राजनीति

एमालेलाई २३ क्षेत्रमा पार्टीकै पूर्वनेताबाट चुनौती

मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेलाई विभाजित भएर गएका नेताहरूबाटै खतरा देखिएको छ। एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) र एमालेका उम्मेदवार २० वटा निर्वाचन क्षेत्रमा आमनेसामने हुँदैछन्। आफ्नै दलका पूर्वनेताहरूसँग आमनेसामने हुने निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारले जित निकाल्न असहज हुने महसुस गरेका छन्। उम्मेदवारी मनोनयनको एक दिनअघि एमालेबाट बाहिरिएर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालसँग पनि एमालेले प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।  

एमालेका उम्मेदवारले प्रतिनिधिसभाका २३ वटा निर्वाचन क्षेत्रमा आफ्नै दलका पूर्वनेताहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ। सत्ता गठबन्धनभित्रको नेकपा एसले उम्मेदवारी दिएका २० र अन्य ३ स्थानमा एमालेले आफ्नै दलका पूर्वनेताहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। धादिङ, सिरहा, रौतहट, रुपन्देही, सल्यान, उदयपुर, गुल्मी, मकवानपुर, दाङ, बारा, डोटी, इलाम, झापालगायतका जिल्लामा यस्तो अवस्था छ।  

एमाले त्यागेका हरिकुमार रानाले झापा निर्वाचन क्षेत्र नम्बर–२ मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका छन्। उनी माओवादीमा प्रवेश गरेपछि देवराज घिमिरेलाई धक्का लागेको छ। रानाले एमालेका चिन्तन पाठकसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। पाठक र राना साथी पनि हुन्। मकवानपुरमा नेकपा एसका विरोध खतिवडासँग एमालेका विद्यार्थी नेता महेश बर्तौलाले प्रतिस्पर्धा गर्दैछन्। अघिल्लो निर्वाचनमा खतिवडाको प्रचारमा हिँडेका बर्तौला अहिले प्रतिस्पर्धामा छन्।

दाङ निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एसका मेटमणि चौधरी र एमालेकी शान्ता चौधरीबीच प्रतिस्पर्धा हुनेछ। पार्टीले शान्तालाई टिकट दिएपछि असन्तुष्ट गंगा चौधरीले बागी उम्मेदवारी दिएकी छिन्। इलाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एसका नेता झलनाथ खनालसँग एमालेका महेश बस्नेतले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ।  

अघिल्लो पटक बस्नेत खनालको प्रचार समूहमा प्रमुख थिए। उदयपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एसका जगन्नाथ खतिवडा र एमालेका अम्बर रायमाझीको उम्मेदवारी परेको छ। गुल्मीमा एमाले सचिव गोकर्ण विष्टलाई एमालेकै पूर्वनेत्री रामकुमारी झाक्री (नेकपा एस) चुनावी मैदानमा खडा भएकी छन्। रौतहट ३ मा एमालेकै प्रभु साहले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन्। रौतहट १ मा एमाले उम्मेदवारले पार्टीक पूर्वमहासचिव (हाल नेकपा एसका अध्यक्ष) माधवकुमार नेपालसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। सिरहामा एमालेका पूर्वनेता धर्मनाथ शाह उम्मेदवार ले एमालेका उम्मेदवारलाई चुुनौती दिए पनि त्यहाँ एमालेले तालमेल गरेका कारण एमालेको उम्मेदवार छैन।  

रुपन्देही–१ मा एमालेका सचिव छविलाल विश्वकर्मालाई पार्टीका पूर्वउपमहासचि घनश्याम भुसालसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता आएको छ। अघिल्लो निर्वाचनमा विश्वकर्मा रुपन्देही १ र भुसाल रुपन्देही–३ बाट विजयी भएका थिए। २०७४ सालमा भुसालले राप्रपाका दीपक बोहोरालाई पराजित गरेका थिए। अहिले एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई सत्ता गठबन्धनको पनि समर्थन छ। एमालेको नवौं महाधिवेशनबाट भुसाल उपमहासचिव निर्वाचित भएका थिए। १०औं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका भुसाल स्थायी कमिटी सदस्यमा मनोनित थिए।

एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेकपा एका राजु गुरुङबीच रुपन्देही २ मा प्रतिस्पर्धा हुनेछ। २०५६ सालको संसदीय चुनावमा पौडेलले पहिलोपटक कांग्रेसका सूर्यप्रसाद प्रधानलाई पराजित गरेका थिए। पौडेलले २०६४, ०७० र ०७४ सालको निर्वाचन पनि जितेका थिए। पाल्पा–२ मा एमालेका ठाकुर गैरेले आफ्नै दलका पूर्वनेता सोमप्रसाद पाण्डेसँग प्रतिस्पर्धा गर्दैछन्। पाण्डिे नेकपा एसका लुम्बिनी प्रदेश अध्यक्ष हुन्। २०५१ देखि २०७४ सालसम्मका सबै निर्वाचनमा प्रतिस्पर्धा गरेका पाण्डेले २०६४ सालमाबाहेक निर्वाचन जितेका छन्। त्यस्तै दैलेखमा अमरबहादुर थापा र रविन्द्रराज शर्माबीच प्रतिस्पर्धा हुने देखिएको छ। २०४८ सालदेखि नेकपा एमालेमा आबद्ध शर्मा र थापाले झण्डै २८ वर्ष एउटै पार्टी कमिटीमा रहेर काम गरेका हुन्। तर अहिले दुवै अलगअलग पार्टीबाट उम्मेदवार छन्। शर्मा एमाले छाडेर नेकपा एसमा लागेका हुन्। सर्लाहीमा १ मा पनि एमालेका आधिकारिक उम्मेदवारविरुद्ध पार्टीकै मानबहादुर खड्काले बागी उम्मेदवारी दिएका छन्।

प्रकाशित: २६ आश्विन २०७९ ०१:२३ बुधबार

नेकपा एमाले