राजनीति

तीन दशक प्रतिनिधित्व गरेका खनालको परीक्षा

नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलामबाट संसदीय चुनावमा सातौंपटक प्रतिस्पर्धा गर्दैछन्। खनाल २०४८ सालदेखि अहिलेसम्म भएका निर्वाचनमा एकपटकबाहेक सधैं विजयी बनेका छन्। तर मंसिर ४ मा हुने प्रतिनिधिसधा सदस्यको निर्वाचनचाहिँ खनालका लागि अहिलेसम्मकै फरक अभ्यास हुने देखिएको छ।

मंसिर ४ मा हुने प्रत्यक्ष निर्वाचनमा ‘हेभिवेट’ खनाललाई अहिलेसम्मका चुनावका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसको पनि साथ छ। तर आफैंलाई ६ पटकसम्म चुनाव जिताएर सांसद, पटकपटक मन्त्री र प्रधानमन्त्रीसमेत बनाएको नेकपा एमाले भने अहिले खनालको मुख्य प्रतिस्पर्धी छ। अहिलेसम्म खनाललाई सूर्य चिह्नमा मतदान गरेर जिताएका मतदाताले अब कलम चिह्नमा भोट हाल्नुपर्नेछ। ३१ वर्षयता निरन्तर सूर्य चिह्नमा भोट मागेर जितेका खनाललाई अबको चुनावमा भने हिजोसम्म रूखमा र गोलाकारभित्र हँसिया हथौडामा भोट हाल्नेहरूको भोटसमेत आफूतिरै तान्नुपर्ने बाध्यता छ। तीन दशक आफैंले प्रतिनिधित्व गरेको क्षेत्रमा खनालको पुनः परीक्षा हुँदैछ।

कस्तो छ अवस्था?

आफूनिकट नेताकार्यकर्तालाई ‘व्यवस्थापन’ गर्न नसकेको आरोप खेपिरहेका खनालका लागि मंसिरमा हुने निर्वाचन चुनौती र अवसर दुवै हुनेछ। तर उनलाई आफ्नो दल नेकपा एसको मात्रै मत जितका लागि पर्याप्त देखिँदैन। सत्ता गठबन्धनको भागबन्डामा खनाल निर्वाचनपछि देशको राष्ट्रपति बन्ने चर्चा इलाममा हुने गरेको छ। अहिले सत्ताको मुख्य साझेदार कांग्रेस खनाल राष्ट्रपति भए रिक्त हुने उनको निर्वाचन क्षेत्र इलाम–१ मा आफ्नो दलका उम्मेदवार उठाएर विजयी बनाउने दाउ हेर्दैछ।

खनालको निर्वाचन क्षेत्रमा पर्ने मुख्य पालिका सूर्योदय नगरपालिकामा गत वैशाख ३० को स्थानीय निर्वाचनमा नेकपा एसका उम्मेदवारले ल्याएको एकल मत हिसाब गर्दा ९ हजारको हाराहारीमा देखिन्छ। तर यो निर्वाचन क्षेत्रमा १ लाख ९ हजार ५ सय ३५ मतदाता छन्। यही क्षेत्रका अन्य पालिकामा खनालको दल नेकपा एसको मतचाहिँ ‘थपथाप’ मात्रै हुने देखिन्छ। जितका लागि उनलाई कांग्रेस र नेकपा माओवादी केन्द्रको मत आवश्यक देखिन्छ।

कांग्रेस जिल्ला सभापति डम्बर खड्काले केही साताअघि पत्रकारसँगको कुराकानीमा भनेका थिए, ‘अहिले सत्ता गठबन्धनबाट खनाललाई जिताएर पठाउँदा भोलि त्यही क्षेत्रमा हुने उपनिर्वाचनबाट कांग्रेसका उम्मेदवार विजयी हुने बाटो खुल्नेछ।’ तर खड्काको यो भनाइमा नेकपा एस इलामको नेतृत्वचाहिँ अहिलेसम्म प्रतिक्रियाविहीन छ।

