राजनीति

'नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साँछीको रुपमा सत्यमोहन जोशी'

प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीका असल कार्यहरु देशका लागि शिक्षा, ज्ञान र प्रेरणा भएको बताएका छन्।

प्रधानमन्त्री देउवाले उनले (सत्यमोहन जोशी) नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्‍याएको योगदान र लेखेको कीर्ति संरक्षण र सम्वर्दन गर्दै मुलुकको विकास गर्न सके उनको साँचो अर्थमा कदर हुने पनि स्पष्ट पारे।

स्वर्गीय जोशीको १३ औं पुण्यतिथिको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संस्कृतिविद् जोशीलाई देशलाई माया गर्ने सच्चा देशभक्त व्यक्तित्वको रुपमा आफूले चिनेको पनि बताए। प्रधानमन्त्री देउवाले नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साँछीको रुपमा जोशी रहेकाले उनलाई नेपाल राष्ट्र र नेपाली जनताले कहिल्यै पनि नबिर्सने बताए।

जोशीलाई नेपालको भाषा, साहित्य र संस्कृतिलाई माया गर्ने मुलुकको निधिको रुपमा चित्रण गर्दै उनले सरकारले त्यसैकारण उनलाई शताब्दी पुरुषको रुपमा सम्मान गरेको स्मरण गराए। प्रधानमन्त्री देउवाले जोशीको निधनबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको उल्लेख गर्दै उनले राखेको कीर्ति र योगदानबाट सिकेर देशको विकासमा लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

यस्तै साेही कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिविद् जोशीको चाहना पूरा गर्न नेपाल भाषालाई व्यवहारिक रुपमै प्रयोगमा ल्याउने कामलाई आफूले तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।

उनले स्वर्गीय जोशीले नेपालको संस्कृतिको क्षेत्रमा पुर्‍याएको योगदानको सरकारले सदा कदर गर्ने पनि बताए। साथै कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संस्कृतिविद् जोशीको व्यक्तित्व र कीर्तित्वको बारेमा चर्चा गरेका थिए।

प्रकाशित: ११ कार्तिक २०७९ १२:५९ शुक्रबार

प्रधानमन्त्री शेरबहादुर देउवा संस्कृतिविद् सत्यमोहन जोशी