्ना जनजिविकाका लागि झेल्नु परेका समस्या महत्वपूर्ण छन्।

धनगढी उपमहानगरपालिका–१८ तुलसीवारी पच्चिस घर निवासी हंस बहादुर तिरुवाले मल, पानी नभएर आफूहरूले सधैं समयमा खेती लगाउन नपाएर पीडा झेल्नु परेको उल्लेख गर्दै जनताका दुःख उस्तै भएकाले निर्वाचनका बेला ठूल ठूला आश्वासन नदिन मतमाग्न टोलमा पुगेका उम्मेदवारलाई आग्रह गरे।‘हामी किसानले मल, पानी नपाएर खेती लगाउन कति दुःख भोग्नुपरेको छ, सुत्केरीले उपचार पाएको छैन, पहिरोले कयौका घर भत्केका छन्, राहात पाएका छैनन्’सोमवार मतमाग्न टोलमा पुगेका उम्मेदवारलाई उनले भने, ‘हाम्रा समस्या र दुःख हामी सँगै छन्, नेताहरूलाई कुर्सीको मात्र माया छ, अहिले धेरै कुरा गरेर के अर्थ छ ?’

किसानलाई मल, सिँचाइ, उन्नत बिउलगायत समस्याले सधैं पिरोल्ने गरेको छ। यसैगरी अधिकांश बासिन्दाले अहिले पनि शुद्ध खानेपानी खान पाएका छैनन्। सरकारले स्वास्थ्यचौकी, जिल्ला अस्पतालमा निःशुल्क उपलब्ध गराउने भनिएका औषधि हुँदैनन्। आर्थिक अवस्था कमजोर भएकाले उपचार नपाएर रोग सहेर बाँच्नुपर्ने अवस्था छ। अहिले पनि कैयाैंले जीविकोपार्जन गर्न पढ्ने उमेरमै मजदुरी गर्ने भारतका विभिन्न सहरमा गएर श्रम बेच्नुपर्ने बाध्यता छ।  

कैलाली बहुमुखी क्याम्पसका प्रध्यापक डा. हेमराज पन्त वर्षौदेखि उही कुरा दोहोर्‍याइराखेकाले जनतामा कुनै विश्वास नभएको बताउँछन्।

‘उनै अजेन्डा, उनै नेता भएकाले जनतामा विश्वास देखिँदैन, भविष्यप्रति आशा नभएकाले मतदातामा कुनै उत्साह छैन,’ उनले भने, ‘पाँच वर्ष जसरी बिते, त्यसरी नै अबका ५ वर्ष पनि बित्ने हुन भन्ने लागेको छ।’ राजनीतिक दलले ल्याएको घोषणापत्रको पनि कुनै अर्थ नभएको उनको भनाइ छ। ‘गठबन्धन गरेर निर्वाचनमा गएपछि संयुक्त घोषणापत्र आउनुपर्ने हो, अलग अलग घोषणापत्रको के अर्थ भो ?,’ उनी भन्छन्।

मल, बिउ, पानी, शिक्षा, स्वास्थ्य, गरिबी निवारण जस्ता जनताले वर्षौदेखि भाग्दै आएका समस्या जस्ताको तस्तै हुनु र निर्वाचनका बेला कर्मकाण्डीरूपमा उनै कुरा दोहोर्‍याइनुले जनतामा प्रणालीप्रति नै विश्वास गुमेको डा. पन्त बताउँछन्।

प्रकाशित: १८ कार्तिक २०७९ ०१:५० शुक्रबार

आमनिर्वाचन २०७९