प्रतिनिधिसभा सदस्यका लागि अघिल्लोपटक भएको निर्वाचनमा खनाल यही क्षेत्रबाट एमाले र माओवादी केन्द्रसहितको साझा उम्मेदवार थिए। त्यसबेला खनालका निकटतम प्रतिस्पर्धीलाई १७ हजार २६७ मतान्तरले पछाडि पारेर विजयी बनेका थिए। खनालले ३६ हजार ८०५ मत र निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३८ मत पाएका थिए। सूर्योदय नगरपालिका, माईजोगमाई, सन्दकपुर र रोङ गाउँपालिका, माई नगरपालिकाका वडा १, २, ३, ४, ५, ६ र १० तथा इलाम नगरपालिकाको वडा १० निर्वाचन क्षेत्र १ मा पर्छन्।

खनालका लागि अहिले सबैभन्दा ‘मलिलो’ चाहिँ सूर्योदय नगरपालिका मानिएको छ। वैशाख ३० को स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एसका रणबहादुर राई सूर्योदयको मेयरमा निर्वाचित भएका थिए। स्थानीय निर्वाचनमा नेकपा एसले एकल प्रतिस्पर्धा गरेर सूर्योदयका ५ वटा वडा (४, ६, ९, १० र १२) को अध्यक्षसमेत जित्यो। राई १२ हजार ४३१ मत ल्याएर मेयरमा विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका काजीमान कागतेले १० हजार ५७९ मत पाए। कागते प्रदेश सांसदबाट राजीनामा दिएर मेयरको प्रतिस्पर्धामा आएका थिए। कांग्रेसले सूर्योदयका वडा १, ३, ५, ७, ११ र १४ तथा एमालेले वडा २ र १३ जितेको अवस्था छ।

स्थानीय निर्वाचनमा माईजोगमाई गाउँपालिकाको अध्यक्ष पनि सत्ता गठबन्धनबाट नेकपा एसकै भागमा परेको थियो। तर गाउँपालिकाका तत्कालीन अध्यक्षसमेत रहेका गठबन्धन उम्मेदवार नेकपा एसका जितबहादुर राईलाई पराजित गर्दै एमालेका कुशबहादुर थेबे अध्यक्ष निर्वाचित भए। माई नगरपालिकाको मेयरमा पनि गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका दीपक थेबे मेयरमा विजयी भए। रोङ र सन्दकपुर गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार विजयी भए।

आफ्नै अभिव्यक्ति पर्गेल्न हम्मे

प्रधानमन्त्रीसम्म भएर पनि इलामका लागि ‘केही गर्न नसकेको’ आरोप खेपिरहेका खनाललाई आउँदो चुनाव जित्न आफैंले दिएको अभिव्यक्ति मुख्य ‘चुनौती’ बनिरहेको छ। गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा सूर्योदय र माईजोगमाई दुवै पालिकाको प्रमुख पद गठबन्धनबाट नेकपा एसको भागमा परेपछि कांग्रेसजन त्यतिबेलै असन्तुष्ट थिए। त्यो चुनावमा माईजोगमाई गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवार पराजित भए भने सूर्योदयमा विजयी बने। माईजोगमाईको अध्यक्षमा गठबन्धन पराजित हुँदा आक्रोशित खनालले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै ‘कांग्रेसले आफ्ना उम्मेदवारलाई धोका दिएको’ बताए। उनले ‘कांग्रेसका मतदाताले गठबन्धनका उम्मेदवारलाई भोट नदिएर एमालेका उम्मेदवारलाई जिताएको’ आरोपसमेत लगाए। उनको त्यो अभिव्यक्तिको कांग्रेसका जिल्ला तहका कतिपय नेताकार्यकर्ताले विरोध गरे। उनीहरूले आइन्दा खनाललाई कुनै पनि अवस्थामा समर्थन नगर्ने भनेर सामाजिक सञ्जालमै लेखेका थिए। उनकै दलका कतिपय नेताकार्यकर्तासमेतले पनि खनालले यस्तो अभिव्यक्ति दिएर संसदीय चुनावका लागि वातावरण बिगारेको गुनासो गरे, गरिरहेका छन्।

त्यति मात्र होइन, खनालको दल नेकपा एसले जिल्ला समन्वय समिति (जिसस) र सूर्योदय नगरपालिकाको कार्यपालिका गठनका क्रममा सत्ता गठबन्धन नै भत्कायो। गठबन्धनबाट अलग भएर नेकपा एसले जिसस र सूर्योदयको कार्यपालिका गठनमा एमालेसँग तालमेल गर्‍यो। यसमा एमाले र नेकपा एसका सबै उम्मेदवार विजयी भए। त्यसपछि कांग्रेसभित्र खनालप्रतिको असन्तुष्टि अझ चुलिएको छ। अहिले पनि उनको निर्वाचन क्षेत्रमा कांग्रेसको एउटा समूह असन्तुष्ट छ। जसले गर्दा जिल्ला तहका नेतासमेतले आफ्नो असन्तुष्टि सामाजिक सञ्जालमा पोखिरहेका छन्।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लामा सत्ता गठबन्धन दलबीच पद भागबन्डा गर्न गठित समितिका संयोजक कांग्रेस नेता बेनुपराज प्रसाईंले गठबन्धनबाट खनाललाई निर्वाचन क्षेत्र १ को उम्मेदवार बनाएकोमा सार्वजनिक रूपमै विरोध गरिरहेका छन्। उनले सामाजिक सञ्जालमार्फत खनाललाई विभिन्न आरोप लगाउँदै विरोध जनाएका हुन्।  

२०५६ सालको निर्वाचनमा यही क्षेत्रबाट उनै खनाललाई पराजित गरेका प्रसाईंले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म नेपाली कांग्रेसको प्रतिबद्ध कार्यकर्ता हुँ। गठबन्धन चुनावी रणनीति हो। गठबन्धन दलमा मेरो सदस्यता छैन। माओवादी र नेकपा एसका कुनै नयाँ उम्मेदवार आएको भए मेरो पूर्ण समर्थन हुने थियो होला। तर जबसम्म जेएन (झलनाथ खनाल) ले कांग्रेसलाई आजसम्म गरेको गाली, जिल्ला समन्वय समितिमा कांग्रेसको विरोधमा गरेको अपराधप्रति माफी माग्ने काम, लक्ष्मीपुरमा समाल परिवारलाई गर्नुभएको अपराधमा माफी माग्ने काम गर्नुहुन्न, मेरो समर्थन हुँदैन। कांग्रेसमा दासत्व स्वीकार नगर्ने कुनै पनि स्वाभिमानी कार्यकर्ताको समर्थन हुँदैन।’

खनालले आफ्नो अभिव्यक्तिलाई ‘विशिष्ट परिस्थितिको उपज’ भनेका छन्। ‘स्थानीय निर्वाचनको परिणाम आएपछि मैले जुन अभिव्यक्ति दिएँ, त्यो विशिष्ट परिस्थितिको उपज हो,’ बिहीबार फिक्कलमा आयोजित पत्रकार सम्मेलनमा खनालले भने, ‘हामी अहिले एक पार्टीजस्तै भएका छौं तर हामी आफैंमा फरक–फरक पार्टी पनि त हौं। अहिले भने परिस्थिति बदलिएको छ।’ त्यति मात्र होइन, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै २०७७ पुसमा काठमाडौंमा आयोजित सभामा पनि खनालले कडा आलोचना गरेका थिए। त्यसक्रममा खनालले ‘धरहरा र रानीपोखरी ओलीले नभइ सिकर्मी–डकर्मीले बनाएको’ अभिव्यक्ति दिएका थिए। यो अभिव्यक्तिको पनि सामाजिक सञ्जालमा खनालको ‘हलुका भाषण’, र ‘अपरिपक्वताको नमुना’ भन्दै आलोचना भएको थियो।

सर्प पालन परियोजनाको आलोचना

पूर्वप्रधानमन्त्री खनालकै नाममा २०७२ सालमा सर्लाहीमा ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ खुल्यो। लालबन्दी नगरपालिका–१ मा स्थापित प्रतिष्ठानलाई सर्प पालेर एन्टी स्नेक भेनम उत्पादन गर्न सरकारसँग २०७७ सालमा ७२ करोड रूपैयाँको सम्झौता भएको थियो। प्रतिष्ठानमा तीनै तहका सरकारको लगानी छ। सर्प पालेर दुई वर्षभित्र एन्टी स्नेक भेनम उत्पादन गरी भारत पठाउने र केही समयपछि नेपालमै प्रयोगशाला स्थापना गर्नेगरी यो परियोजना सुरु भएको थियो। साढे ९ बिघामा अहिले परियोजना चलिरहेको छ। सर्पले डसेका बिरामी निको बनाउन सर्पकै विष चाहिने भएकाले यहाँ एन्टी स्नेक भेनम उत्पादन परियोजना खनालका नामको प्रतिष्ठानले सञ्चालन गरेको थियो। खनाल २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा इलाम–१ र सर्लाही–१ बाट चुनाव लडेका थिए। उनी इलामबाट विजयी बने भने सर्लाहीमा माओवादी उम्मेदवार शम्भुलाल श्रेष्ठसँग पराजित भए। उनले सर्लाहीमा चुनाव प्रचारका क्रममा उनले सर्पले डसेर उपचार नपाउँदा एकजनाको मृत्यु भएको थियो। त्यसपछि त्यहाँ खनालका नाममा २०७१ सालमा प्रतिष्ठान खुलेको थियो।

इलामवासी र विशेषगरी उनलाई अढाई दशक चुनाव जिताएका निर्वाचन क्षेत्र नं. १ का मतदाताले यो खबर थाहा पाएपछि खनालप्रति आक्रोशित टिप्पणी गर्न थाले। उनीहरूले सार्वजनिक रूपमै खनालको विरोध गरे र अहिले पनि जनाइरहेकै छन्। ‘इलामबाट चुनाव जिताउने मतदाता आफ्नो ठाउँको विकास पर्खिरहेका छन्। सडक छैन, पुल छैन, राम्रो कलेज छैन। राम्रो अस्पताल नहुँदा कि घरमै सास जान्छ, कि उपचार गराउन भारत पुग्नुपर्छ। इलामको चिया, अलैंची, अदुवा, अम्लिसोको बजार भारतको मनोमानीमा चलेका बेला प्रधानमन्त्रीजस्तो पदमा पुगेर पनि किसानका लागि चुइँक्क नबोल्ने खनाललाई जीवनमा एकपटक चुनावमा उठेर पनि हारेको ठाउँमा ७२ करोडको परियोजना एकैपटक दिन कसरी मन मान्यो होला? जबकि उनले चुनाव जितेको ३ दशक अवधिमा उनकै पहलमा सबै जोड्दा ७२ करोडको बजेट आएको छैन होला’, खनालप्रति रुष्ट इलाम निर्वाचन क्षेत्र १ का रुष्ट मतदाता भन्छन्। एक मतदाताले भने, ‘त्यो ७२ करोडको परियोजना इलामकै दानाबारी वा चुलाचुलीतिर ल्याएको भए हुने थिएन? यो इलामवासीका लागि खनालको उपेक्षा हो।’ मतदाताबाट चौतर्फी आलोचना भएपछि प्रतिष्ठानको नाम परिवर्तन गरी एन्टिभेनम उत्पादन तथा अनुसन्धान केन्द्र, नेपाल बनाइएको छ। अहिलेसम्म सम्झौताको ७२ करोडमध्ये १८ करोड हाराहारी रकम मात्र आएको प्रतिष्ठानले जनाएको छ।

बागीको बाधा

सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ खनाल निर्वाचन क्षेत्र १ को उम्मेदवार बनेपछि कांग्रेसका एक नेताले बागी उम्मेदवारी दिएका छन्। कांग्रेस नेता विक्रम पाण्डेको बागी उम्मेदवारीले क्षेत्र नम्बर १ को सत्ता गठबन्धनभित्र तरंग पैदा भएको छ। पाण्डे कांग्रेसको पकड भएको क्षेत्र बागबिरेका पुराना नेता हुन्। कांग्रेसका क्षेत्रीय प्रतिनिधि रहेका पाण्डेले यसअघि पार्टीभित्र तल्लो तहदेखि क्षेत्रीय र जिल्ला समितिमा समेत जिम्मेवारी पूरा गरिसकेका छन्। उनी पटकपटक कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसमेत भइसकेका छन्। पाण्डेले इलाममा दुग्ध वितरण आयोजनाको दूध संकलन केन्द्र स्थापना गर्न महŒवपूर्ण भूमिका निर्वाह गरेका हुन्। किसानलाई आयोजनाले दूधको मूल्य ज्यादै कम दिएका बेला उनले मूल्य बढाउन किसान आन्दोलनको नेतृत्व गरेका थिए।

पाण्डेले गठबन्धनभित्र इलाम–१ नेकपा एसको भागमा पर्नेबित्तिकै आफू उम्मेदवार बन्नेगरी चुनावी तयारी गरेका थिए। ‘यो अप्राकृतिक गठबन्धनको कुनै अर्थ नभएकाले मैले पहिल्यैदेखि यसको विरोध गरेको थिएँ, चुनावको तयारी पनि गरेको थिएँ,’ पाण्डेले भने, ‘अहिले आएर कांग्रेस पार्टीको झन्डा र चुनाव चिह्नकै बेइज्जत हुनेगरी उम्मेदवारी भागबन्डा गरिएकाले मैले बाध्य भएर कांग्रेस बचाउने बाटो तय गरेको हुँ।’ उनले अहिलेको सत्ता र चुनावी गठबन्धन देश बनाउन नभई नेताहरूको पदीय स्वार्थका लागि मात्र भएको बताए।

पाण्डेले देशको प्रधानमन्त्रीसमेत भइसकेका खनालले करिब तीन दशकसम्म यहाँको नेतृत्व गर्दा नागरिकको अवस्था सुधार हुन नसकेको बताए। ‘खनालको काम हामीले तीन दशकदेखि हेरेका छौं, हिजोसम्म उनको काम चित्त नबुुझाएर विरोध जनाउँदै जनता सचेत गर्न हिँडेको त्यही कांग्रेस आज उनै खनाललाई पुनः जिताऔं भन्दै काँधमा बोकेर हिँड्नुपरेको छ, मैले त्यसो गर्न सकिनँ,’ पाण्डेले भने, ‘कांग्रेसको इतिहास, वर्तमान र भविष्य बचाउनुपर्छ भन्ने कांग्रेस साथीहरू अहिले पनि मसँगै हुनुहुुन्छ। हिजो कांग्रेसकै मुख्य विरोधी र प्रतिस्पर्धी रहेका खनाललाई कांग्रेसका इमानदार मतदाताले चाहिँ भोट हाल्छन् भन्ने मलाई लाग्दैन।’ इलाम–१ मा नेकपा एमालेले जिल्ला अध्यक्ष महेश बस्नेतलाई प्रतिननिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। बस्नेत एमालेभित्र प्रभावशाली नेता र ‘चुनावी खेलाडी’का रूपमा चिनिन्छन्।

खनाल–बस्नेत सम्बन्ध

एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि त्यसको प्रत्यक्ष र विशेष प्रभाव झलनाथ खनालको गृहजिल्ला इलाममा पर्‍यो। खनालसँगै चारपटकसम्म निरन्तर इलाम–२ बाट चुनाव जितेका एमालेका प्रभावशाली नेता सुवासचन्द्र नेम्वाङको पनि गृहजिल्ला इलाम नै भएकाले इलामलाई बाहिरी जिल्लाले ‘कम्युनिस्टको गढ’का रूपमा देख्नु अस्वाभाविक थिएन। तर मतपरिणाममा इलाम एमालेजति एक देखिन्थ्यो, पार्टीभित्र नेताहरूबीचको ‘चिसोपन’ उत्तिकै फराकिलो बन्न थालेको थियो। पार्टी केन्द्रमा गुटबन्दी सुरु भएपछि खनाल र नेम्वाङ पनि दुई गुटमा विभाजित भए। जिल्ला तहका नेतासमेत खनाल र नेम्वाङकै ‘लाइन’मा विभाजित भए।

अहिले एमालेले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएका महेश बस्नेत सुरुदेखि नै नेम्वाङनिकट भएकाले उनकै लाइनतिर गए। नेम्वाङ स्पष्ट रूपमा पार्टी नेता केपी शर्मा ओलीसँग निकट भएपछि बस्नेतको बाटो त्यतै बलियो भयो। खनाल भने फरक कित्तामा रहे र जिल्लाका केही नेता उनीतिरै ढल्किए। पार्टी लाइनकै कारण खनाल र बस्नेतबीच ‘औपचारिकता’ बाहेक निकट सम्बन्ध रहेन। खनालको निर्वाचन क्षेत्र इलाम–१ मा नेम्वाङ कित्ताका नेताको प्रभाव कम रह्यो भने नेम्बाङको क्षेत्रमा खनालनिकट नेताको प्रभाव फिक्काप्रायः नै देखियो। तत्कालीन नेकपा भंग भएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र साबिक अवस्थामा फर्किए। त्यसपछि एमाले पनि विभाजित बन्यो। पार्टी विभाजित हुँदा बस्नेत इलाम नगरको प्रमुख नै थिए। जनप्रतिनिधिका रूपमा उनले एमाले छाडेनन्। एमालेबाट विजयी सबैजसो जनप्रतिनिधिले उनकै प्रभावका कारण पार्टी छाडेनन्। त्यति मात्र होइन, खनालनिकट नै मानिने सन्दकपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष उदयबहादुर राई, उपाध्यक्ष शोभा पराजुलीले पनि खनालको साथ छाडिदिए।

नेकपा एसका जिल्ला अध्यक्ष भक्त केसी खनाल नै पुनः यो क्षेत्रमा विजयी हुने दाबी गर्छन्। खनालमा देशप्रेमी भावना भएको केसी बताउँछन्। ‘एमसिसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन), नागरिकता विधेयकलगायत विषयमा खनालको धारणा देशको हितमै रहेको सबैलाई थाहा छ,’ केसी भन्छन्, ‘अहिलेकै संविधानमार्फत देशमा शान्ति, समृद्धि हुँदै वैज्ञानिक समाजवादतर्फ जानुुपर्छ भन्ने धारणाले उहाँप्रति जनताको विश्वास अझ बढेको छ।’

त्यति मात्र होइन, खनालकै पहलमा इलाममा ठुलो बजेटका परियोजनासमेत आएको, साखेजुङमा प्राविधिक विद्यालय खोल्न खनालले ५५ रोपनी जमिन दिएको, उनकै प्रयासमा इलाम विमानस्थल निर्माण भएको केसीले दाबी गरे। ३१ घरपरिवारलाई मुआब्जा दिएर स्थानीयस्तरबाट करिब ४ करोड रूपैयाँसहित २८ करोड रूपैयाँ हाराहारी खर्च भएको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले २०६७ चैत १३ मा शिलान्यास गरेका थिए। करिब १२ वर्षमा निर्माण पूरा भएको विमानस्थलको उद्घाटन पनि खनालले गत चैत १ मा गरेका थिए। यो विमानस्थलमा बस्नेत मेयर भएका बेला इलाम नगरपालिकाले समन्वय गरी इलाम–काठमाडौं १२ उडान सञ्चालन गराएको थियो। त्यसयता विमानस्थल बन्दजस्तै छ। विमानस्थल चालु गर्न पहलै नगरेको आरोप पनि खनालमाथि लागिरहेको छ। इलाम–१ बाट जनता समाजवादी पार्टीका कमलकुमार राई, नेपाली कांग्रेस (बिपी) का गणेशप्रसाद पौडेल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितकुमार मुखिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ शर्मा सापकोटा, मंगोल नेसनल अर्गनाइजेसनका बुद्धलाल मेचे, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर लिम्बू तथा स्वतन्त्र उम्मेदवारद्वय निमातेञ्जिङ शेर्पा र नेत्रप्रसाद रेग्मी पनि उम्मेदवार छन्। खनालचाहिँ यो क्षेत्रमा अहिले पनि आफ्नो प्रतिस्पर्धी कोही नभएको दाबी गर्छन्। ‘गठबन्धनको मत सबै मलाई आउँछ, म यो क्षेत्रमा प्रतिस्पर्धी नै देख्दिनँ,’ उनले भने, ‘गठबन्धनले स्थानीय तह निर्वाचनसहितको अनुभवलाई लिएर अबको निर्वाचनमा मलाई यहाँबाट विजयी गराउनेमा ढुक्क छु।’

एमाले इलामका उपसचिव रवीन्द्र सुवेदीचाहिँ ‘इलाम–१ ले विकासप्र्रेमी उम्मेदवार खोजेको र खनालबाट इलामको विकास सम्भव छैन भन्ने बुझिसकेका मतदाताले एमाले उम्मेदवारलाई जिताउने’ दाबी गर्छन्।

प्रकाशित: ६ कार्तिक २०७९ ०१:०३ आइतबार

झलनाथ खनाल